News 24 Television
पाखोबारीको सिस्नु पाँचतारेसम्म, यस्ता छन् फाइदा 

काठमाडौँ । पहाडी क्षेत्रको गाउँघरको पाखोबारीमा पाइने सिस्नो आजभोली शहर बजारका पाँचतारे होटलहरुमा समेत पाइने गरेको छ । स्वास्थ्यका लागि समेत फाइदाजनक हुने सिस्नोको खानाका परिकारका लागि मात्र होइन, सिस्नो प्रजातिमा पर्ने अल्लोबाट लत्ता कपडाहरुसमेत बन्न थालेका छन् । मकवानपुरको थाहा नगरपालिकाका महिलाहरु अहिले यसैबाट स्वरोजगार बनिरहेका छन् । 

यतिबेला मकवानपुरको थाहा नगरपालिका दामनका महिलाहरु स्वरोजगार बन्नको लागि अल्लोको कपडा बनाउन ब्यस्त छन् । वनमा जताजतै उपलब्ध हुने अल्लोको पाटबाट कपडा बुन्ने यहाँका महिलाको बार्षिक कार्यतालिका जस्तै बनेको छ । लामो समयसम्म अल्लोको कपडा बनाउने तालिम लिएर काम गर्दै आएकी थाहा नगरपालिकाकी रेश्मा गोपालीले केही बर्ष अगाडी दामन महिला अल्लो ह्याण्डीक्राफ्ट उद्योग दर्ता गरेर समुहमा काम गर्न सुरु गरेकी हुन् । उनी अहिले ब्यबसायिकरुपमा रुपमा नै अल्लोको कपडा उत्पादन सुरु गरेकी छन् । 

यस्तै, कोपिला गोपाली पनि समुहमा बसेर अल्लोको कपडा उत्पादनमा लागेकी छिन् । कोपिलाको समुह यतीबेला त्यस क्षेत्रको जङगलमा पाईने सिस्नो प्रजातीको अल्लो टिप्न चुट्न अनि बुन्न ब्यस्त छ । वर्षमा ३ महिना खेतीपाती र बाँकी समय उनीहरु कपडा बुन्नमा ब्यस्त हुन्छन् । अहिले माग बमोजिमको उत्पादनको लागी भने अझै जनशक्ती कम रहेको उनीहरुको अनुभव छ । 

वि.सं. २०६६ सालदेखि उद्यम दर्ता गरेर समुहमा भएका महिलाहरुले संचालन गर्दै आएको यो उद्योगको हाल स्थानीय सरकार र ग्रिन फाउण्डेशन नेपाल नामक संस्थाको सहकार्यमा उद्यम बिकास स्तरोन्नती भैरहेको  छ । अब उद्योगमा उत्पादन बढाउनको लागि थप तालिम र भौतिक सहयोग समेत गरिने स्थानीय जनप्रतिनिधि बताउँछन् । 

महिला समुहले ऋषेश्वर सामुदायिक वनमा छ्याप छ्याप्ति पाइने अल्लोलाई प्रशोधन गरेर रेशा निकाली बजारको माग अनुसारको आकर्षक किसिमका डिजाइनमा कपाडा तयार गर्ने गरेको छ । ती कपडा बिदेशीको लागी कोशेलीदेखी लिएर मेला महोत्सबहरुमा आकर्षण समेत बन्ने गरेको छ  । उनीहरु अल्लोको धागो कात्ने र कपडा मात्रै बुन्दैनन् । यसको मनीपर्स, महिला तथा पुरुषले बोक्ने झोला, स्टकोट लगायतका सामग्री आफै तयार पार्ने गरेका छन् । वनमा आधारित उद्यमबाट महिलाहरुलाई उद्यमी बनाउन यहाँको सामुदायिक बन समूह पनि उत्तिकै सक्रिय छ । 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update