News 24 Television
दुर्घटनाग्रस्त विमान चरासँग ठोक्किएको प्रारम्भिक निस्कर्ष

एजेन्सी । अजरबैजान एयरलाइन्सद्वारा बाकुबाट ग्रोज्नीका लागि सञ्चालित एक यात्रुवाहक विमान बुधवार कजाकिस्तानको अक्टाउ शहर नजिक दुर्घटनाग्रस्त भएको कजाकिस्तानको आपतकालीन अवस्था मन्त्रालय (एमईएस) ले जनाएको छ ।

फ्लाइट नम्बर जे२–८२४३ को एम्ब्रेयर १९० विमान अक्ताउ विमानस्थल नजिकै दुर्घटनामा परेको थियो । मन्त्रालयले दुर्घटनााट २८ जनालाई सकुशल उद्धार गरेको जनाएको छ । जहाजमा ६२ जना यात्रु र पाँच जना चालक दलका सदस्यसहित ६७ जना सवार थिए । कजाख सञ्चारमाध्यमकाअनुसार जहाजमा रहेका यात्रुमा अजरबैजानका ३७, रुसका १६, कजाकिस्तानका ६ र किर्गिस्तानका तीनजना नागरिक थिए ।

दुर्घटनाको प्रारम्भिक कारण चरा ठोक्किएको देखिएको बताइएको छ । एमईएसले विमानमा आगो लागेको अवस्थामा ५२ जना कर्मचारी र ११ थान उपकरण पठाएको थियो । एम्ब्रेयर १९० विमान यसको क्याबिन कन्फिगरेसन अनुसार ९६ देखि ११४ यात्रु बोक्ने गरी डिजाइन गरिएको हो । यो विमानले ४ हजार ५ सय किलोमिटरसम्म उड्न सक्छ । फ्लाइटअवेयरका अनुसार विमान बाकुबाट निर्धारित समयभन्दा ११ मिनेट अगाडि उडेको थियो ।

क्यास्पियन सागरमा उडान गर्दा यसले आपतकालीन संकेत जारी ग¥यो । अजरबैजानी मिडियाले कुहिरोका कारण ग्रोज्नीमा अवतरण गर्ने अनुमति प्राप्त गर्न नसकेको जनाएको छ । जसले गर्दा यसलाई मखाचकला र पछि अक्ताउमा पुर्याइएको थियो । 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update