News 24 Television
नेपालको ऊर्जा तथा कृषिमा लगानी गर्न भारतीय उद्यमीलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडाैँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय उद्यमीहरुलाई आग्रह गरेकी छन् ।

शुक्रवारबाट ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स) पछि कुरा गर्दै उनले उक्त आग्रह गरेकी हुन् । नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवर्द्धनसम्बन्धी नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गरिन्।

परराष्ट्रमन्त्री देउवाले नेपालले विदेशी लगानी आकर्षणका लागि ‘डबल बी माइनस (बीबी माइनस) रेटिङ प्राप्त गरेको र लगानीका लागि प्रोत्साहनमुखी नीतिहरू लागू गरेको जानकारी गराइन् । उनले नेपालका लागि भारत धेरै नै महत्वपूर्ण रहेको भन्दै नेपाल र भारतबीच नागरिक नागरिकबीचको सम्बन्ध रहेको पनि बताइन् । सामाजिक संस्कार, संस्कृति मात्रै नभएर व्यापार, व्यवसायमा पनि नेपाल र भारतबीच धेरै ठूलो सम्बन्ध रही आएको उनकाे भनाइ छ । 

देउवाले भनिन्, ‘नेपाल र भारतबीचको सम्बन्ध धेरै राम्रो छ । नेपालका लागि भारत धेरै नै महत्वपूर्ण छ । नेपाल र भारतबीचको सम्बन्ध धेरै नै पुरानो हो । सामाजिक संस्कार, संस्कृतिले मात्रै होइन, व्यापार, व्यवसायमा पनि नेपाल र भारतबीच धेरै ठूलो सम्बन्ध छ । नेपाल र भारतबीच नागरिक नागरिकबीचको सम्बन्ध पनि धेरै नै महत्वपूर्ण छ ।’

उनले नेपाल र भारतबीच कागजी सम्झौताभन्दा बढी हृदयले जोडिएको सम्बन्ध भएको बताइन् । 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update