
काठमाडौँ । एकजना विद्वानले भनेका थिए– त्यो देश धन्यको हो जसले युवा परिचालन गर्न सक्दछ । युवा शक्ति देशको मेरुदण्ड मात्र नभएर सर्वाधिक कर्मठ एवं सक्रिय शक्ति हो । दक्ष जनशक्ति भनेको पनि शिक्षित युवा जमात नै हो । तर विडम्बना, नेपाल भने युवा परिचालन गर्नमा असफल भइसकेको छ । बरु नयाँ–नयाँ विदेशी गन्तव्यतिर युवाहरुलाई लखेटिरहेको छ । या भनौँ, देशमा केही गरौँ भन्ने जोश–जाँगर, सीप–क्षमता र दक्षता भएका युवाहरु यहाँ गरिखाने वातावरण र सुरक्षित भविष्य नदेखेर विदेश पलायन हुन बाध्य छन् । केही युवाहरु रहरले राम्रो अवसरको खोजीमा विदेश गइरहे पनि अधिकांश युवा विद्यार्थीहरु भने नेपाल खतम भइसक्यो, अब नेपालमा बसेर काम छैन भन्ने भावनाले थिचिएर नै बाध्यतावश विदेश गइरहेका छन् ।
दैनिक हजारौँ युवा तथा विद्यार्थी विदेश जानुको जड भने राजनीतिक वातावरण हो भन्दा फरक नपर्ला । विगत ३० वर्षयता नेपालमा ठूलठूला राजनीतिक, सामाजिक, शैक्षिक परिवर्तन भए । तर राजनीतिक अस्थिरता, सत्तालिप्सा र दलहरुको अकर्मण्यताका कारण केही पनि परिवर्तनको महसुस जनताले गर्न पाएका छैनन् । बरु झनै निराशा, बेचैनी, बेरोजगारी, अस्तव्यस्तता र आक्रोशमात्रै बढिरहेको छ । यसो हुनुमा राजनीतिक कारण नै रहेको नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजाल पनि स्वीकार्छन् । उनले बितेको ३० वर्षमा नेपालले उल्लेख्य प्रगति गरेको भए पनि युवा पलायन झन डरलाग्दो भएको बताए । पूर्वमन्त्री समेत रहेका डा. रिजालले सोमवार एक कार्यक्रममा बोल्दै आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा धेरै सुधार भए पनि युवाहरु भविष्यप्रति कन्भिन्स हुन नसकेको बताए । युवाहरुले नेपालमा सुरिक्षत भविष्य देख्नै छोडेको उनको भनाइ छ । पछिल्लो समय कृत्रिम बहुमतको आधारमा सरकार बनाउने र ढाल्ने खेल भइरहेको भन्दै उनले संविधान संशोधनको माध्यमबाट एउटै पार्टीले प्राकृतिक बहुमत ल्याउने गरी व्यवस्था गर्न जरुरी रहेको उनले बताए ।
पाँचपटक प्रधानमन्त्री भइसकेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि विद्यार्थीहरू विदेश पलायन हुने क्रम डरलाग्दो हिसाबले बढको बताउँछन् । गत मंसिर १९ गते एक कार्यक्रममा बोल्दै उनले नेपालमा भरपर्दो वातावरण बन्न नसकेकाले कक्षा १२ पास हुने बित्तिकै विद्यार्थीहरु विदेशिने समस्या डरलाग्दो रुपमा देखिएको बताए । देउवाले मुलुकमा सञ्चालित क्याम्पसहरु विद्यार्थीको अभावमा बन्द हुने अवस्था आएको तथ्य सम्झाए । नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्य मुलुक बनाउनुपर्नेमा उल्टो क्याम्पस नै रित्तिने गरी नेपाली विद्यार्थी विदेश पलायन हुनु दुःखद् भएको उनको भनाइ थियो ।
सभापति देउवाले अबको ४०÷५० वर्षको अनुमान गरेर मुलुकले अवलम्वन गर्नुपर्ने शिक्षा नीति निर्माण गर्नमा केन्द्रित हुनुपर्ने समेत बताएका थिए । युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्न आवश्यक रहेको भन्दै उनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समयअनुसार परिवर्तन र परिमार्जन गर्नुपर्नेमा जोड दिए । नेपालमा बेलाबेला नेताहरुले दिने यस्ता भाषण र उजागर गर्ने तथ्यले उनीहरु साँच्चै मुलुकको भविष्यप्रति चिन्तित छन् कि भन्ने भान हुन्छ । तर सत्तामा रहँदा यी सब कुरा भुल्ने प्रवृत्ति सबै दलका नेताहरुमा व्याप्त छ । सुधार गर्नुपर्ने ठाउँमा भएकाहरुले पनि गर्नुपर्छ भन्दै भाषण मात्र गर्छन्, तर काम भने गरेर देखाउन सक्दैनन् । यही हो नेपाली राजनीतिको दीर्घ रोग ।
दशकौँदेखि नेपाली जनताले काँग्रेस–एमाले र पछिल्ला दशकमा माओवादी समेतको सरकार पालैपालो परीक्षण गरिसकेका छन् । तर देशमा युवामैत्री वातावरण, रोजगारी सृजना, दीर्घकालीन विकास लक्ष्य तथा सुरक्षित भविष्यका लागि उनीहरुले सिन्को भाँच्न पनि सकेनन् । यसैको असर हो– दैनिक हजाराँै युवाहरु विदेशिनु । यो क्रम कहिले रोकिन्छ भन्न सकिन्न ।