News 24 Television
डोजर प्रकरणः किन भारतले बलमिच्याईं गर्छ ?

दार्चुला । नेपाल सार्वभौम सत्ता सम्पन्न राज्य हो । सार्वभौम राज्यमाथि कुनै अर्को मुलुकले हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय कानून विपरित हो । तर, नेपालको सीमा क्षेत्रमा भारतले देखाएको दादागिरी समय समयमा अस्वभाविक देखिने गरेको छ । आइतबार पनि दार्चुलामा त्यस्तै भयो । 

नेपाली भूमिमा विना अनुमति भारतीय स्काभेटर निर्धक्क कुदिरहयो । तर, यसको प्रतिवादमा उत्रिए स्थानीय । स्काभेटर कब्जामा लिएपछि घटना सुरक्षाकर्मीसम्म पुग्यो । आइतबार के–कस्ता परिदृष्य देखिए त सीमा क्षेत्रमा । 

सार्वभौम मुलुक नेपालमा भारतको हस्तक्षेप समय समयमा सतहमा नै आउने गर्छ । त्यसमा पनि सीमा क्षेत्रमा भारतीय पक्षले गर्ने गतिविधिको त कुरा गरिसाध्य छैन । 

आइतबार पनि यस्तै घटना भयो । दार्चुलाको महाकाली नगरपालिका –५ बिरेन्द्रवन नजिक नेपालतर्फ महाकाली नदी किनारसम्म बिना अनुमति भारतीय स्काभेटर प्रवेश ग¥यो । अनि, यसको प्रतिवादमा उत्रिए स्थानीय । 

स्बकाभेटरलाई स्थानीयले नियन्त्रणमा लिए  । विना अनुमति नेपाल आएको भन्दै स्थानीयले विरोध गर्दै आइतबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म स्काभेटर नियन्त्रणमा लिएका थिए । 

स्थानीयहरुको विरोधका कारण नेपाली सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिए पनि साँझ ५ नबज्दै बिना सर्त स्काभेटर फिर्ता पठाइएको छ । 

सुरक्षाकर्मीले स्काभेटर र भास्कर पाठक नाम बताउने चालकलाई नदीकिनार छेउमै नियन्त्रणमा लिएको थियो । 

यहाँ सयौं स्थानीयको उपस्थितिमा सिडिओ सहित सुरक्षा प्रमुखहरु घटना स्थलमा पुगे । तर बिना अनुमति भारतीय स्काभेटर नेपालमा कसरी आयो भनी नागरिकले सोधेका प्रश्नहरुको जवाफ नदिइकनै सरोकारवाला निकायहरु भने  फिर्ता भए ।

बिना कागजी प्रकिया फिर्ता नगर्ने स्थानीयहरुले भनेपनि सरकारले वेवास्ता गरी फिर्ता पठाएको आरोप स्थानीयको छ । 

भारतले सीमा क्षेत्रमा पटकपटक ज्यादती गर्दै आएको छ । कहिले उसका विकास निर्माणका काम भइरहँदा नेपालीले ज्यान गुमाउनु परेको छ त कहिले नदी तर्दै गरेका नेपालीलाई नदीमा बगाइदिने गरि तुइन काट्ने काम भारतीय पक्षले गर्दै आएको छ । तर पनि नेपाल सरकार निहिर बनिरहेको छ ।

नेपालले सार्वभौम मुलुकको अधिकारका विषयमा अन्तर्राष्ट्रिय स्तरमा यि विषय उठान खासै गरेको छैन । सीमा क्षेत्रमा भारतको यो रवैयाप्रति नेपालले न त सिधा जवाफ फर्काउने गरेको त न त कूटनीतिक कदमबाट यो समस्या समाधान गर्न सकेको छ ।  

आइतबारको घटनामा पनि नेपालको निरिहपन नै देखियो । दुई देशको सम्बन्ध मिलाएर अघि बढ्नु नै उचित हुने भन्दै मौखिक समन्वयमा स्काभेटरलाई फिर्ता पठाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारीले जवाफ दिए । 

नियन्त्रयणमा लिएको व्यक्तिसहित स्काभेटर के कुन उद्देश्यले आएका हुन् ? यसको खास सन्देश के थियो ? त्यसबारे कुनै मतलबनै नगरि स्काभेट र नियन्त्रणमा लिएको व्यक्तिलाई फिर्ता पठाउनुलाई स्थानीयले सरकारको गम्भिर गैरजिम्मेवार अनि निरिहपन भनि आलोचना गरेका छन् । 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update