रुपन्देही । आठ वर्षसम्म पनि नबनेपछि ठेक्का तोडिएको बुटवलको चौराहा–गोलपार्क सडकको पुनः ठेक्का सम्झौता गरी धमाधम काम भइरहेको छ ।
झण्डै साढे तीन किलोमिटर सडक खण्ड ठेकेदारले अलपत्र पारेपछि १ वर्षभित्र निर्माण सक्ने गरी भैरहवाको बाबुल दर्शन मालिका जेभीसँग नयाँ ठेक्का लगाइएको हो । नयाँ सम्झौता अनुसार २०८२ असोज मसान्तभित्र सडक निर्माण सम्पन्न गर्नु पर्नेछ । पटक पटक म्याद थप भएको बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण समयमा सम्पन्न नभएपछि ठेक्का रद्द गरी पुन ठेक्का गरिएको हो ।
बुटवलको मुख्य बजार क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्ग अन्तरगतको राजमार्ग चौराहादेखि गोलपार्क चिडियाखोलासम्मको सवा ३ किलोमिटर लामो सडक निर्माण व्यवसायीको लापारवाहीले काम हुन सकेको थिएन ।
तत्कालिन ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले निर्माणको काम सम्पन्न नगरेपछि ठेक्कानै रद्द गरेर नयाँ ठेक्का आवह्वान गरिएको थियो ।
पुन गरिएको ठेक्का अनुसार बाबुल दर्शन मालिका जेभी भैरहवाले आगामी २०८२ असोज मसान्तभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो । ६ लेन सडक विस्तार गर्न भ्याटसहित ३३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ । ठेकेदार कम्पन्नीले सडक निर्माणको काम शुरु गरिसकेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको गृहनगर बुटवलमा रहेको यो सडक निर्माणमा विभिन्न कानूनी तथा प्राविधिक समस्याहरुले अल्झिएको सडक निर्माण आर्थिक वर्ष २०७३÷०७४ मा तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको तिर तर निर्धारित समयमा सडक निर्माण हुन सकेन ।
निर्माण सम्पन्न गर्न सडक डिभिजन कार्यालयले पटक पटक आग्रह गर्नुको साथै म्याद थप गरिँदा समेत निर्माण कम्पनी बिरुवा कन्स्ट्रक्सन प्रालिले अटेर गर्दा सडक अस्तव्यस्त हुन पुगेको थियो । अहिले पुन बोलपत्र आह्वान गरी ठेक्का सम्झौता भई काम शुरु भएपछि स्थानियमा सडक बन्नेमा विश्वस्त देखिएका छन् ।
पहिलोपटक सडक डिभिजन कार्यालय, बुटवलले कन्चनजङ्घा बिरुवा जेभीसँग २०७३ चैत १७ गते २०७६ सम्ममा सडक विस्तार सक्ने ठेक्का सम्झौता गरेको थियो ।
तर ८ वर्षसम्म पटक–पटक म्याद थप्दासमेत सडक विस्तार नसकिएपछि गत वैशाखमा ठेक्का रद्द गरिएको हो । बिरुवा जेभी काठमाडौंले ५३ करोड ९७ लाख ९९ हजार ४०० रुपैयाँमा ठेक्का सम्झौता गरेकोमा ८ वर्षमा जम्मा ५४ प्रतिशतमात्र काम गरेको सडक डिभिजन कार्यालय, बुटवलले जनाएको छ ।
उक्त निर्माण कम्पनीसँग २०८२ असोज मसान्तभित्र काम सम्पन्न गर्ने गरी गत असोज १८ गते ठेक्का सम्झौता थियो । गुणस्तर कायम गर्न र समयमै काम सम्पन्न गर्नको लागि बुटवल उपमहानगरपालिकाले पटक पटक चासो राख्दै आएको छ ।
सडकमा फुटपाथ ३ मिटर, सर्भिस लेन ७ मिटर, ग्रीनबेल्ट र स्टल साढे २ मिटर र मुख्य लेन साढे १० मिटरको हुने कार्यालय सूचना अधिकारी महेश्वर लम्सालले बताए ।
सडकमा नाइट स्टलसमेत राख्न मिल्ने गरी बनाइनेछ । बुटवलको मुख्य बजार क्षेत्रमा पर्ने यो जम्मा ३.२५ किलोमिटर सिद्धार्थ राजमार्ग राजमार्गको खण्ड हो ।
सकड समयमै निर्माण नहुँदा बुटवलकै मुख्य बजार क्षेत्र विगत ८ वर्षदेखि कुरूप थियो भने सडककै कारण धेरै व्यवसायी विस्थापित समेत भइसकेका छन् ।