काठमाडौं । कल्पना गर्नुहोस्, त्यो दिन जब क्यान्सरजस्तो घातक रोग केवल उपचारयोग्य मात्र होइन, पूर्णतः नियन्त्रणयोग्य बन्नेछ । त्यो दिन अब टाढा छैन ! रुसले विश्वलाई एउटा अद्भुत उपहार दिएको छ– क्यान्सरको खोप ।
क्यान्सरको अन्त्य अब केवल सपना होइन, यो वास्तविकता बन्ने क्रममा छ । यो खोपले क्यान्सरका बिरामीहरूलाई नयाँ जीवनको आशा दिएको छ ।
यो कुनै साधारण औषधि मात्र होइन, यो चिकित्सा विज्ञानमा नयाँ युगको सुरुवात मानिएको छ । रूसले क्यान्सरविरूद्धको खोप सन् २०२५ मा संसारभर उपलब्ध गराउने भएको छ ।
रूसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले क्यान्सरको खोप बनाउन रूस सफल भएको औपचारिक घोषणा गर्दै खोप अर्को वर्षदेखि रुसी नागरिकलाई निः शुल्क दिइने जानकारी दिएका हुन् । रुसको यो खोजलाई शताब्दीकै सबैभन्दा ठूलो खोज मानिएको छ ।
कसरी काम गर्छ यो खोप ?
खोपको क्लिनिकल परीक्षण गरिएको र त्यसमा उक्त भ्याक्सिनले ट्युमर वृद्धि हुनबाट रोक्न मद्दत गरेको देखाएको जनाइएको छ ।
एमआरएन वा मेसेन्जर आरएनए मानव आनुवंशिक कोडको सानो भाग हो, जसले हाम्रो कोशिकाहरूमा प्रोटिन बनाउँछ । सामान्य भाषामा, कुनै भाइरस वा ब्याक्टेरियाले हाम्रो शरीरमा आक्रमण गर्छ, एमआरएनए प्रविधिले कोशिकाहरूलाई त्यो भाइरस वा ब्याक्टेरियासँग लड्न प्रोटिन बनाउन सन्देश पठाउँछ । यसबाट हाम्रो प्रतिरक्षा प्रणालीलाई आवश्यक प्रोटिन प्राप्त हुन्छ र हाम्रो शरीरमा एन्टिबडीहरू बन्छन् ।
यसका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि मजबुत हुन्छ । एमआरएनए प्रविधिमा आधारित यो पहिलो क्यान्सर खोप हो । सन् २०२४ को सुरुमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्यान्सरको खोप निर्माणको नजिक पुगेको बताएका थिए ।
विश्वमा करिव २७ हजारको दैनिक क्यान्सरबाट मृत्यु हुने गरेको छ । अझ, अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको संख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ ।
अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो ।
त्यस्तै, नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढीमा क्यान्सर पहिचान हुने गरेको छ भने क्यान्सरकै कारण वार्षिक १७ हजारको मृत्यु हुने गरेको छ ।
विश्वभरका क्यान्सरका बिरामीहरूलाई नयाँ जीवनको आशा दिने यो खोप वैज्ञानिक प्रगतिको उदाहरण हो । अब, क्यान्सरलाई डरको रूपमा होइन, सम्भावनाका अवसरको रूपमा हेर्न सकिन्छ ।
यस खोपले विश्वभरका लाखौं मानिसहरूको जीवन र मृत्युको चक्रलाई फेरि परिभाषित गर्दै स्वस्थ र दीर्घ जीवनको अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।