काठमाडौं । केपी ओली नेतृत्वको सरकारले काम गर्न नसकेको गुनासो बढिरहेको छ । सरकार गठनको उद्देश्य पुरा हुन नसकेको कांग्रेस नेताहरुले आरोप लगाउने गरेपनि यो सरकारको विकल्प नभएको भनिरहेका छन् । किन कांग्रेसले सरकारको कामबाट सन्तुष्ट नहुँदापनि यहि सरकार बोक्न चाहन्छ त ?
सत्तारुढ दल नेपाली कांग्रेस सरकारको गति र काम गराईबाट सन्तुष्ट हुन सकेको छैन् । कांग्रेस सभापति शेरबहादुर देउवा अब प्रधानमन्त्री केपी ओलीपछि प्रधानमन्त्रीको पालो कुरिरहेका कारण उनी भने सन्तुष्ट भएको र जनता पनि सन्तुष्ट भएको दाबी गरिरहेका छन् ।
देउवाजस्तै प्रधानमन्त्री केपी ओली सन्तुलित भने देखिन्नन् । सरकारको स्थिरता र सत्ता हस्तान्त्रणबारेका प्रष्टीकरणले थलिएका ओली पनि कांग्रेस एमालेको गठबन्धन किन बन्यो भन्ने विषयमा आफैमाथि प्रहार गरिरहेका पाइन्छन् । साना र कम जनमत भएकाले अनौठो नाच नाच्न थालेपछि कांग्रेस एमाले मिलेको ओलीको तर्क छ ।
प्रचण्डले भ्रष्टाचारी जोगाउनका लागि सरकार फेरिएको आरोप लगाइरहेको विषयलाई पुष्टी गर्दै राजा राणाको पालामा जस्तै आरोप लगाउने काम गर्न थालेपछि स्थिति फेरिएको र सरकार बदलिएको बताएका छन् ।
ओलीले कांग्रेस एमालेका नेताहरुमाथि प्रहरी प्रशासन लगायतका मुद्दा मामिलामा माओवादी केन्द्र नेतृत्वको सरकार अघि बढ्न खोजेपछि स्थिति फेरिएको बताउँदा कतै माओवादी केन्द्रले लगाउने गरेको आरोप सहि त होइन भन्ने चासो पनि छ ।
माओवादी केन्द्रले सरकार निर्माणको ज भ्रष्टाचारी बचाउनका लागि र गिरिबन्धुदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नै भएको दाबी गरिरहेको छ ।
सत्ता र प्रतिपक्षीबीचका यस्ता आरोप–प्रत्यारोप चलिरहेपनि कांग्रेस नेताहरुले पनि सरकारले काम गर्न नसकेको सार्वजनिक अभिव्यक्ति भने दिइरहेका छन् । कांग्रेस महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाले सरकारले काम गर्न नसकेपनि सरकार फर्ने काम नगर्ने भनिरहेका छन् ।
दुई नेताहरुले यस्तो किन भनिरहेका छन ? सरकारले डेलिभरी दिन नसकेको हो भने किन असफल सरकारलाई बोकिराख्ने ? कांग्रेस नेताहरुले जवाफ नदिएको प्रश्न हो यो ।
कांग्रेसमाथिका आशंका
कांग्रेस नेताहरुले सरकारले काम गर्न नसकेको भन्दै गर्दा किन यहि सरकारलाई लामो समयसम्म लैजाने भनिरहेको छ ? यसमा राजनीतिक वृत्तमा सवाल उठ्न थालेको छ । काम गर्न नसक्ने सरकारलाई बोक्नुपर्ने कांग्रेसको बाध्यता के हो ?
के ठूला दल मिल्दैमा जनता डेलिभरी नदिएपनि खुशी हुन्छन ? प्रश्नहरु तमाम छन् । अझं, प्रतिपक्षी दलहरुले लगाउने गरेको आरोप कतै सत्य त होइन भन्ने शंका समेत देखिन्छ ।
सरकारले चालेका प्रायः कदममा प्रश्न उठ्ने र पारदर्शीताको सवालमा समेत अनेक प्रश्न उठ्दा पनि सरकारलाई किन प्रश्न गर्दै कडा निगरानी राख्न दल र नेताहरु अघि सरेका छैनन् ? यस्ता विषयले आशंका फैलाएको बेला कांग्रेस नेताहरुले सरकारले काम नगरेपनि समर्थन गर्ने भन्ने अभिव्यक्ति दिदा कांग्रेसको नियतमाथि पनि शंका उठ्न थालेको छ ।
ओली नेतृत्वको सरकारले काम गर्न नसकेको हो भने कांग्रेसले किन समर्थन गरिरहने ? फरक दलले सेवा प्रवाह गर्न नसक्ने नेतृत्वलाई किन बोक्ने ? यस्ता प्रश्नको जवाफ कांग्रेसले दिनैपर्ने स्थिति बन्न थालेको छ ।