काठमाडौं । मधेश प्रदेशको प्रतिनिधित्व गरिरहेको जनकपुर बोल्ट्स र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरिरहेको सुदूरपश्चिम रोयल्सबीच शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ बजेपछि नेपाल प्रिमियर लिग एनपीएलको उपाधि भिडन्त हुँदैछ ।
शनिवारको भिडन्तपछि एनपीएलले पहिलो विजेता पाउने छ । यी दुई टोली जारी एनपीएलकै हाइलाइटेड टोलीहरु हुन् । अझ, रोचक त एकै परिवारका दुई दाजुभाइ आरिफ शेख र आसिफ शेखबीच पनि फाइनलमा प्रतिस्पर्धा हुनेछ ।
दुई दाजुभाइका कारण पनि एनपीएलको फाइनल चर्चामा छ । यता उपाधि जित्न दुबै टोली पूर्ण रूपमा तयार देखिन्छन् । राष्ट्रिय टिमका सदस्य समेत रहेका आरिफ शेख र आसिफ शेख एनपीएलमा फरक फरक टिमबाट भिडेका छन् । आरिफ सुदूरपश्चिम रोयल्सबाट खेलिरहेका छन् भने आसिफले जनकपुर बोल्ट्सको प्रतिनिधित्व गर्छन् ।
आसिफ जनकपुरका मार्की खेलाडी पनि हुन् । तर दुवै दाजुभाईले अपेक्षित प्रदर्शन भने गर्न सकेका छैनन् । एनपीएलको जनकपुर बोल्ट्स र विराटनगर किंग्स्बीचको पहिलो खेलमा आसिफ शून्यमा आउट भएका थिए ।
जारी एनपीएलमा आसिफले १ सय २९ रन बनाएका छन् । त्यस्तै आरिफले ६८ रन बनाएका छन् । हुनतः दुवै खेलाडीले नेपाली क्रिकेटमा आफ्नो पहिचान बनाइसकेका छन् । एकातिर आरिफ शेख मिडल अर्डरको भरोसा योग्य खम्बा हुन्, जो संकटमा टिमलाई सम्हाल्ने र लामो साझेदारी गर्न सक्ने क्षमताका लागि चिनिन्छन् ।
अर्कोतिर, आसिफ शेख नेपाली राष्ट्रिय टिमका प्रमुख ओपनर तथा विकेटकिपर हुन्, जसको आक्रामक ब्याटिङमा विपक्षी टोलीलाई पावरप्लेमै दबाबमा पार्न सक्ने शक्ति छ ।
उनी आफ्नो विस्फोटक शट्स र उच्च स्ट्राइक रेटका कारण नेपाली दर्शकहरूबीच लोकप्रिय छन् । आसिफको आक्रामकता र आरिफको स्थिरताले दर्शकहरूबीच पनि रोमाञ्चक माहोल बन्ने निश्चित छ । खेलको अन्त्यमा, मैदानमा हार–जीत जोकोहीको भए पनि रोमाञ्चक खेलको प्रतीक्षामा रहेका नेपाली क्रिकेट प्रेमीहरूलाई यो फाइनल खेलले अविस्मरणीय अनुभव दिनेछ ।
फाइनल अघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीका कप्तानले उपाधि जित्न आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका छन् । जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले फाइनल खेलका लागि विशेष योजना नबनाएको भएपनि अभ्यास खेललाई जत्तिकै महत्व दिएको बताए ।
फाइनल खेल जसले जिते पनि नायक नेपाली खेलाडी नै बनुन् भन्ने चाहना रहेको आसिफले बताए । त्यस्तै, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले खेलाडीहरूले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्ने आत्मविश्वास व्यक्त गरे ।
जारी प्रतियोगितामा सुदूरपश्चिम र जनकपरबीच लिग चरण र पहिलो क्वालिफायरमा गरी दुई पटक भेट भइसकेको छ । दुवैमा सुदूरपश्चिमले बाजी मारेको छ । शनिबार हुने फाइनलमा सुदूरपश्चिम नतिजा दोहोर्याउला वा जनकपुरले नतिजा उल्ट्याउँला ? अब प्रतिक्षा केही घण्टाको मात्रै छ ।