News 24 Television
ओलीको बोलीमा ‘पालिस’ : काँग्रेसलाई फकाउने, एमालेलाई उक्साउने !

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको ६ महिना पनि पुरापुर भइसकेको छैन । ओली माओवादी, रास्वपासहितको समीकरणलाई तोडेर काँग्रेससँग गठबन्धन गरेसँगै गत असारमा प्रधानमन्त्रीमा नियुक्त भए । साना दलहरुको गठजोडलाई त्यागेर संसदकै सबैभन्दा ठूलो दल काँग्रेससँग सरकारमा साझेदारी गरि बनेको गठबन्धन सरकारको नेतृत्वमा ओली स्वयम रहेपनि उनमा खास सुख आभाष भइरहेको देखिँदैन । 

यसैअनुरुप प्रधानमन्त्री ओली घरीघरी देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने समय सम्झाइरहन्छन् त कहिले सत्तामै रहेर पनि एमालेको जनसभा आयोजना गर्छन् । यसले ओली आँफैले सत्ता आयूमा अन्योलता र संकट पैदा भइरहेको संकेत दिइरहेको तर्कमा दुई मत छैन । 

ओलीमा देखिएको छटपटाहट 

संसदको करिब दुई तिहाइ सदस्यको समर्थन रहेको वर्तमान सरकार काँग्रेस र एमालेबीचको सम्बन्धमा भर पर्ने विषय हो । यो अवस्थामा ओली सरकारको प्रमुख आयु निर्धारक तत्व पनि नेपाली काँग्रेस नै हो । 

यस्तोमा ओली एकातर्फ काँग्रेसलाई फकाउने रणनीति लिइरहेका छन् । भने अर्कोतर्फ आफू नेतृत्वको सरकार जनसेवा र सामाजिक सोवामार्फत परिणाम दिने गरि काम गरिरहेको भन्दै जनतालाई कन्भिन्स् गर्ने रणनीतिमा छन् । 

ओली काँग्रेसलाई फकाउने र सरकारको पक्ष पोषण गर्दै सरकार टिकाउने रणनीतिमा मात्रै सिमित छैनन् । उनी आफ्नो दल एमालेलाई उक्साउने कार्यमा पनि उत्तिकै केन्द्रीत छन् । 

पछिल्लो समय उनी सार्वजनिक कार्यक्रममा बाक्लै रुपमा एमालेको बखान र महिमा गान गर्ने गरेका छन् । ओली एमाले मात्रै मुलुकको विकास गर्ने एकमात्रै पार्टी हो भन्ने भाष्य स्थापित गर्न तल्लीन देखिन्छन् । यो पनि सत्ता गुम्नसक्ने त्रासकै कारण अभिव्यक्त संकेत हो । 

यसरी हेर्दा काँग्रेस र एमाले सम्मेलित सरकारको आयुबारे तत्काल प्रश्न नउठे पनि सरकारको नेतृत्वकर्ता ओलीमा भने सत्ता फुत्कनसक्ने त्रास र छटपटी पूरापुर देखिन्छ । 

फलतः ओली काँग्रेसलाई फकाउने र एमालेको महिमा गान गर्दै बोलीमा पालिस लगाउने काम गरिरहेका देखिन्छन् । यद्यपि काँग्रेस–एमालेको समीकरण मै प्रभाव पर्नेगरीका हालसम्म कुनै प्रकारका राजनीतिक अफ्ठ्याराहरु आइपरिसकेका छैनन् । यसअघि चीन भ्रमणका क्रममा सम्झौता भएको बीआरआईको विषयमा दुई दलबीच खटपट हुने आशंका थियो । यद्यपि यो संकटलाई काँग्रेस एमालेले आपसी समझदारी गरेर टारिसकेका छन् । 

ओलीले चुहाएको तथ्य !

वर्तमान सरकार गठन हुँदै गर्दा प्रमुख प्रतिपक्षी दलसहित अन्य विपक्षी नेताहरुले भ्रष्ट र विचौलिया निर्मित सरकार भन्दै गम्भीर आरोप लगाएका थिए । 

तर यस्लाई काँग्रेस एमालेले ठाडै अस्वीकार गर्दै अस्थिरताको विरुद्ध स्थिर सरकार कायम गर्न एकअर्कामा मिलेको दावी गर्दै आएका छन् । यद्यपि प्रतिपक्षी दलहरुले नक्कली भुटानी सरणार्थी प्रकरण तथा बालुवाटार जग्गा प्रकरण लगायतका भ्रष्टाचारको आरोपीहरुको कनेक्सन एमाले काँग्रेस सँगै देखिएपछि दुई दल अप्राकृतिक र अस्वभाविक ढंगले मिलेको आरोप दोहोर्याइ रहे । यही आरोपको तथ्यसँग मिल्ने गरि प्रधानमन्त्री ओलीले केही दिन अघि मात्रै एक सार्वजनीक अभिव्यक्ति दिएका छन् । 

प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिले केही हदसम्म काँग्रेस र एमाले मिल्नु पर्ने बाध्यता किन आइलाग्यो ? भन्ने प्रश्नको जवाफ दिएको छ । साथै ओलीको यही भनाइले प्रतिपक्षीले वर्तमान गठबन्धनलाई बारम्बार लगाइरहेको आरोपलाई समेत थप पुष्टि गराउन सघाउ पुर्याएको छ । 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update