News 24 Television
उपाधिका हकदार को, सुदूरपश्चिम कि जनकपुर ? 

काठमाडौं । जनकपुर बोल्ट्सले बिहीवार दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्त तय गरेको छ । 

योसँगै जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स उपाधिका लागी शनिबार आमने–सामने हुनेछन् । तेस्रो भेटमा पनि सुदूरपश्चिम हाबी होला या जनकपुरले अघिल्ला दुई हारको बदला लिँदै उपाधि उचाल्ला ? 

जारी एनपिएलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टबीच अब तेस्रो भिडन्त फाइनलमा हुनेछ । यसअघि लिग चरणमा र पहिलो क्वालिफायर दुवै खेलमा जनकपुरमाथि सुदूरपश्चिमले जित निकालेको थियो । 

फाइनल खेल शनिबार मध्यान्हमा हुनेछ । सुदूरपश्चिम उत्कृष्ट लयमा देखिन्छ । ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै मा सुदूरपश्चिम अब्बल देखिएको छ । यता, कप्तान अनिल साह घाइते हुँदा जनकपुर दबाबमा छ ।

कस्ता छन् यी दुई टोली ?

सुदूरपश्चिम रोयल्स

क्यानबाट सुदूरपश्चिम रोयल्सको स्वामित्व इम्पायर स्पार्ट्सले एक करोड ६८ लाख रुपैयाँमा किनेको थियो । सुदूरपश्चिम रोयल्सको प्रशिक्षण जगत टमाटाले गरिरहेका छन् । सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने टोली सुदूरपश्चिम रोएल्समा प्राय सुदूरपश्चिमका खेलाडीको वर्चश्व छ । 

नेपाली क्रिकेट इतिहासमै पहिलोपटक अलराउन्डतर्फ विश्व क्रिकेट वरियतामा दोस्रो स्थानमा रहेका दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सको भरोसायुक्त र मार्की खेलाडी हुन् । सुदूरपश्चिम एनपीलको उपाधि दावेदार हो ।

ऐरीको कप्तानीमा एनपीएलमा खेलेका ७ मध्ये ६ खेलमा सुदूरपश्चिमले जित निकालेको छ । प्रतियोगिताको पहिलो खेलमा नै विराटनगरलाई ९० रनले हराएको सुदूरपश्चिम चितवन राइनोजसँग मात्रै पराजित भयो भने जितेका खेलहरुमा पनि प्रतिष्पर्धी टिमलाई ठूलो अन्तरको पराजित ग¥यो । 

सुदूरपश्चिम पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलार्ई आठ विकेटले हराउदै फाइनलमा स्थान सुरक्षित गर्ने पहिलो टोली बन्यो । प्रतियोगितामा सुदूरपश्चिमका बलर स्कट कुग्लिङले सर्वाधिक १६ विकेट लिएका छन् । चितवनसँगको एकमात्र खेलमा पराजित भएको रोयल्सले हालसम्म कुनै गल्ती गरेको छैन । 

जनकपुर बोल्ट्स

ड्रिम स्पोर्ट्सले मधेस प्रदेशको राजधानीको नाममा रहेको जनकपुर बोल्ट्सको स्वामित्व दुई करोड पाँच लाखमा किनेको थियो । नेपाली राष्ट्रिय टिमकका पूर्वप्रशिक्षक पुबुदु दासानायके जनकपुरको प्रशिक्षक छन् । 

लिग चरणमा लगातार सानदार प्रदर्शन गरेको टोलीले ७ खेलमा ५ खेल जितेको छ भने चितवन र सुदूरपश्चिमसँग हार व्यहोर्यो ।  पहिलो क्वालिफायरमा हार व्यहोरेको जनकपुरले बिहिवार दोसो क्वालिफायरमा कर्णालीलाई दुई विकेटले पराजित गर्दै उपाधिको दाबेदार बन्यो ।

जनकपुरको स्पीनर र मिडल अर्डर बलियो देखिन्छ । ओपनर एवं कप्तान अनिलकुमार साह घाइते भएपछि यो टोली केही मारमा परेको छ । राष्ट्रिय टोलीबाट राम्रै प्रदर्शन गर्ने आरिफ शेखको एनपीएलमा जनपुरको तर्फबाट ब्याट भने त्यति चलिरहेको छैन । 

उनी पहिलो खेलमा विराटनगरविरुद्ध शून्य रनमै आउट भएका थिए । जनकपुर बोल्ट्सका लागि लाहिरू मिलान्था भरपर्दो ब्याटर हुन् । 

न्युजील्याण्डका खेलाडी जेम्स निशमको विस्फोटक ब्याटिङ पनि जनकपुरको जितको आधार बन्न सक्छ । एनपीएलमा अलराउन्डर हर्ष थाकेरको ब्याट भन्दा बल बढी चम्किरहेको छ । टोलीको बलियो पक्ष हो, स्पीन बलिङ ।

जनकपुरका स्पिनर ललित राजवंशीले अहिलेसम्म १६ विकेट लिएका छन् । यस्तोमा एनपीएलको फाइनलमा रोमाञ्चक र अप्रत्याशित भिडन्त हुने देखिन्छ । 

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सका सर्मथकका लागि प्रत्येक बल, हिट र रन अविस्मरणीय हुनेछ । उपाधि जुन टोलीले उचाले पनि यो फाइनल नेपालका क्रिकेट प्रेमीहरूको लागि एक ऐतिहासिक क्षणका साथै  खेलको हर मुभमा रोमाञ्चक अनिश्चितता रहने निश्चित छ ।


 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update