News 24 Television
रविको यस्तो गल्तीले गलामा फन्दा ! रास्वपाभित्र चल्दै अर्कै खेल !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तीन अभियोगमा मुद्दा दायर भएको छ । कास्की जिल्ला अदालतमा रविविरुद्ध मुद्दा दायर भएसँगै उनको सांसद पद समेत निलम्बनमा पर्दैछ, भने रवि पत्नि निकिता पौडेल लामिछाने पनि प्रतिवादी बनाइएकी छन् । 

अब रविमाथि कसरी बढ्छ त मुद्दा प्रक्रिया अनि रविको भाविष्य अब के हुने ? रास्वपाको सम्भावित परिदृष्य कस्तो हुन सक्छ त ? 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध आरोपमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । 

रविले शुरुदेखि नै इन्कारी बयान दिएपनि उनीविरुद्ध कैद सजायको मागसहित बिगो भराउने गरि मुद्दा दायर भएको हो । 

कुन अभियोगमा कस्तो माग ?

rabi-1734919854.JPG
रविको सांसद पद निलम्बनमा पर्ने

रास्वपा सभापति रवि लामिछानेको सांसद पद समेत निलम्बनमा पर्ने भएको छ । मुद्दाको अन्तिम किनारा नलागेसम्म रविले सांसदको रुपमा कार्यसम्पादन गर्न पाउने छैनन् । 

सम्पत्ति शुद्धिकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको हो । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधन सहित)को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो । 

उक्त ऐनको दफामा भनिएको छ, ’प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ ।’

निकिता पनि प्रतिवादी

रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानलाई पनि प्रतिवादी बनाइएको छ । यस्तै, निकिताका नाममा बूढानीलकण्ठमा रहेको ५ आना जग्गा पनि जफत गर्न माग गरिएको छ। उक्त जग्गाको मूल्य ३ करोड ८५ लाख रुपैयाँ बराबरको भएको भनिएको छ भने सो जग्गा २०७६ मंसिर २३ गते खरिद गरिएको थियो ।

यद्दपी, निकितालाई प्रतिवादी बनाइएपनि सम्पत्ति जफतबाहेकको कारबाही भने हुनेछैन् ।

रास्वपामा संकट

सम्पत्ति शुद्धिकरणको आरोपमा सांसद पद नै निलम्बनमा परेपछि अब रास्वपाको नेतृत्व रवि लामिछानेले नै गर्लान ? यो गम्भीर प्रश्न बनेको छ । 

गम्भीर आरोप लागेपछि सुशासनको पक्षमा कदम चाल्ने दाबी गर्दै आएका रविले अदालतबाट अन्तिम निर्णय नआउन्जेलका लागि पद छाड्लान् ? तमाम प्रश्नहरु तेर्सिएका छन् । 

रविले ढाकाकुमार श्रेष्ठलाई ७२ घण्टाभित्रै कारबाही गरेको जिकिर गर्दै सुशासनको पक्षमा उभएको दाबी गरेका थिए । अहिले त्योभन्दा गम्भीर प्रश्न रविमाथि नै आइलागेको छ । 

पूर्पक्षका लागि थुनामा पठाउने, साधारण तारेखमा छाड्ने वा धरौटी माग गर्ने भन्ने विषय अदालतमा थुनछेक बहसपछि खुल्ने भएपनि रवि नैतिकताको कसीमा नराम्ररी फसेका छन् ।

आरोपमा रविको अस्वीकार

सहकारी ठगीसम्बन्धिका सवालमा समेत रविले इन्कारी बयान दिएका छन् । उनले आफूले सहकारीको रकम हिनामिना नगरेको भन्दै रविले सबै दोष गितेन्द्रबाबु राई जीबीलाई लगाएका छन् । 

जीबीले नै सहकारीबाट के–के गरे भन्ने विषय थाहा पाउने दाबी गरेका रविले आफूमाथि लागेका आरोपमा इन्कारी बयान दिएका छन् । तर, अदालतमा परीक्षणको क्रममा पुगेकाले अब यो विषय प्रतिक्षामा छ । 

 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update