काठमाडौँ । नेपालमा राजनीतिक एवं प्रशासनिक भ्रष्टाचारको जरा गहिरोसँग गाडिएको कुरा यहाँ सम्झाइराख्न नपर्ला । प्रशासनसँग मिलेर राजनीतिज्ञले भ्रष्टाचार गर्ने र प्रशासनिक भ्रष्टाचारीलाई राजनीतिक आडमा संरक्षण गर्ने परिपाटी नयाँ होइन । सत्तामा रहँदा प्रमुख दलहरुले कुनै न कुनै भ्रष्टाचार काण्डमा आफ्नालाई जोगाएर विपक्षीलाई जेल हाल्ने प्रवृत्ति देखिन्छ । सत्ताबाहिर हुँदा आफूबाहेक अरुलाई नै धारेहात लगाउने गरेको पनि देखिन्छ । पछिल्लो समय प्रधानमन्त्री र विपक्षी दलका नेता आरोप–प्रत्यारोपमा उत्रिएका छन् । सबैजसो दलका नेता भ्रष्टाचारमा लिप्त रहेको नेपाली जनतालाई थाहा भएकै कुरा हो, तर तीमध्ये कुन दलका कुन नेता ठूला भ्रष्टाचारी हुन् ? यो कुराको मापन गर्ने स्पष्ट आधार देखिन्न ।
राजनीतिमा नेताहरुले दिनैपिच्छे गर्ने भाषणमा आफूबाहेक अरु नेताकै नाम लिएर भ्रष्टाचारी करार गरिरहेका छन् । यही पुस ६ गते जनकपुरको एक कार्यक्रममा बोल्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलका नेताहरु चरम भ्रष्टाचारमा डुबेको आरोप लगाए । काँग्रेस, एमाले, माओवादी केन्द्र मात्र हैन, मधेसवादी दलहरु समेत चरम भ्रष्टाचारमा लिप्त रहेको उनले बताए । आफूले गरेका भ्रष्टाचार काण्डहरु लुकाउन सरकार फेरिने गरेको र एकले अर्कोलाई आरोप लगाउने गरेको भट्टराईको दाबी छ । भ्रष्टाचारतन्त्रमा फसेको राजनीतिलाई भ्रष्टाचाररहित, सुशासनयुक्त राजनीति स्थापना गर्ने र देशमा तिब्र विकास र समृद्धि ल्याउने एजेण्डा आफूले बोकेको दाबी उनले गरे ।
ठूला भ्रष्टाचार काण्डमा आफू र आफ्ना नेता जोगाउनकै लागि सरकार फेरबदल भएको कुरा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बारम्बार बताउँदै आएका छन् । मंसिर २५ गते चितवनको एक कार्यक्रममा उनले बोलेको कुरा यहाँ स्मरणीय छ । विपक्षी दलका नेता समेत रहेका प्रचण्डले गिरिबन्धु टि–स्टेटको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिपरेको आरोप लगाए । आफू नेतृत्वको सरकारले गिरिबन्धुको फाइल खोल्ने तयारी गरेसँगै एमाले–काँग्रेस मिलेर सरकार फेरबदल गरेको उनले बताए । अहिले सरकारमा रहेका काँग्रेस–एमालेकै मान्छे सबैभन्दा बढी भ्रष्टाचार र सहकारी ठगीमा संलग्न रहेको तर विपक्षी दल रास्वपाका सभापतिविरुद्ध प्रतिशोध साँधिएको उनको भनाइ थियो ।
पूर्व गृहमन्त्री रविले पनि बारम्बार ठूला भ्रष्टाचार काण्ड लुकाउन काँग्रेस–एमालेको सरकार बनेको आरोप लगाउँदै आएका थिए । प्रहरी हिरासतमा रहेकै बेला रविले गत कार्तिकमा यो देशमा सबैभन्दा ठूलो भ्रष्टाचारी र भ्रष्टाचारको संरक्षक प्रधानमन्त्री ओली रहेको बताए । रवि र र प्रचण्डप्रति आक्रामक देखिएका प्रधानमन्त्री ओली भने प्रचण्डलाई नै सबैभन्दा ठूलो भ्रष्टाचारी र संरक्षण भनेर आरोपित गरिरहेका छन् । मंसिर २८ गते एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशमा माओवादी आएसँगै जाली, फटाहा, बेइमानी शुरु भएको र मान्छेहरुलाई दुःख दिने कुप्रचार गर्ने काम शुरु भएको आरोप लगाए । सारा नराम्रा कामहरुको नेतृत्व र भ्रष्टाचारीको संरक्षण माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरिरहेको भन्दै उनले आफूविरुद्ध अफवाह फैलाइएको दाबी गरे ।
तर आफू चोखै रहेको ओलीले दाबी गरे पनि गिरिबन्धु टि–स्टेटमा ओलीले अघिल्लो प्रधानमन्तित्व कालमा ठूलै नीतिगत भ्रष्टाचार गरेको तथ्य सार्वोच्च अदालतको फैसलाबाटै प्रस्ट भइसकेको विषय हो । हालै ओलीले तत्कालीन प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि मिलेर काँग्रेस–एमालेका प्रमुख नेताहरुलाई भ्रष्टाचार काण्डमा जेल हाल्नेतर्फ लागेपछि बाध्य भएर सरकार फेरबदल गर्नुपरेको बताएका थिए । यसरी सत्तामा पुग्दा एकले अर्कोलाई सिध्याउनेगरी प्रतिशोध साँध्ने, भाग मिलेको अवस्थामा मिलेरै सामसुम पार्ने, नभए एकले अर्काको खोइरो खन्ने प्रवृत्ति प्रमुख राजनीतिज्ञहरुमा झाँगिएको देख्न सकिन्छ । भ्रष्टाचार सम्बन्धी छानबिन गर्ने, मुद्दा चलाउने निकाय अख्तियार र फैसला गर्ने अदालत समेत राजनीतिक प्रभावमा परेर निष्पक्ष हुन नसकेको आरोप लागिरहेका बेला कुन नेताका कुरा जनताले पत्याउने ? को सबैभन्दा ठूलो भ्रष्टाचारी र संरक्षक हो ? निक्र्यौल गर्ने जिम्मा जनतालाई नै जान्छ ।