News 24 Television
एनपीएलको पहिलो संस्करण च्यान्पिन्स बन्यो जनकपुर

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्टस्ले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर एनपीएल पहिलो संस्करणको च्याम्पियन्स बनेको हो । 

पहिलो क्वालिफायरमा पराजित भई दोस्रो क्वालिफायरको बाटो हुँदै फाइनल यात्रा तय गरेको जनकपुरल पहिलो क्वालिफायर जित्दै सिधै फाइनलमा पुगेको सुदूरपश्चिमलाई पराजित गर्न सफल भएको हो । 

जनकपुर बोल्टस् नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जित्दै एनपीएल च्याम्पियन्स बनेको छ । शनिवार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर एनपीएलको पहिलो संस्करणको च्याम्पियन बनेको हो । 

सुदूरपश्चिम रोयल्सले दिएको १ सय ८५ रनको विशाल लक्ष्य जनकपुरले ४ बल बाँकी छँदै पूरा गरेको हो । जनकपुरका लागि लाहिरु मिलान्थाले अर्धशतकपार गर्दै ४९ बलमा ४ छक्का र ९ चौकाको मद्दतमा ८७ रन बनाए भने कप्तान आशिफ शेखले १९ बलमा २ छक्का र ४ चौकाको मद्दतमा ३३ रन जोडे । २४ बल खेलेका हर्ष थाकर २ छक्काको मद्दतमा ३० रनमा नट आउट रहे । विदेशी खेलाडी मोहम्मद मोहसिन ९ रनमा आउट हुँदा र जेम्स निसामले ४ रन मात्रै जोडे । 

टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ८४ रनको स्कोर बनाएको थियो । सुदूरपश्चिमको ओपनिङ ब्याटर सैफ अलि जैब र विनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गरे । 

अलि जैबले ४३ बलमा २ छक्का र ८ चौकाको मद्दतमा ६९ रन बनाएका थिए भने विनोदले ३१ बलमा ३ छक्का र १ चौकाको मद्दतमा ४१ रनको योगफल तयार पारेका थिए । 

पहिलो विकेटका लागि जैबले अर्का ओपनर भण्डारीसँग मिलेर ७२ बलमा १ सय १७ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । सैफ र बिनोद आउट भएपछि भने अन्य ब्याटरले उत्साहजनक प्रदर्शन गर्न सकेनन् । 

सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलन र हरमित सिंहले समान १४ अंक जोड्दा स्कट कुगिलिजनले १३ रन मात्रै जोडे । जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले ३, ३ तथा ललित राजबंशी र जेम्स निसामले एक एक विकेट लिएका थिए । 

पहिलो संस्करणको एनपीएल च्याम्पियन्स जनकपुरले १ करोड १० लाख पुरस्कार हात पार्दा उपविजेता सुदूरपश्चिमले ५१ लाखमा चित्त बुझाएको छ । तेस्रो बनेको कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख हात पारेको छ । 

मिलान्थालाई ‘प्लेअर अफ द म्याच’को उपाधि 

जनकपुर बोल्ट्सबाट खेलेका अमेरिकी खेलाडी लाहिरु मिलन्थाले प्लेअर अफ द म्याच बन्दै ५० हजार रुपैयाँ पाए । प्रतियोगितामा उनले शनिवार दोस्रो अर्धशतक बनाएका हुन् । सुपर फोरका लागि मिलन्थाले नै २५ हजार रुपैयाँ र ५ हजारको रुपैयाँ रिचार्ज भौचर जितेका थिए । 

यस्तै, क्याच अफ द म्याच बनेका शेर मल्लले २५ हजार रुपैयाँ पाए भने एनर्जेटिक मुमेन्ट अफ म्याच बनेर हेमन्त धामीले २५ हजार रुपैयाँ पाए । 

दीपेन्द्रसिंह ऐरीलाई कार उपहार 

एनपिएलको सर्वोत्कृष्ट खेलाडी भने सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी बनेका छन् । उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई फाइनलसम्म पुर्याउन सफल दीपेन्द्रले प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै कार उपहार पाएका छन् । उनले ओमोडाको ६२ लाख रुपैयाँ मुल्यको कार प्राप्त गरेका हुन् ।

विपिन शर्मा बने उदीयमान खेलाडी 

कर्णाली याक्सका विपिन शर्मा एनपिएलको उदीयमान खेलाडी बनेका छन् । ट्यालेन्ट हन्टबाट छनोट भएर कर्णालीबाट एनपिएल खेलेका विपिनले ८ खेलमा १३ विकेट लिएका थिए ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंसिर १५ गतेदेखि शुरु भएको प्रतियोगितामा आठ टोली सहभागी रहेका थिए । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगितामा सुदूरपश्चिम, जनकपुर, कर्णाली र चितवनसहित विराटनगर किंग्स, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स सहभागी थिए । 

एनपीएलमा कर्णाली याक्सबाट भारतीय स्टार क्रिकेटर शिखर धवनले समेत चार खेल खेलेका छन् । एनपीएल खेल भइरहेका बेला विश्व क्रिकेटका लिजेण्ड ब्रायन लारासमेत नेपाल आएर त्रिवि क्रिकेट मैदानमा पुगेका थिए । 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update