काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा छिन् । भारतमा उनले शीर्ष राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुका साथै केहि सम्मेलनमा समेत सहभागीता जनाएकी छन् । तर, आरजुको भारत भ्रमणको रहस्य भने प्रधानमन्त्री केपी ओलीको भ्रमण चाँजोपाँजो मिलाउनका लागि देखिन्छ ।
यस्तोमा आरजुको भारत भ्रमण कस्तो रहला भन्ने चासो स्वभाविक देखिन्छ । कांग्रेस एमालेको गठबन्धन सरकारको नेतृत्व एमाले अध्यक्ष समेत रहका प्रधानमन्त्री केपी ओलीले गरिरहेका छन् । ओली नेतृत्वको सरकारलाई भारतले खासै नरुचाएको चर्चाकाबीच ओलीले चीन भ्रमण गरिसकेका छन् ।
चीन भ्रमणमा जाँदा नै ओलीलाई भारतले चासो नदिएको भन्ने चर्चाकाबीच उनले छिट्टै भारत भ्रमण गर्ने बताइरहेका छन् । उसोतः ओलीले भारत भ्रमण चीन भ्रमण अघि नै गर्न चाहेका थिए ।
यसको तयारी पनि भएको थियो तर, अन्तिममा प्रक्रिया भाँडिएपछि फेरि आरजुले सक्रियताका साथ ओलीको भारत भ्रमणको चाँजो मिलाउने काममा जुटेकी हुन् । युरोप गएकी आरजु नेपाल नआई सिधै भारत पुगेर सक्रिय बनिसकेकी छन् ।
उनले भारतमा नेपालको उर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय उद्यमीहरुलाई आह्वान गरेकी छन् । शुक्रवारबाट ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स शुरु भएको छ ।
नेपाल भारतको सम्बन्ध कागजी भन्दापनि हृदयबाट जोडिएको दाबी गरेकी आरजुले ओलीको भ्रमणको चाँजो मिलाउनेमै ध्यान केन्द्रित गरेकी छन् ।
केहि समय पहिले भारत पुगेकी उनलाई बारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सम्मान नै चर्चाको विषय बनिरहेको बेला ओलीले उनलाई नै भारत भ्रमणको चाँजो मिलाउने जिम्मा दिएको देखिन्छ । यद्यपी आरजुले प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई यहि पुस २५ देखि २९ सम्म हुनेगरि प्रवन्ध मिलाउने विषयलाई अन्तिम चरणमा पु¥याएको समेत बताइन्छ । तथापी उनी भारतबाट फर्किएपछि धेरै कुरा खुल्नेछन् ।
कांग्रेसको आन्तरिक चलमल
कांग्रेस सत्ता गठबन्धनमा भएपनि सरकारको कामबाट सन्तुष्ट हुन सकेको छैन् । कांग्रेस नेताहरुले सरकारले गति समात्न नसकेको आरोप लगाउन थालेका छन् । सरकारले काम गर्न नसकेपनि गठबन्धन नतोड्ने भन्दै नेताहरुले अकर्मण्यतालाई पनि साथ दिने भनिरहेका छन् । यता, कांग्रेस महामन्त्री गगन थापाले पनि सरकारको कार्यसम्पादनप्रति असन्तुष्टी पोखेका छन् ।
कांग्रेसको आन्तरिक राजनीति खलबलिने स्थितिमा पुगेपनि नेताहरु सम्हालिने कोसिस भने गरिरहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट डा. शेखर कोइरालाले पनि शेरबहादुर देउवा दाइजस्तो र गगन पनि आफ्नै मान्छे भन्दै विवाद पार्टीभित्र विवाद नरहेको जस्तो देखाउन खोजेका छन् ।
कांग्रेसको आन्तरिक राजनीतिमा देखिने यस्ता खाले विवाद र तादम्यताकाबीच ओलीले देउवा पत्नी आरजुलाई महत्वपूर्ण जिम्मेवारी दिएर सरकारको आयुमा केहिहदसम्म मल्हम त लगाएका छन् । तर, असन्तुष्टी बढेका कारण अहिले नै भन्न सकिने स्थिति भने छैन् । तर, चीनसँगको बीआरआई सम्झौतापछि ओलीको भारत भ्रमण कस्तो रहला ? भारतले उनलाई कस्तो ट्रिट गर्ला ? विदेश भ्रमणको लहरमा ओलीको भारत जाने चाहनाको औचित्य पुष्टी कसरी होला ? तमाम प्रश्नहरु पेचिला बनेका छन् ।