काठमाडौँ । नेकपा एमालेका सांसद एवं संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल सहकारी ठगीमा संलग्न रहेको आरोप बलियो बन्दै जाँदा पनि सत्तारुढ एमाले–काँग्रेस उनको बचाउमा उत्रिएका छन् । पोखरेलकी पत्नी अञ्जला कोइरालाविरुद्ध मोरङको उमागौरी कृषि सहकारी संस्थाको बचत रकम ठगीमा मुद्दा दायर भएको छ । जिल्ला अदालत मोरङमा मुद्दा दायर भएसँगै कोइराला फरार छिन् । सोमबार सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले सभापति पोखरेलको आलोचना समेत गरेका थिए । केही सांसदले पत्नीले गरेको कसुरमा पति दोषी नहुने भन्दै पोखरेलको बचाउ गरे ।
सोमबारको बैठकमा पोखरेलले पत्नीसँग आफ्नो सम्पर्क नरहेको हास्यास्पद तर्क गरे पनि मंगलबार भने उनले पत्नीको बिदा थप गरिदिनेबारे पत्नी कार्यरत रहेको विद्यालयमा पत्र पठाएको समाचार बाहिर आएको छ । विराटनगरको महेन्द्र रात्रि माविमा कार्यरत शिक्षिका समेत रहेकी पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध गत मंसिर २७ गते अदालतमा मुद्दा दायर भएको थियो । त्यसपछि पक्राउ पर्नबाट जोगिन कोइराला विद्यालयमा बिदा मागेर फरार छिन् । उनको बिदा गत शुक्रबार सकिएको र बिदा थप गर्ने पत्र श्रीमान् ऋषिकेशले नै विद्यालयमा पठाएको खुलासा भएको छ । पत्नीमार्फत सहकारीको रकम अपचलन गरेको आरोप सभापति पोखरेलमाथि लाग्दै आए पनि उनीमाथि अनुसन्धान भएको छैन ।
सोमबार लेखा समिति बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सभापति पोखरेलकी पत्नी कोइराला आफै अदालतमा उपस्थित हुनुपर्ने बताए । आरोपित कोइरालाले न्यायिक निरूपणलाई अदातलमा उपस्थित भएर सघाउनुपर्ने र सार्वजनिक लेखा समिति सभापति जस्तो प्रतिष्ठित व्यक्तिले आफ्नो परिवारलाई लुकाएर राख्न नहुने भट्टराईको भनाइ थियो । उनले सभापतिबारे उठेका प्रश्नको जवाफ दिने ठाउँ समिति नभए पनि प्रश्न उठिसकेपछि यो विषयबारे स्पष्ट पार्नुपर्ने माग गरेका थिए ।
तर एमाले–काँग्रेसका अन्य सांसदले भने पत्नीविरुद्ध मुद्दा लाग्दैमा पति नजोडिने तर्क गर्दै पोखरेलको बचाउ गरे । काँग्रेस सांसद राजेन्द्र केसीले श्रीमतीले गल्ती गर्दा श्रीमान फस्ने हुन् कि भन्ने ठूलो चिन्ता रहेको बताए । श्रीमतीले गल्ती गर्दा श्रीमान फस्ने हुन् कि हैन कानूनले के भन्छ भन्दै उनले चिन्ता व्यक्त गरे । सभापतिको श्रीमतीको नाउँमा पक्राउ पुर्जी जारी भएको तर सभापतिलाई नभएको भन्दै उनले सभापतिलाई यसमा मुछ्नु राम्रो नभएको तर्क गरे । एमाले सांसद नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पनि समिति सभापतिप्रति व्यक्तिगत रुपमा आरोप÷प्रत्यारोप लगाउन नहुने भन्दै बचाउ गरे ।
समितिमै आफूमाथि प्रश्न उठेपछि सभापति ऋषिकेश पोखरेलले नीतिगत रूपमा आफूमाथि उठेका प्रश्नको जवाफ आवश्यक ठाँउमा दिन तयार रहेको बताए । उनले कानूनी प्रक्रियामा रहेका विषयको सबै परीक्षामा समावेश हुन आफू तयार रहेको दाबी गरे पनि अनुसन्धानको दायरामा ल्याउन सत्तारुढ दलहरु तयार देखिँदैनन् ।
तर पत्नीविरुद्ध मुद्दा दायर र पक्राउ पुर्जी जारी भइसक्दा पनि सभापति पोखरेलले उनलाई लुकाएर फरारको सूचीमा दाखिल गरेका छन् । प्रहरीले चाहेमा उनकी पत्नीलाई जुनसुकै बेला पक्राउ गर्न सक्छ, किनभने उनी विदेश भागेको आशंका छैन । तर सत्ताको आडमा उनलाई पक्राउ गरिएको छैन । उमागौरी सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका कोइरालासहित २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार रुपैयाँ बिगो असुल र ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ । सभापतिकी पत्नी कोइराला उमागौरी सहकारीकी पूर्व सञ्चालक थिइन्, जसले लिएको ऋण नतिर्दा सहकारीमा संकट देखिएको र त्यसपछि २०७८ देखि उनले सहकारीको सञ्चालकबाट राजीनामा दिएको अनुसन्धानबाट खुल्न आएको छ ।