News 24 Television
नेपाली क्रिकेटमा अप्रत्याशित आकर्षणः पहिलो संस्करणमै रोमाञ्चक नतिजा 

काठमाडौं ।   नेपाल प्रिमियर लिग ‘एनपीएल’को पहिलो संस्करणमा थुप्रै रोमाञ्चक नतिजाहरू निस्कनुका साथै कैयौँ कीर्तिमानहरू पनि बने । 

कीर्तिपुर क्रिकेट मैदानमा सबै खेल दर्शक भरिभराउ भए । एनपीएलमा एउटा मात्र शतक प्रहार भयो । प्रतियोगितामा १ बलमा १५ रन पनि बन्यो भने फिल्डिङमा जनकपुरका अनिल शाहले एकै खेलमा ५ क्याच लिएर रमाइलो कीर्तिमान बनाए । 

विजेता जनकपुर बोल्ट्स भएपनि पहिलो संस्करण नेपाली क्रिकेट प्रेमीहरूका लागि अविस्मरणीय अनुभव भयो । यसको सफलतासँगै अब दिनहरूमा चुनौती पनि थपिएको छ । 

जनकपुर बोल्ट्सले एनपीएल क्रिकेटको पहिलो संस्करणको उपाधि जितेको छ । एनपीएलको पहिलो खेलमा विराटनगर किंग्सलाई पराजित गर्दै जनकपुरले सान्दार विजयी शुरुवात गरेको थियो । 

फाइनलमा पनि जनकपुर बोल्ट्सको प्रर्दशन शान्दार नै रह्यो । पहिलो संस्करणको प्रत्येक बल, हिट र रन नेपाली क्रिकेटप्रेमीका लागि अविस्मरणीय रहनेछ । विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडीहरू एकअर्का विरुद्ध मैदानमा उत्रदाँ दर्शकहरू भीड मैदानभित्र र बाहिर थेगि नसक्नुको रह्यो । 

फाइनल खेल हेर्ने दर्शकहरू मैदानमा मात्रै होइन, सिमेन्टका पिलरदेखि रुखका हाँगा–हाँगामा बसेर क्रिकेट हेरिरहेका थिए ।खेलाडीहरूको उत्कृष्ट प्रर्दशन र दर्शकहरू अविश्वसनीय समर्थनले एनपीएलको पहिलो संस्करण धेरै हदसम्म सफल भएको छ । 

एनपीएल नेपाली क्रिकेटको लागि मात्र नभई समग्र खेलकुद क्षेत्रमा नै एक ऐतिहासिक उपलब्धि मानिएको छ । 

घरेलु खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूसँग अनुभव साटासाट गर्न पाएका छन्, जसले उनीहरूको खेल सुधारमा ठोस योगदान दिएको छ । युवा खेलाडीहरूका लागि यो लिग अवसरको सुनौलो ढोका बनेको छ । 

एनपीएलमा १६ वर्षीय देब्रे हाते स्पिनर विपिनप्रसाद शर्माले उत्कृष्ट प्रदर्शन गर्दै चर्चित विदेशी खेलाडीहरूको विकेट लिएर आफ्नो प्रतिभा उजागर गरे । यस्तै, भारतका चर्चित क्रिकेटर शिखर धवनको सहभागिताले एनपीएललाई अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनायो । अब, दर्शकहरूको अपेक्षा पूरा गर्नु अर्को ठूलो चुनौती रहनेछ । 

एनपीएलले खेलकुद संरचनाको विकास र खेलाडीहरूको प्रोत्साहनमा ठूलो सहयोग पु¥याएको छ । त्रिवि मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । 

यसलाई पनि एनपीएलको ठूलो उपलब्धी मान्न सकिन्छ । किनकी खेल मैदानको सुधार, खेल सामग्रीको स्तरीकरण, र खेलाडीहरूको समुचित प्रशिक्षण प्रणाली विकास नगरेसम्म एनपीएलको दीर्घकालीन सफलता चुनौतीपूर्ण हुन सक्छ । 

नेपाल क्रिकेट संघ (क्यान) र निजी क्षेत्रको सहकार्यले एनपीएललाई सफल बनाउँदै लगानीकर्ताहरूको विश्वास जित्न सफल भएको छ । साथै, एनपीएलले खेल पर्यटनलाई पनि प्रोत्साहन गरेको छ । 

अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू नेपाल आउँदा उनीहरूसँगै प्रशंसक र पर्यटकहरू पनि आकर्षित भएका छन्, जसले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ ।

समग्रमा, एनपीएल नेपाली क्रिकेटको लागि गौरवको प्रतीक बनेको छ । एनपीएलले समग्र खेलकुद क्षेत्रको विकासमा नयाँ युगको सुरुवात गरेको छ । 

चुनौतीहरूको सामना गर्दै सम्भावनाहरूलाई सदुपयोग गर्न सकियो भने एनपीएलले नेपाललाई अझ बढी स्थापित गर्न सक्नेछ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update