काठमाडौँ । संसदका दुई ठूला दल कांग्रेस–एमाले मिलेर सरकार गठन गरेदेखि नै यो सरकार ढल्ने हल्ला र चर्चा सधैँ सतहमा रहिआएको छ । जुन दाबीका साथ सरकार गठन गरिएको थियो, त्यसप्रकारका सुधारात्मक काम भने केही पनि हुन नसक्दा यो सरकार रहे पनि ढले पनि जनतालाई भने हर्ष न विस्मात हुने देखिन्छ । जनताको नजरमा सरकारका ६ महिना निराशामै व्यतीत भएकाले सरकारप्रति आशा पाल्न छोडिसकेका छन् ।
पछिल्लो समय प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्किएसँगै सरकार ढल्ने चर्चा फेरि सतहमा आएको छ । भारतले निम्ता नगरेपछि प्रधानमन्त्री चीन भ्रमणमा गएको दाबी गरिन्छ । यसै पुसभित्र प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने चर्चा समेत चलेको छ र यसको वातावरण बनाउन परराष्ट्र मन्त्री आरजु राणा दिल्ली गएकी छन् । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक मन्त्री देउवालाई खासै महत्व नदिएको चर्चा छ । प्रधानमन्त्री ओलीप्रति नकारात्मक देखिएको भारतीय संस्थापन पक्ष ओलीले हालै चीन गएर बीआरआई कार्यान्वयन सम्झौता गरेपछि झन झस्किएको बताइन्छ । बीआरआईकै कारण सत्ता साझेदार काँग्रेस समेत ओलीसँग असन्तुष्ट देखिन्छ भने काँग्रेस नेताहरुले वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको भन्दै आलोचना समेत सुरु गरेका छन् ।
यी तमाम हल्ला, चर्चा र सरकार ढल्ने अडकलबाजीका बीच सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ भने वर्तमान सरकार ढल्छ भन्नु काग कराएजस्तै भएको टिप्पणी गर्छन् । आईतवार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले वर्तमान गठबन्धन सरकार आगामी निर्वाचनसम्म नै जाने दाबी गरे । अहिलेको सरकार बनेको मन नपराउनेहरुले नै सरकार ढल्ने भ्रम फैल्याएको भन्दै उनले राष्ट्रिय संकट निवारणका दुई राजनीतिक दलबीच सहमति भएकाले सरकार ०८४ सम्मै टिक्ने दाबी गरे ।
राजनीतिक स्थिरता, विकास र सुशासनको नारा दिएर दुई प्रमुख दलले गठन गरेको सरकारले ६ जनतामा व्याप्त निराशा चिर्न नसकेको भन्दै काँग्रेसकै वरिष्ठ नेताहरु आलोचनामा उत्रिएका छन् । दुई ठूला दलको सरकार बनेपछि सकारात्मक देखिएका काँग्रेस महामन्त्री गगन थापा र वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले आशा अनुसार काम गर्न नसकेको बताएका छन् । आइतबार बिहान धनगढी पुगेका नेता कोइरालाले सरकार बनेको पाँच महिना पूरा हुँदासम्म पनि अपेक्षा अनुसार काम गर्न नसक्नु सरकारको असफलता रहेको बताए । महामन्त्री थापा पनि सरकार बनिसकेपछि जनतामा जुन खालको आशा थियो, त्यस अनुसार काम हुन नसकेको बताउँछन् । यद्यपि सरकारप्रति असन्तुष्टि रहे पनि यो सरकार फालेर अर्को गठन गर्नुपर्छ भन्नेमा चाहिँ उनीहरु देखिँदैनन् ।
आइतबार काँग्रेस महामन्त्री थापाले यही गठबन्धन सरकार आगामी ०८४ सालको निर्वाचनसम्म जाने दाबी गर्दै अब छिटै संविधान संशोधनका लागि काँग्रेस–एमालेको संयन्त्र बन्ने जिकिर गरे । दुई दलीय संयन्त्र केही दिनभित्र नै बनाएर शुरुमा काँग्रेस र एमालेबीच समझदारी बनाउने र पछि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर मात्रै सबैको सहमतिअनुसार संविधान संशोधन गरिने उनको दाबी छ । एमाले र काँग्रेसले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै थापाले माओवादी, मधसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने बताए । २०७९ को निर्वाचन यता पटकपटक सरकार फेरबदल भएकाले अब ०८४ सम्म एकपटक प्रधानमन्त्री मात्र बदलिने र काँग्रेस–एमाले गठबन्धन यथावत रहने समेत उनले बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आपसी सहमतिबाट २ वर्षका लागि गठन भएको दाबी गरिएको सरकार अहिले ढल्छ कि पछि ढल्छ भन्ने ढुलमुलपना बेलाबेला सतहमा आउने गरेको छ । गत असार अन्तिममा गठन भएको सरकारले करिब ६ महिना आयु यस्तै हल्लाका बीच गुजारिसकेको छ । सरकार परिवर्तन हुने हल्लाको मारमा निजी क्षेत्र, पुँजी बजारका लगानीकर्ता लगायत आम जनता नै परेका छन् । अर्थतन्त्र अत्यन्त शिथिल मोडमा रहेको र आर्थिक गतिविधिका क्षेत्र चलायमान हुन नसकेको तथा महँगी नियन्त्रण र अन्य जनपक्षीय काम हुन नसकेको अवस्थामा पुनः सरकार परिवर्तनको हल्लाले झनै निराशा थपिदिएको छ । यसको असरस्वरुप गत सातादेखि नै शेयर बजार समेत निरन्तर घटिरहेको छ । यो सरकार र गठबन्धन भत्किएमा संविधान संशोधनको एजेन्डा समेत तुहिने निश्चित छ ।