News 24 Television
काँग्रेसमा विचलन, देउवाले सबै नेताका कुरा नसुनेको आरोप

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसभित्र विचलन रहेको स्वीकार गरेका छन् । सोमवार कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पार्टीमा विचलन रहेको बताए ।

आफूलाई ४०-६० को भागबण्डामा लागेको आरोप लागे पनि पार्टी सभापति शेरबहादुर देउवाले सबै नेताहरुको कुरा नसुन्दा समस्या निम्तिएकाे उनकाे भनाइ छ ।  सभापति देउवाले सबै नेताहरुको कुरा नसुन्दा  आफू चुप लागेर बस्न नसकेको उनको स्पष्टीकरण छ ।

सभापतिले केही पनि कुरा नसुन्दा राजनीति गर्नेहरुलाई अफ्ठ्यारो पर्ने जिकिर गर्दै काेइरालाले सभापति देउवाले नै गुटलाई झनै फस्टाइदिने गतिविधि गरेको आरोप लगाए ।

उनले भने, ‘अहिले पार्टीमा वास्तवमा हामीको विचलन छ । स्वीकार्नुपर्छ । अघि राजेशजीले भन्नुभयो, शेखरजी पनि अब त भागबण्डामा लागि सक्नुभयो भनेर । ४०÷६० को भागबण्डा भनेर भन्नुभयो । मैले पहिला भनेकै हो । तर भागबण्डा भनेर चुप लागेर बस्ने त होइन नि । उहाँले केही पनि सुन्दै नसुन्ने हो भने सभापतिजीले अनि त अफ्ठ्यारोमा पर्छ । राजनीति गर्नेहरुलाई अफ्ठ्यारो पर्छ । यो हामीले बुझ्न जरुरी छ । इतिहासकारहरुले पनि यो बुझ्न जरुरी छ । त्यसलाई कसले म्यानेज गर्ने भन्दा किसुनजीकै अनुयायीहरुले हो । अहिलेको आदरणीय सभापति किसुनजीको एकदम अनुयायी हो । गुटलाई फस्टाइदिने काम नै उहाँले गरिसकेपछि अनि अफ्ठ्यारो परिस्थिति सिर्जना हुँरो रहेछ । अहिले जसरी देशको राजनीतिक परिस्थिति अगाडि बढेको छ । त्यो राजनीतिक परिस्थिति किसुनजीहरु भएको भए के गर्नुहुन्थ्यो भन्ने लाग्छ । विपी, गणेशमान र अरु नेताहरु भएको के गर्नुहुन्थ्यो ।’

नेता कृष्णप्रसाद भट्टराईले संवैधानिक राजतन्त्र हुनुपर्छ भन्ने एजेण्डा लिएर अघि बढेको स्मरण गर्दै उनले अग्रजहरुले देखाएको बाटोमा नेपाली काँग्रेस हिँड्नुपर्ने समेत बताए । 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update