News 24 Television
शान्तिको सन्देश फैलाउन बौद्ध सञ्चार यात्रा

रुपन्देही । लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश दिने र शान्तिका अनुयायीलाई लुम्बिनी आउन र पदयात्रा गर्न प्रेरित गर्ने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म दोस्रो बौद्ध संचार यात्रा गरिएको छ ।

भैरहवा–लुम्बिनी क्षेत्रका पत्रकारहरुको सक्रियतामा बिहीबार बौद्ध संचार यात्रा गरिएको हो । पर्यटकीय विकास र लुम्बिनीको प्रबद्र्धनका लागि संचारले महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । 

भगवान गौतम बुद्धले हिँडेरै विश्वभर बुद्ध सन्देश फैलाएका थिए । यसैले बौद्ध धर्ममा पदयात्राको खास महत्व छ । यही पदयात्रालाई प्रबद्र्धन गर्ने र लुम्बिनी घुम्न स्वदेशी तथा विदेशी पर्यटक अभिप्रेरित गर्ने उद्देश्यले भैरहवा–लुम्बिनी २४ किलोमिटर बौद्ध संचार यात्रा गरिएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो १०औं स्थापना दिवसको अवसरमा बिहीबार भैरहवाको लुम्बिनी गेटदेखि लुम्बिनीस्थित मायादेवी मन्दिरसम्म संचार यात्रा गरेको हो । 

‘पर्यटनका लागि शान्ति, शान्तिका लागि संचार यात्रा’ नारासहित गरिएको दोस्रो बौद्ध संचार यात्राले लुम्बिनी क्षेत्रमा नयाँ उत्साह थपेको विश्वास गरिएको छ । सहभागीहरु बुद्ध धुनको गुन्जनसँगै पद यात्रा गर्न पाउँदा निकै हर्षित बने । 

शान्ति, अहिंसा र पंचशीलको सन्देश विश्वमाझ फैलाउने र बुद्ध जन्स्थल लुम्बिनी, पर्यटन क्षेत्र र संचारलाई सँगैसँगै अगाडि बढाउँदा लाभ उठाउन सकिने उद्देश्यले संचार यात्रा गरिएको आयोजकको भनाई छ । 

बौद्ध संचार यात्राले स्थानीय, प्रदेश, राष्ट्रियस्तरमा मात्रै नभई विश्वमाझ शान्तिको सन्देश फैलाउन र पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास सहभागीको छ । 

लुम्बिनी आएर पदयात्रा गर्ने स्वदेशी–विदेशी धेरै हुन्छन् । तर, संचार क्षेत्रको अगुवाईमा निरन्तर दुई वर्षयता भइरहेको पदयात्राले नयाँ सन्देश प्रवाह गर्नुका साथै पर्यटन प्रवद्र्धनमा थप टेवा पुगेको जानकारहरुको बुझाई छ । 

सञ्चार यात्रा गरी मायादेवी मन्दिर प्रवेश गर्दा आध्यात्मिक ऊर्जा पलाएर शान्तिको अनुभूतिले प्राप्त गरेको सहभागीहरुले प्रतिक्रिया दिए । 

बिहान ७ः२० मा भैरहवाको लुम्बिनी गेटबाटसुरु पदयात्रा १२ः०५ मा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा पुगेको थियो । मायादेवी मन्दिरमा सहभागीलाई भिक्षु श्रीबजिरले १० मिनेट ध्यान गराएका थिए । 

यात्राका सहभागीलाई ठाउँठाउँमा स्थानीयले स्वागत गरेका थिए । महाराज शुद्धोधनका गुरु अतिशकाल देवल नवजात शिशु सिद्धार्थ बोधीसत्वलाई हेर्न आउँदा शिशु सिद्धार्थ महान गुरु बन्ने भविष्यवाणी गरेका थिए ।

उनै महान गुरुप्रति समर्पित भई अतिशकाल देवलले आफ्ना भान्जा नालकलाई प्रवज्जित (भिक्षु बनाएका) थिए । उनै भिक्षु नालक आजीवन पैदल यात्रा गर्दै धम्मदेशना गरेकाले पैदल यात्रा महत्वपूर्ण रहेको कुरा सूत्र पिटकको सुत्त निकायमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update