News 24 Television
ओलीको आडमा ऋषिकेशले केसम्म गरेनन् ! शक्तिको यस्तो दूरुपयोग !

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिका सभापतिले पदीय मर्यादा कायम गर्न नसक्दा उनी चौतर्फी दबाबमा परेका छन् । 

सहकारी ठगीबारेका गम्भीर प्रश्नमा उनी आफ्नो बचाउ गर्दै पत्नीको रक्षा गर्नेमै व्यस्त छन् । पोखरेलको यो शैलीलाई सत्ता गठबन्धनले समेत भरपुर सहयोग गरिरहेको छ । 

मोरङको ग्रामथानस्थित उमागौरी कृषि सहकारी ठगीमा एमाले सांसद समेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल आफूमाथि लागेका आरोपमा खास प्रतिक्रिया दिनै चाहन्नन् । तर, एमालेको प्रभावमा पर्दै निर्णय कार्यान्वयनका लागि समितिको सार्वभौमिकतामाथि हावी हुन खोज्दा उनी आलोचनाको शिकार समेत बन्ने गरेका छन् । यता, पछिल्लो समय देशकै समस्याको रुपमा रहेको सहकारी ठगी प्रकरणमा पत्नी अञ्जला कोइराला पनि मुछिएपछि पोखरेलको सक्रियता र दौडधुप भने ह्वात्तै बढेको छ । 

के गर्दैछन् पोखरेल ?

सभापति पोखरेलले पछिल्लो समय अञ्जला कार्यरत विद्यालयलाई पत्र लेख्दै विदा मिलाइदिन दबाब दिन थालेका छन् । सहकारी ठगी आरोपमा फरार भनिएकी अञ्जला विराटनगरको महेन्द्र रात्रि माविको शिक्षिका हुन् । 

त्यहि विद्यालयका प्रधानाध्यापक झङ्कनाथ पराजुलीलाई पत्र लेख्दै बिरामी बिदा स्वीकृत गर्न भनिएको छ । राज्यले नै भेट्टाउन नसकेकी अञ्जलालाई बिरामी बिदा स्वीकृत गर्ने आधार नभएपनि सभापति पोखरेलले दबाब दिन थालेका छन् । यद्दपी, समितिमै चौतर्फी प्रश्न उठेपछि आफु जस्तोसुकै परीक्षा दिन तयार रहेको भनिरहेका छन् पोखरेल ।

विद्यालयमा विना सूचना अनुपस्थित हुँदा उनको जागिर नै धरापमा पर्न सक्ने भएकाले बिदाको दबाब बढेको छ । तर, सहकारी ठगी आरोपमा फरार रहेकी अञ्जलालाई बिरामी बिदा दिन अस्पतालले सिफारिस गरेको पत्र भने देखाइएको छैन् । राज्यले फरार करार गरेकी उनी घरमै रहेपनि सभापति पोखरेलले राज्य शक्तिको दुरुपयोग गर्दै पत्नीको रक्षा गरिरहेका छन् । उसोतः अञ्जलालाई पोखरेलले नै सहकारीमा भित्र्याएको बताइन्छ । 

अहिले सहकारीमा समस्या सिर्जना भएपछि पोखरेलले पत्नीलाई देखाएर आफ्नो फेस सेभिङ गर्न खोजिरहेको देखिन्छ । आफ्नै पार्टीका सांसदकी पत्निको नाम सहकारीमा मुछिने पछि यस पहिले सहकारी डिभोर्स भन्दै कांग्रेस उपसभापति धनराज गुरुङलाई आरोप लगाउने एमाले अहिले चुप छ । सत्ता सहकार्यपछि एमालेले गुरुङ विरुद्ध आवाज चुप गरेको हो । अहिले फेरि पोखरेलको विषय पनि गुरुङसँग मिल्दोजुल्दो प्रक्रियामा नै रहेको बताइन्छ । 

रक्षात्मक एमाले–कांग्रेस

एमाले पनि सभापति पोखरेलको पक्षमा खुलेर बहस गर्न सक्ने स्थितिमा भने छैन् । उनीहरुले मनोवैज्ञानिक रुपमा दबाब दिनेबाहेक सहकारी ठगी आरोपमा पोखरेल पत्नी अञ्जलाको बचाउ गर्ने ठाउँ पनि छैन्  भने न्यायिक प्रक्रियालाई सघाउने विश्वास व्यक्त गर्दै रक्षात्मक बन्ने स्थिति छ ।

कांग्रेस पनि लेखा समितिको सभापतिमा पोखरेलमाथि प्रश्न गर्न नहुने भन्दै सत्ता गठबन्धनमा रहेको कर्तव्यको सोझो गरिरहेको छ । 

समितिमै पार्टीको निर्णय लाद्न कस्सिन्छन् पोखरेल !

सार्वजनिक लेखा समितिको नेतृत्व गरिरहेका ऋषीकेश पोखरेल एमालेको पक्षबाट दह्रो खुट्टा टेक्दै समितिलाई नै एमालेमय बनाउने प्रयास गर्छन् । यसको ज्वलन्त उदाहरण हो, विद्युत प्राधिकरणसँगको विवाद । पोखरेलले प्राधिकरण नेतृत्वलाई कारबाही गर्न भन्दै समितिमा निर्णय नै गराउने गरि प्रस्ताव पेश गरेपछि संसदमा चर्काचर्की नै परेको थियो । 

उसोतः पोखरेलमाथि रहस्यमयी ढंगले व्यापारीसँग भेटेपछि बक्यौता विवादमा व्यापारीको पक्ष पोषण गर्न लागेको समेत आरोप लागेको छ । 

माओवाली सांसदको आरोप स्वतन्त्ररुपमा पुष्टी नभएपनि प्राधिकरण नेतृत्वदेखि सहकारी ठगी प्रकरणमा मुछिदा समेत सत्ताको रापतापमा हुर्किन पाएका पोखरेलले पत्नीको बिरामी बिदा स्वीकृत गराउलान् ? विद्यालयले कसरी बिदा दिन सक्ला ? यस्ता प्रश्नहरु तमाम  छन् । तर, बिदाको दबाब द्इिरहेका पोखरेलमाथि पद नै छाड्नुपर्ने गरि प्रतिक्षीले प्रश्न भने गरिरहेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update