News 24 Television
बागमतीमा हिउँदै अधिवेशनको छैन सुरसार, बोल्न पाएनौ भन्दै जंगिए सांसदहरु 

मकवानपुर । बर्खे अधिवेशन सकिएको तीन महिना बितिसक्दा पनि बागमती प्रदेश सभामा हिउँदे अधिवेशन बस्ने अझै सुरसार छैन । त्यसो त संघीय संसदमा पनि वागमतीकै जस्तो अवस्था छ भने अरु बाँकी प्रदेशहरुमा पनि हिउँदे अधिवेशन बोलाउने तयारी अझै भएको छैन । 

गत असोज ७ गते बसेको बागमती प्रदेश सभा बैठकले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धि विधेयक पारित गर्यो । विधेयक पारित भएपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको प्रदेश सभा सभामुख भुवन पाठकले जानकारी गराए । 

त्यसको हप्तादिन नबित्दै बर्खे अधिवेशन अन्त्यका लागि मन्त्रीपरिषद् बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्यो । जसअनुसार बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गरे । 

अब हिउँदे अधिवेशन कहिले आव्हान हुन्छ ? भन्नेमा सरकार आफै अन्यौलमा छ । झण्डै तीन महिनासम्म प्रदेश सभा सांसदहरू कामविहीन हुनु परेको र सदन नबस्दा सदनमा आफ्ना कुरा राख्न नपाएको सांसदहरुको गुनासो छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गतसाता मात्रै सदन बोलाउन ध्यानाकर्षण पत्र समेत जारी गरेको थियो । सरकारले प्रदेश सभा बैठक डाक्न पनि कुनै हतार नगरेर नालायकीपन देखाएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदहरुको आरोप छ ।  

यता, सदन डाक्नका लागि प्रतिपक्षी दलमा रहेको राप्रपाले पनि सरकारलाई पटक\पटक दबाव दिदैँ आएको दलका उपनेता गिरबहादुर तामाङ बताउँछन् । 

प्रदेश सरकार भने सदन बोलाउने भन्दा क्याबिनेटबाटै काम चलाउनमा लागेको प्रतिपक्ष दलहरुको आरोप छ । लामो समयसम्म सदन नबसेपछि आफ्ना निर्वाचन क्षेत्रको समस्याबारे कुरा उठाउन नपाएको सांसदहरुले गुनासो गरिरहँदा सत्तारुढ दलका सांसदहरुले भने बचाउमा बोलेका छन् ।  

त्यसोत, प्रदेश सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले प्रदेश सभा बैठक डाक्ने तयारीमा सरकार लागेको बताए । प्रदेश सभामा रहेका ७ राजनीतिक दलहरुमध्ये दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले सत्तामा छ । 

यसअघि १८ महिना प्रदेश सरकारको नेतृत्व सम्हालेको नेकपा माओवादी केन्द्र अहिले प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ । यसबाहेक राप्रपा, नेकपा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टी प्रतिपक्षी दलको भूमिकामा छन् । 

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update