News 24 Television
 एमाले भित्र भीमको विषयले खैलाबैला ! ओलीले अरु के गर्दैछन् ?

काठमाडौं । नेकपा एमालेले पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा तीन नेताहरुलाई कारबाही गरेको छ । एमालेले भीम रावलको सदस्यता नै खारेज गरिदिएको छ, भने दुई नेतालाई ६ महिनाका लागि निलम्बन गरेको छ । 

नेकपा एमालेले एमाले नेता भीम रावललाई पार्टी सदस्यबाटै हटाएको छ । केपी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेपछि साधारण सदस्यमा सीमित बनेका रावललाई एमालेले अहिले साधारण सदस्यता नै खारेज गर्ने गरि निर्णय गरेको हो । यस्तैगरि, डा. बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको छ । 

पार्टीले सोधेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएपछि कारबाही गरेको एमालेले बताएको छ । एमाले पार्टी कार्यालय निर्माण गर्न विवादीत व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिने निर्णयको विपक्षमा कडा आक्रोश पोखेका थिए । त्यसपछि एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो । सर्वोच्च अदालतले समेत जग्गा दान दिन गुरुङमाथि कुनै प्रतिबन्ध लगाउनुपर्ने स्थिति नरहेको भन्दै दान स्वीकार गर्न सक्ने गरि फैसला गरिदिएपछि एमालेले उनीहरुलाई कारबाही गरेको छ । 

यता, उषाकिरण  भने नुवाकोटमा बुधबार नै पार्टी कार्यक्रममा व्यस्त थिइन् । उनीले सामाजिक सञ्जालमार्फत पार्टी कार्यक्रमका तस्वीर सार्वजनिक गरेको केही घण्टाभित्रै उता, पार्टीको निलम्बनमा परिन् उषाकिरण ।

अदालतको आदेशपछिको कारबाही

सर्वोच्चले मीनबहादुर गुरुङबाट जग्गा दान लिन सक्ने फैसला गरिदिएपछि एमालेले दानविरुद्ध बोल्ने नेताहरुलाई कारबाही गरेको हो । जग्गा दानको विरोध गर्नेमा स्थायी समिति सदस्य डा. बिन्दा पाण्डे र केन्द्रिय सदस्य उषाकिरण तिमिल्सिना थिए भने भीम रावलले समेत चर्को विरोध गरिरहेका थिए । 

एमाले छाडेर अन्त नजाने बताउदै आएका रावल अब के गर्लान् ? यो चासोको विषय बनेको छ भने पाण्डे र तिमिल्सिनाबारे समेत चासो यसरी नै बढेको छ । यद्यपी, रावल साधारण सदस्य नै नरहेपनि पाण्डे र तिमिल्सिना ६ महिनाका लागि निलम्बनमा परेका हुन् । जग्गा दानको विषयका कारण कारबाहीमा परेका तीन नेताहरुको अबको राजनीतिक बाटोबारे समेत अनेक चर्चा चल्न थालेको छ ।

भीम रावलको त्यो संयोग

तत्कालीन नेकपामा हुँदा प्रचण्ड–माधव नेपालको पक्षमा रहेका भीम रावलले केपी ओलीको साधारण सदस्यता नै खारेज गर्ने निर्णयमा सही थापेका थिए । त्यो बेला ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अर्को अध्यक्ष बनाइएको थियो भने ओली कम्युनिष्ट पार्टीको सदस्यबाट बाहिर भएका थिए । तर, एमालेको ठूलो पंक्ति र माओवादी पृष्ठभूमिका नेताहरुले समेत साथ दिएपछि उनले पनि नेकपाकै ब्यानरमा कार्यक्रम गरिरहेका थिए । यस्तोमा सर्वोच्चले एमाले–माओवादीलाई पूर्ववत् स्थितिमा फर्काएपछि ओलीले एमालेको नेतृत्व गरे । 

एमालेमा माधव नेपालको पक्षबाट विद्रोह भयो । विद्रोहको अन्तिम समयमा भीम रावलले १० बुँदे गर्दै एमालेमै रहे । त्यो बेला रावलले नै माधव पक्षका नेताहरुलाई नेतृत्व गर्दै एमालेमा समाहित गराएका थिए । उनै रावल घिटिघिटि गर्दा गर्दै अन्ततः पार्टीको साधारण सदस्यबाटै निष्काशनमा परेका छन् । 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update