News 24 Television
दुवाकोटमा वीर अस्पताल निर्माणको काम तत्काल अघि बढाउन ध्यानाकर्षण

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयका ध्यानाकर्षण गराएका छन् ।

मंगलवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले स्वास्थ्यमन्त्री पौडेलको ध्यानाकर्षण गराएका हुन् । उनले दुवाकोटमा रहेको वीर अस्पताल निर्माणको विषयमा स्वास्थ्यमन्त्रीले प्रष्ट पार्नुपर्ने बताए । अहिले पनि दुवाकोटमा न्याम्सका १२ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको र ६३ वटा शैक्षिक कार्यक्रमहरु सञ्चालनमा रहेको उनकाे भनाइ ।  उक्त अस्पताल नेपालको एउटा महत्वपूर्ण प्रतिष्ठान भएको बताउँदै मन्त्री चौरसियाले यसको निर्माण प्रक्रिया अघि नबढ्दा अन्य ठाउँहरुमा समस्या उत्पन्न गर्छ कि गर्दैन ? भनेर प्रश्न समेत गरे ।

उनले भने,‘स्वास्थ्यमन्त्रीज्युले आज एउटा कुरा स्पष्ट पार्नुपथ्र्यो, दुवाकोटमा रहेको वीर अस्पताल निर्माणको कुरा पूरा भइसक्यो कि भएन ? अहिलेसम्म त्यहाँ जग्गामात्रै छ । अहिलेपनि त्यहाँ न्याम्सको १२०० भन्दा बढी विद्यार्थी पढिरहनुभएको छ । ६३ वटा शैक्षिक कार्यक्रमहरु त्यहाँ सञ्चालन भइरहेका छन् । र अन्तर्राष्ट्रिय विश्व विद्यालयहरुसँग त्यहाँ कार्यक्रमहरु एक्सचेन्ज पनि हुन्छ । यहाँका एमडी गर्ने डक्टरहरु अन्य देशमा समेत गएर पाँच/छ महिनाजति तालिम गरेर आउँछन् । त्यो यो देशको एउटा महत्वपूर्ण प्रतिष्ठान हो । यो चिकिसा विज्ञान प्रतिष्ठान सामान्य कुरा होइन । भोलिको दिनमा यसले अन्य ठाउँमा पनि समस्याहरु उत्पन्न गर्छ कि गर्दैन ? पछिल्लो एउटा घट्नाको कारणले गर्दाखेरि यसलाई अलग्गै गर्नुपर्छ भन्ने कुराहरु आएको हो । तर निर्माण कार्य सुरु नै भएको छैन । बजेट एलोकेट छैन । टेण्डरको आह्वान नै गरेको छैन । सरकारले पहिले निर्माण कार्य शुरु गर्नुपर्यो । त्यसपछि समय तोक्दा त राम्रै हुन्छ ।’

उनले नेपालीले विदेशमा उपचार गर्न जानु नपर्ने गरी सबै प्रकारको सुविधा उपलब्ध भएको अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्न आवश्यक भएको बताए ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update