News 24 Television
कुलमानले विद्युतबाटै मालामाल बनाउँदै, भारतबाट पैसैपैसा !

काठमाडौं । चालु आर्थिक वर्ष २०८१\८२ को पहिलो पाँच महिनामा १३ अर्ब चार करोड रुपैयाँको विद्युत् भारत निर्यात गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरणले गएको साउन, भदौ असोज, कात्तिक र मंसिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो । 

चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ३९ पैसा रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

प्राधिकरणले विद्युत् बिक्री गरी आठ अर्ब १५ करोड भारु आम्दानी गरेको छ । साउनमा सबैभन्दा बढी चार अर्ब १५ करोडको विद्युत् निर्यात गरिएको थियो । 

मंसिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र विद्युत् निर्यात गरिएको छ । भदौमा तीन अर्ब ६८ करोड, असोजमा तीन अर्ब सात करोड र कात्तिकमा एक अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

यो वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बंगलादेश निर्यात पनि सुरु भइसकेको छ ।  चालु आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यातको लक्ष्य राखिएको छ । बाढीपहिरोका कारण जलविद्युत् आयोजना र प्रसारणलाइनमा क्षति पुग्दा निर्यात लक्ष्य प्रभावित हुने देखिएको प्राधिकरणले जनाएको छ ।

गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । सोही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update