कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणसहित तीनवटा कसुरमा कास्की अदालतमा अभियोग दायर भएको छ ।
लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार मुद्दा दर्ता गरिएको हो । यो सँगै अब रविमाथि के कस्ता प्रक्रिया अपनाइन्छ ? उनको सांसद पद के हुन्छ ? अनि अन्य अभियुक्त कसको अवस्था कस्तो छ ? उनीहरुको के छ विगत ?
रास्वापा सभापति रवि लामिछानेसहित अन्य ३१ जनाविरुद्ध सहकारीको बचत ठगीलगाएत अभियोगमा मुद्दा दर्ता भएसँगै यसबारे विभिन्न कोणबाट चर्चा चलिरहेका छन् ।
मुद्दामा रवि लामिछाने सहित छविलाल जोशी, रामबहादुर खनाल, दिपेश कुमार पुन, नेत्रपाणी बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, लिला पछाई, विश्वविक्रम राई, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तबाबु राई र ओमप्रकाश गुरुङलाई प्रतिवादी बनाइएको छ ।
३ वटै कसुरमा अभियोग दर्ता भएको रविविरुद्ध सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो राखिएको सरकारी वकीलको कार्यालय कास्कीले जनाएको छ ।
सहकारी ठगीमा ३१ जना, संगठित अपराधमा १९ जना र सम्पत्ति शुद्धिकरणमा ४ जना विरुद्ध आइतबार कास्की अदालतमा अभियोग पत्र दर्ता गरिएको सरकारी वकील कार्यालय कास्कीकी सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा बताउँछिन् ।
यसअघि शुक्रबार थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित १९ जनाविरुद्ध अभियोग दर्ता भएको थियो । कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो पुगेको छ ।
सोही विगोमा नै थप ४४ विरुद्ध अभियोग पत्र दर्ता गरिएको सरकारी वकिलको कार्यालय कास्कीले जनाएको छ । यता सूर्यदर्शन सहकारीमा किरण श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भइसकेको छ ।
सूर्यदर्शनबाट ऋण लिएर नतिरेकाहरूसँग रकम उठाउने र जेलभित्रै बसेका केही प्रतिवादीहरूले बिगोबापत आफ्नो रकम तिर्न चाहेको अवस्थामा रकम तिर्ने वातावरण बनाई बचतकर्ताहरूको रकम बिस्तारै तिर्ने अवस्था सिर्जना गरिदिनहुन सम्बन्धित निकाय सामु नयाँ सञ्चालक समितिले माग गरेको छ ।
सहकारी काण्डमा सङ्घर्ष गरेकै दुई वर्ष बितिसक्दा पनि राज्यले रकम फिर्ता गर्ने पहल नगरेको हुँदा बचतकर्ताको सानो रकमबाट भएपनि सरकारले फिर्ता गर्ने सुरुवात गरिदियोस् भन्ने अपेक्षा राख्छन् सुर्यदर्शन सहकारीका अध्यक्ष किरण श्रेष्ठ ।
प्रहरीले अनुसन्धानका लागि पाएको ९० दिनको समय सकिएपछि रविसहितका प्रतिवादीहरुलाई आइतबार कार्यालय खुल्नासाथ अदालत पु¥याइएको थियो ।
शुक्रबार नै अदालतले दिएको म्याद सकिए पनि शनिबार विदा भएकाले आइतबार मात्रै अभियोगपत्रसाथ सरकारी वकिल कार्यालयले उपस्थित गराएको हो । दोस्रो चरणको अनुसन्धानमा छविलाल बन्जाडे जोशी असोज ६ गते पक्राउ परेका थिए । त्यसपछि प्रहरीले ९० दिन लगाएर अनुसन्धान टुंग्याएको हो ।
दोस्रो चरणको अनुसन्धानमा ३१ जनाविरुद्ध अभियोग पत्र दायर गरिएको छ भने ती मध्ये लिला पछाइ र विश्वविक्रम राईलाई क्रिप्टो कारोबारको आरोपमा राष्ट्र बैंक ऐनसम्बन्धी कसुर समेत लगाइएको छ ।
आइतबार कास्की अदालतमा अभियोग दर्ता भएसँगै सोमबारदेखि नै प्रतिवादीहरुको बयान सुरु हुनेछ ।