काठमाडौं । पहिलो पटक अफिकामा देखिएको एमपक्स संक्रमण विश्वभर फैलने क्रममा छ । गत वर्ष नेपाल आएका एक विदेशीमा संक्रमण देखिएको थियो ।
दुई दिनअघि मात्रै नेपाली नागरिकमा पनि एमपक्स संक्रमण देखिएको छ । जसले गर्दा एमपक्सको जोखिम नेपालमा पनि उतिकै रहेको भन्दै सरकारले सतर्कता अपनाउन आह्वान गरेको छ । निकै संक्रामक रोग मानिएको यो रोगबाट कसरी जोगिन सकिन्छ त ?
पछिल्लो समय प्रविधिको विकाससँगै विश्व साघुँरीदा विश्वको एक कुनामा देखिएको कुनै पनि संक्रमण अन्य मुलकमा सहजै पुग्ने अवस्था अहिले बनिसकेको छ । यसैको उपजका रुपमा पछिल्लो समय नेपालमा देखिएको मंक्कीपक्स अर्थात एमपक्सलाई लिन सकिन्छ ।
गत वर्ष असारमा पहिलो पटक देखिएको एमपक्स यो वर्ष पनि देखिएको छ । तर चिन्ताको विषय के हो भने गत वर्ष नेपाल आएका विदेशी नागरिकमा देखिएको थियो । तर यो पटक भने साउदी अरबबाट फर्केका एक नेपालीमा पहिलो पटक संक्रमण पुष्टी भएको हो ।
यसले गर्दा पनि नेपालमा एमपक्सको भय कायमै छ । नेपालीहरु रोजगारको सिलसिलामा मध्यपूर्वी अर्थात् खाडी देशहरुमा जानेको संख्या उच्च भएकाले पनि नेपालमा यसको जोखिम उतिकै देखिन्छ ।
अझ अफ्रिकी देशहरुमा एमपक्स अहिले पनि नयाँ नयाँ उपप्रजातिमा म्युटेसन हुने क्रम देखिएकाले थप जोखिम समेत बढाएको छ ।
कसरी जोगिने एमपक्स संक्रमणबाट ?
- एमपक्स सङ्क्रमित व्यक्ति वा पशुसँग सम्पर्कमा नआउने वा सावधानी अपनाउने ।
- बिरामीको घाउ, खटिरा नचलाउने वा नछुने ।
- एमपक्सका मिल्दो जुल्दो लक्षण देखिएका बिरामी छुट्टै बस्ने र छिटै उपचारमा जाने ।
एमपक्स संक्रमण भए÷नभएको कसरी थाहा पाउने ?
- संक्रमण भएको एकदेखि २१ दिनसम्ममा एमपक्सका लक्षण देखा पर्छ ।
- सुरुवाती लक्षणमा रुघाखोकी, ज्वरो आउनु, टाउको दुख्नु, जीउ सुन्निनु, ढाड दुख्नु, मांसपेशी दुख्नु तथा छटपटी हुने गर्छ ।
- एक पटक ज्वरो आएपछि सुरुमा अनुहार हुँदै शरीरका अन्य भागहरू, प्रायः हत्केला र पैतालामा डाबरहरु देखा पर्छ ।
- शरीरमा आएका डाबरहरू अत्यन्तै चिलाउँछ ।
सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा पहिलो पटक देखिएकोले यसलाई ‘मंकीपक्स’ भाइरस भनिएको हो । पछिल्लो समय यसलाई ‘एमपक्स भन्ने गरिन्छ । पहिलो पटक सन् १९७० मा अफ्रिकी मुलुक कंगोमा यो भाइरस मानिसमा देखिएको थियो । यो भाइरसलाई क्लाड–वान र टु गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ ।
हाल एमपक्सको नयाँ प्रजाति क्लेड वान बी तीव्र फैलिएको छ । यसको मृत्युदर १० प्रतिशत रहेको छ । एमपक्सको प्रजातिहरु मध्ये क्लाड–टु को तुलनामा क्लेड वान बी बढि जोखिमपूर्ण तथा खतरनाक समेत मानिएको छ ।
हाल मध्य र पूर्वी मुलुकमा नयाँ प्रजाति ‘क्लेड वान बी’ तीव्र रुपमा फैलिरहेको तथ्य सार्वजनिक भएको छ । रोजगारको सिलसिलामा मध्यपूर्वी मुलुकमा जाने नेपालीको संख्या धेरै भएका कारण नेपालमा यसको जोखिम उतिकै भएको विज्ञहरुले औलाउँदै आएका छन् ।
त्यसैले एमपक्सका संक्रमण फैलन नदिन सरकारले महत्वपूर्ण कार्ययोजना अघि सार्नुका साथै आम नागरिक पनि सचेत रहन आवश्यक छ ।