काठमाडौं । आगामी महाधिवेशनबाट पार्टी नेतृत्व कब्जा गर्ने दाउमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्ना गतिविधिलाई तीव्रता दिइरहेका छन् । उनले महाधिवेशनको मिति तोक्नु पर्ने आवाज उठाउँदै समानन्तर गतिविधि समानकै विद्रोही शैली अपनाइरहेका छन् ।
पार्टीभित्र मात्रै होइन उनले भातृ संगठनमा समेत समानन्तर गतिविधि चलाउने सुर कसेको देखिन्छ । शेखरको यो सक्रियता र देउवाको चार्तुयताले कुन रुप लिने सम्भावना छ त ?
पछिल्ला दिनहरुमा नेपाली कांग्रेसका नेता डा. शेखर कोरालाले अबको पार्टी महाधिवेशनबाट नेतृत्व लिने लक्ष्यसहित गतिविधि तीव्र पारिरहेका छन् ।
उनले पार्टीभित्र मात्रै होइन आफु निकटका व्यक्ति एकत्रित गरि भातृ संगठनहरुमा समेत समानान्तर गतिविधिकै शैली प्रस्तुत गरिरहेको देखिन्छ । पार्टीको बैठकमा महाधिवेशनको मिति तोक्नु पर्ने बताएका शेखरले गत मंसिर १८ गते कोशी प्रदेशमा आफु निकटका सभापतिहरुको भेला गरे ।
उनको भेलालाई संस्थापन पक्षले अनाधिकृत भन्दै भेलामा नजान पार्टी कार्यकर्ता र कोशी प्रदेशमा पालिका र जिल्ला सभापतिहरुलाई पत्र नै पठायो । तर, कोइरालाले भेला गरि छाडे । कोशी पछि कोइराला अहिले सुदूर पश्चिममा निस्कीएका छन् । उनलाई कांग्रेस सांसद सुनिल शर्मा लगाएतका नेताहरुले साथ दिई रहेको देखिन्छ ।
मन्त्रिपरिषद्मा भागवण्डादेखि सम्पर्क कार्यालय स्थापनासम्म
कांग्रेस–माओवादी सत्ता गठबन्धन हुदाँ कोइरालाले कोशी प्रदेशमा एमालेसंग मिल्दै आफु निकटका केदार कार्कीलाई मुख्यमन्त्री बनाएका थिए । कांग्रेस एमालेको सरकार बनेपछि शुरुको दुई महिना संघसहित प्रदेशका मन्त्रालयमा उनले आफ्नो भाग खोजेका थिए । तर देउवाले उनलाई मन्त्रिपरिषद् विस्तार गर्दा पेलेर अगाडि बढे ।
त्यसपछि विच्किएका उनी सरकारले राम्रोसंग काम गर्न नसकेको भन्दै सरकारको आलोचनामा उत्रिए । सरकारको आलोचनामा उत्रिनुका पछि उनको अर्काे रणनीति देखिन्छ । त्यो हो कांग्रेस भित्र सरकारलाई लिएर असन्तुष्ट व्यक्त गरेका नेताहरुलाई आफ्नो पक्षमा उभ्याउनु ।
महाधिवेशन समयमा गर्न कांग्रेस भित्र दबाब बढाएका कोइरालाले सम्पर्क कार्यालय समेत खोली महाधिवेशन तयारीमा लागेका छन् । विधान अनुसार ८२ साल मंसिर भित्र कांग्रेसले महाधिवेशन गर्नु पर्ने हो तर त्यसका लागि तत्काल महाधिवेशनको मिति तय हुनुपर्छ ।
तत्काल महाधिवेशनको मिति तय नभए विधान अनुसार देउवाको कार्यकाल १ वर्ष थप हुन जान्छ । त्यसो हुदाँ देउवा प्रधानमन्त्री भएकै बेला पार्टीको महाधिवेशन हुन सक्छ ।
देउवा प्रधानमन्त्री भएकै बेला महाधिवेशन भएमा सत्ताको शक्ति महाधिवेशनमा प्रयोग हुन सक्ने र आफु सभापतिमा निर्वाचित हुन गाह्रो हुन सक्ने कोइरालाको बुझाई छ । त्यसैले उनी तत्काल महाधिवेशनको मिति तय हुनु पर्ने अडानमा छन् ।
भातृ संगठनमा पनि समानन्तर गतिविधि
शेखर समुहले पार्टीमा मात्रै होइन भातृ संगठनमा पनि समानन्तर गतिविधि अगाडि बढाएको छ । पार्टीको समानन्तर गतिविधिमा गगनको साथ नभए पनि भातृ संगठनको समानन्तर गतिविधिमा गगन पक्षका नेताहरुको पनि शेखर समुहलाई साथ देखिन्छ ।
संस्थापनबाट नेविसंघको अध्यक्षमा मनोनित भएका सभापति दुजाङ शेर्पाले गरेका निर्णयको विरुद्धमा शेखर–गगन पक्षधरका नेविसंघ नेताहरु समानन्तर गतिविधि सहित अगाडि बढेका छन् ।
यस पक्षधरका विद्यार्थी नेताहरुले गएको शुक्रबार भेला गरि स्वतन्त्र विद्यार्थी यूनियनको चुनावलाई केन्द्रित राखेर निर्णय गर्दै १३ जना विद्यार्थी नेतालाई विभिन्न समितिको संयोजक तोकेको छ ।
स्ववियू निर्वाचनको तयारीका लागि यस अघि संस्थापन पक्ष निकट मानिएका नेविसंघ सभापति दुजाङ शेर्पाले दुई समितिको संयोजक तोकेका थिए । संयोजक चयन गर्दा आफुहरुसंग छफल नगरेको भन्दै शेखर गगन समुह संस्थापन पक्षको काउण्टरमा उत्रिएको हो ।
आगामि फागुनमा दुजाङको कार्यकाल सकिन लागे पनि नेविसंघको महाधिवेशन गर्ने छाटकांट नदेखाएको भन्दै शेखर गगन समुह रुष्ट छ । उनीहरुको समानन्तर गतिविधिमा कोइरालाको साथ देखिन्छ ।
कोशी पछि देउवाको गृह जिल्लामा शेखर
कोशी प्रदेशमा सभापतिहरुको भेला राखेर शक्ति देखाएका शेखरले पार्टीसभापति शेरबहादुर देउवाको गृह प्रदेशबाट पार्टीको संस्थापन पक्षलाई सन्देश दिने रणनीतिमा कोइराला देखिन्छन् । कोइराला धनगढीमा पुग्दा उनलाई त्यहाँ १५ किलोको मालाले स्वागत मात्रै गरिएन भावि पार्टी सभापति शेखर भन्दै नारा लगाईयो । यसबाट उनले देउवाकै गृह जिल्लाबाट काउण्टर दिएको सन्देश पार्टीको संस्थापन पक्षलाई दिएका छन् ।
उत्तराधिकारी को भन्ने अलमलमा देउवा ?
एमाले कांग्रसको सरकारमा पत्नि आरजु राणालाई परराष्ट्रमन्त्री बनाएर पार्टीमा आफु पछि आरजुलाई उत्तराधिकारीका रुपमा अगाडि बढाउन सक्ने सन्देश देउवाको थियो । तर यसो गर्दा पार्टी उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस नेताहरु बालकृष्ण खाँड, प्रकशशरण महत विमलेन्द्र निधि, कृष्ण सिटौंला, प्रकाशमान् सिंह लगाएतका नेताहरुले आफ्नो समर्थन छाड्ने हुन् कि भन्ने डर उनमा छ ।
आरजुलाई उत्तराधिकारी बनाउन नसके पनि आरजुको राजनीति भने सुरक्षीत गर्ने लाइनमा उनी देखिन्छन् । त्यसका लागि शुरुवातमा उनले शेखर कोइरालालाई आफु निकट ल्याउन खोजेका थिए ।
शुरुमा शेखरलाई उत्तराधिकारीका रुपमा अगाडि बढाउने चर्चा चले पनि अहिले गगनलाई उत्तराधिकारीका रुपमा अगाडि बढाउन देउवाले खोजेको चर्चा हुन थालेको छ । तर कांगे्रस भित्रमा देउवालाई नजिकबाट चिन्नेहरु भने शेखर र गगन समूहलाई फुटाएर पूर्णवहादुर खड्का वा आरजु मध्ये एक जनालाई अगाडि सार्ने दाउमा देउवा रहेको हुन सक्ने बताउँछन् ।