News 24 Television
टाढा–टाढा बन्दै विप्लव, प्रचण्डलाई यस्तो जोखिम ! 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीहरुको एकतामा प्रचण्डले चासो नदेखाएको आरोप लगाउदै आक्रोशित बनेका छन् । 

९ महिनाअघि नै पार्टी एकताको निर्णय गरेका विप्लवलाई प्रचण्डले किन भित्र्याउन चाहिरहेका छैनन् त ? यस्ता प्रश्नको समाधानतर्फ भन्दा पनि विप्लवको अर्कैतर्फको सक्रियताले प्रचण्ड झस्किएका छन् । 

उपचुनावमा उत्साहजनक मत पाएपछि माओवादी केन्द्र हौसिएको छ । प्रचण्डले फेरि २०६४ फर्किएको भन्दै अभिव्यक्ति दिइरहेका छन्, भने उनले माओवादी एक्लै चुनाव लड्नुपर्ने निष्कर्ष निकालेको बताइरहेका छन् । तर, माओवादी घटकबीचको एकतालाई पनि जोड दिने भनिरहेका प्रचण्डले केहिदिन पहिलेमात्रै तीन वामपन्थी पार्टीसँगको एकता वार्ता सकारात्मक बनेको दाबी गरेका थिए । 

यो संकेत माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीसँग पनि सम्बन्धित थियो । माधव नेपाल र महासचिव घनश्याम भुसालमाथि नेकपा एसका नेताहरुले सातो जाने गरि आलोचना गरेपछि उनीहरु पनि आलोचित हुँदै तत्काल कुनै पार्टीसँग एकता नगर्ने निर्णय गराउन बाध्य बनेका छन् । 

नेकपा एससँगको तत्काल एकताको विषय टुंगिएपनि विप्लव नेतृत्वको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता हुने उनको बुझाइ थियो । 

यसमा पनि विप्लवले प्रचण्डमाथि नै आरोप लगाउदै एकताको पहल नगर्ने र माओवादी केन्द्रले निर्णय गरे एकताबारे सोच्न सकिने भन्दै निर्णय गरिदिए । 

यस्तो विषयले प्रचण्डलाई सकस पर्न थालेको छ, भने विप्लवले पछिल्लो समय नेकपा एमालेसँग नजिकिने गरि छलफल चलाउन थालेको समेत बताइन्छ । 

विप्लव एमालेमा गए तनाव हुने ठानेका प्रचण्ड झस्किएका छन् । तर, विप्लव छिट्टै एमालेमा गइहाल्छन् भन्नेमा विश्वास नगरिसकेकाले उनले चाल्ने अबका कदम थप रोचक हुनेछन् । 

विप्लवको राजनीतिक बाटो

विप्लवले पार्टीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने भनिरहेका छन् । देशभरका विभिन्न क्षेत्रमा सामूहिक खेतिदेखि आफ्नै उत्पादनको खपतमा जोड दिइरहेका विप्लवमाथि धेरैले अपेक्षा पनि गर्न थालेका छन् । 

समाजवादमा जान आत्मनिर्भर अर्थतन्त्रको विकास पहिलो सर्त भन्ने कुरा बुझेका विप्लवले पार्टीभित्र कम्युन प्रणाली लगाउने प्रयास गरिरहेका छन् । भने सी गार्मेन्टमा उत्पादन भएका कपडा लगाएर सबै केन्द्रिय सदस्यलाई एकै अवतारमा उतारेका विप्लवप्रति पछिल्लो समय जनताले नजर राख्न थालेका छन् ।

केहि समय हिंसात्मक राजनीतिको बाटो समात्न खोजेपनि विप्लव नेतृत्वको नेकपा तीन बुँदे सहमतिसहित शान्ति प्रक्रियामा आएको थियो । 

त्यसपछि विप्लवले बारुदको सट्टा उत्पादनतर्फ ध्यान केन्द्रित गराउन खोजेको बताउने गरेका छन् । 

विप्लवले देशभरका विभिन्न क्षेत्रमा गरेको खेतिबाट उत्पादित सामाग्रीलाई बजारीकरणदेखि आफ्नै नेता कार्यकर्ताले उपभोग गर्नुपर्ने भनिरहेका छन् । उनले नेताहरुलाई खेतिको समयमा राजनीतिकभन्दा पनि खेतिमै लगाउने गरेका छन् । 

सी गार्मेन्ट

विप्लवले कपिलवस्तुको शिवगढीमा सी गार्मेन्टको स्थापना गराएका छन् । त्यहाँ कपडा सिलाउने काम गर्ने गरिन्छ भने त्यहि तयार पारिएका पोशाक लगाएरै विप्लवले अर्को चर्चा कमाइरहेका छन् ।

सबै नेता कार्यकर्तालाई एकैनासको ड्रेसकोडमा उतार्दै ती उत्पादन आफ्नै गार्मेन्टको भएको भन्दै सार्वजनिक गरिएपछि विप्लवको राजनीतिक लाइनमा धेरैले चासो राख्न थालेका छन् । 

उनले देशका विभिन्न क्षेत्रमा गार्मेन्ट सञ्चालन गर्ने भनिरहेका छन् । यसरी राजनीतिक रुपमा प्रचण्डसँग रिसाएका विप्लवले पार्टीलाई उत्पादनमा जोड्दै एमालेसँग वार्ता चलाउन थालेपछि प्रचण्डले के गर्लान ? 

वामपन्थी एकता, पूर्वमाओवादीको एकता लगायतका विषयमा बोलिरहने प्रचण्डले विप्लवले बटुल्दै गरेको सेन्टिमेन्टलाई पनि ग्र्याब गर्लान ? प्रश्न र चासो छ । यद्यपी, माओवादी केन्द्रको केन्द्रिय समिति बैठकले लिने निर्णयले पनि विप्लवको आगामी राजनीतिक बाटो थप प्रष्ट हुनेमा शंका भने छैन् । 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update