काठमाडौं । पछिल्लो समय झ्याप्प–झ्याप्प विजुली जाने गरेको गुनासाहरु बढेका छन् । सर्वसाधारण उपभोक्ताकोमा विजुली जानेभन्दा पनि उद्योगीका केहि उद्योगमा पिक समयमा वत्ति जाने गरेको भन्दै लोडसेडिङ हुन थालेको चर्चा चलिरहेको छ ।
सरकारले पनि यो विषयको अन्योलता चिर्न नसक्दा लोडसेडिङ हुन थालेको त होइन भन्ने प्रश्नहरु थप पेचिला बन्दै गएका छन् । नेपालमा हिउँदको समयमा विद्युत आपूर्ति सहज हुँदैन् । वर्षाको समयमा नेपालले बाहिर बिजुली निर्यात गर्नुपर्ने स्थिति छ भने हिउँदमा बिजुली किन्नुपर्ने स्थिति छ ।
अझ, केहि समय पहिले आएको बाढीका कारण ठूला परियोजनाहरुमा असर परेपछि अहिले विद्युतको मागअनुसार पिक समयमा आपूर्ति हुन सकेको छैन् ।
यस्तोमा नेपाल विद्युत प्राधिकरणले केहि उद्योगको विजुली काटेर सर्वसाधारणलाई दिइरहेको छ । जुन अवस्थापछि उद्योगीहरुले तालिकाबिनाको लोडसेडिङ शुरु भएको भन्दै आक्रामक विरोध गरिरहेका छन् । भने ऊर्जामन्त्री दीपक खड्का लोडसेडिङ अन्त्य गर्न भारतबाट ६ सय मेघावाट बिजुली किन्न लागिएको जिकिर गरिरहेका छन् ।
लोडसेडिङ हुन नदिन काम गरिरहेको दाबी गरिरहेका मन्त्री खड्का आफै प्राधिकरण नेतृत्व फेर्ने दाउमा मात्रै तल्लिन छन् । उद्योगीसँगको बक्यौता विवादका कारण कुलमान घिसिङ चौतर्फी घेराबन्दीमा परेको बेला केहि समय लोडसेडिङ हुनुलाई नै उनको अफलतासँग जोड्ने कोसिस भने गर्न थालिएको छ । तर, कुलमान भने यस्ता दाबीमा सत्यता नभएको जिकिर गरिरहेका छन् । उनले लोडसेडिङ हुँदा खुशी हुने जमातले नै लोडसेडिङको हल्ला चलाएको आरोप समेत लगाएका छन् ।
मन्त्रालय भर्सेस प्राधिकरणको स्थिति बनेको कुरा लुकेको छैन् । कुलमानमाथि सरकारले स्पष्टीकरण पत्रहरु धेरै थमाइसकेको छ ।
यस्तोमा सरकारले कारबाहीको तयारी समेत गरेको देखिन्छ । तर, सर्वोच्च अदालतमा उनीविरुद्ध हितेन्द्र शाक्यले दायर गरेको मुद्दाको पेशी पुस २८ गते भएकाले त्यसैमा केहि भइहाल्छ कि भन्नेमा समेत सरकार देखिन्छ । तर, ऊर्जामन्तालय भने प्राधिकरणविरुद्ध अनेक बहानाहरु खोजिरहेको छ ।
ऊर्जामन्त्री खड्काले पूर्वकार्यकारी निर्देशकको भेला डाकेर सुझाव संकलन गरेका छन् । जसमा कुलमानको विपक्षका आवाजहरु समेत धुमाउरो स्थितिमा आएका छन् ।
मन्त्री खड्काले पुर्वकार्यकारी निर्देशकहरुको राय बुझेर कारबाही प्रक्रिया चलाउने विषयमा चासो राखेको प्रष्ट छ । उनीहरुले आफ्नो क्षमता र मर्यादाअनुसारका जवाफ दिएपनि पछिल्लो समय सरकार भर्सेस प्राधिकरणजस्तो देखिनुलाई समेत गलत भनेका छन् । उसोतः मिश्रित प्रतिक्रिया आएको देखिन्छ ।
यसरी हेर्दा लोडसेडिङको आवरणमा कुलमानको क्रेज घटाउने काममा समेत सरकार सक्रिय बनिसकेको स्थिति छ । मन्त्री खड्का बक्यौता विवादलाई राष्ट्रिय चर्चाको विषय किन बनाइयो भन्दै क्रोध पोखिरहेका देखिन्छन् ।
यसरी सरकार र उद्योगी भर्सेस कुलमानको स्थिति बन्दै गर्दा लोडसेडिङको विषयले फेरि अर्को रोचक मोडमा पु¥याउने खतरा समेत देखिन्छ । तर, हिउँदमा नेपालका नदीनालाहरुमा पानीको वहाव कम हुने भएकाले पूर्ण क्षमतामा विदयुत उत्पादन नहुने, केहि ठूला आयोजनामा क्षति हुनुजस्ता कारणले पनि पिक समयमा विद्युत अभाव भने रहेको छ । तर, लोडसेडिङ नै गर्ने गरि वातावरण नबनेको दाबी भने प्राधिकरणले गरिरहेको छ । यहि छेकोमा के लोडसेडिङ होला ? जनतामा चासो भने उस्तै छ ।