News 24 Television
संविधान संशोधनका लागि चाँडै काँग्रेस-एमालेको संयन्त्र बन्ने दाबी

काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताएका छन् । आईतवार काठमाडौंमा नेपाली काँग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौं महानगर पालिका वडा नम्ब ३० को दोस्रो वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारमा सहभागी दुई ठूला राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम शुरु गर्ने बताएका हुन् । उनले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने बताए । उनले सबै राजनीतिक दलहरुसँग छलफल गरेर संविधान संशोधन गर्नैपर्ने न्युनतम कुराहरुको संशोधन हुने बताए ।

संयन्त्रले शुरुमा काँग्रेस र एमालेबीच समझदारी बनाउने र पछि अन्य राजनीतिक दलहरुसँग छलफल गरेर मात्रै सबैको सहमतिअनुसार संविधान संशोधन हुने थापाकाे भनाइ छ । उनले एमाले र काँग्रेसले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने बताए । संसदलाई अझै समावेशी बनाउने, मन्त्रिपरिषद्लाई समावेशी बनाउने र एउटा कार्यकाल एउटै राजनीतिक दलले देशको नेतृत्व गर्नसक्ने गरीकन संविधान संशोधन गर्ने उनकाे दाबी छ ।

महामन्त्री थापाले भने, ‘अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ । केही दिनभित्रमा नेपाली काँग्रेस र नेकपा एमालेले एउटा संयन्त्र बनाउँछ । यसलाई पनि सम्हाल्छौँ । धेरै एड्भेन्चर गर्ने ठाउँ छैन । यसलाई सम्हालेर काँग्रेस र एमालेले अहिले आफ्नो बीचमा न्युनतम संविधानमा चलाउनुपर्ने, चलाउनसक्ने विषयमा समझदारी कायम गर्छौं, त्यसपछि अरु राजनीतिक दलहरुसँग संवाद गर्छौं । किनभने यो संविधान भनेको काँग्रेस एमालेले चाहेर मात्रै संशोधन हुनेकुरा होइन । माओवादी, मधेसका अरु दलहरुसँग संवाद गर्छौं । दलहरुको बीचमा समझदारी बनाउँछौँ । न्युनतम कुराहरु संशोधन गर्छौं । संसद समावेशी छ, अभmै यो भन्दा बढी समावेशी बनाउने हो । क्याबिनेट समावेशी छैन, समावेशी बनाउने हो । सँगै एउटा राजनीतिक दलले एउटा निर्वाचनमा जाँदै गर्दा एकदमै लोकप्रिय समर्थन गरेको बेलामा पनि अर्को एउटा सानो दलसँग टाँसिनै पर्ने जुन अहिलेको बाध्यता छ, त्यो बाध्यताबाट हाम्रो संविधानलाई बाहिर निकाल्नुपर्नेछ । एउटा अवधि एउटा राजनीतिक दलले सरकार चलाउन पाउने अवस्था बनाउनुपर्नेछ । यस्ता केही विषयहरु छन्, जुन कुरामा हामी संविधान संशोधन गर्नेकुरामा प्रवेश गर्दछौँ । छलफल गर्छौं तर सम्हालेर गर्छौं ।’

महामन्त्री थापाले ०८४ को निर्वाचनमा जाँदै गर्दा ०८१/०८२/०८३ को जिम्मेवारीबाट भाग्न नहुने बताए । उनले यो अवधिमा आफूले गरेका कामहरुको फेहरिस्त बोकेर जनतासँग जानसक्ने हैसियत बनाउनुपर्ने बताए । उनले अहिलेसम्म निर्वाचनभन्दा अगाडिको अवधिको जिम्मा लिने कुनै पनि राजनीतिक दल, शक्ति व्यक्ति नरहेको भन्दै अब जिम्मेवारी लिनेगरी मात्रै जनतामाझ जानुपर्ने अवस्थाको शुरुवात गर्न आवश्यक भएको बताए । नेपाली काँग्रेस र नेकपा एमालेको अहिलेको सरकारलाई अवसरका रुपमा लिएर आगामी निर्वाचनमा काँग्रेसले आफूले गरेका कामहरुबाट जनतालाई प्रभावित बनाइ निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने बताए ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update