News 24 Television
संघीयता कार्यान्वयनमा जोड दिन सभामुखको आग्रह

काठमाडाैँ । सभामुख देवराज घिमिरेले संघीयताको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । शुक्रवार राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको स्मारिका विमोचन कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संघीयता कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताएका हुन् । 

उनले अहिले संघीयता चाहिँदैन भन्ने टिप्पणीहरु बढिरहेको भन्दै संघीयताको सही कार्यान्वयन आवश्यक भएको बताए । संघीयतासँग सम्बन्धित निकायहरुलाई बलियो पार्ने कानून बनाउनेदेखि लिएर व्यवहारमा कार्यान्वयन गरेर जानुपर्ने आजको आवश्यकता भएको उनकाे भनाइ छ । 

कानून र बुझाइको क्षमताको अभावका कारण संघीयता कार्यान्वयन हुन नसकिरहेको बताउँदै सभामुख घिमिरेले संघीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारले एक भएर काम गर्न जरुरी रहेको बताए । 

उनले भने, ‘आज संघीयता चाहिँदैन भन्ने टिप्पणीहरु बढी आइरहेको छ । मेरो व्यक्तिगत रुपबाट के बुझाइ छ भने संघीयतालाई कार्यान्वयन गर्नको लागि हामीले गर्नुपर्ने कामहरु कति ग¥यौँ । संघीयतासँग सम्बन्धित निकायहरुलाई बलियो पार्ने कानून बनाउनेदेखि लिएर व्यवहारमा काम गर्नेदेखि कामहरु कति गरेका छौँ । त्यहाँ कामका लागि के अनुभव आए त्यो टिप्पणी हुनुपर्छ । संघीयता खर्चिलो भयो, संघीयता व्यवहारिक भएन, श्रोतको  दुरुपयोग भयो, दोहनको लागि मात्रै सबै कोशिस भयो भन्नेकुराहरु भइरहेको छ । सानो मुलुक, अन्त जे भएको छ, त्यो हेर्दा बेठिक नै भएको छ भन्ने कोणबाट हेर्ने कोशिस गरिएको छ । अब कार्यान्वयन गर्दा ल्याएका कुराहरु के बेठिक भए कार्यान्वयनबाट प्रमाणित गर्ने मेहनत हामीले गर्नुपर्छ । कानूनको, बुझाइको, क्षमताको अभावमा ति कुराहरु अड्किएका छन् । त्यसलाई पूरा गर्न के गर्न सकिन्छ, त्यसमा संघ, प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्छ ।’

सभामुख घिमिरेले संविधान संशोधनमा आफ्नै तर्कहरुबाट संघीयता सम्बन्धी बहस छेड्ने कोशिस भइरहेको पनि बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update