
कास्की । पोखरामा ‘फेवा संवाद २०२४’ शुुरु भएको छ । त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालय अन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा ‘फेवा संवाद २०२४’ शुुरु भएको हो ।
२ दिनसम्म चल्ने फेवा संवाद कार्यक्रममा ‘विश्वव्यापी औद्योगिक स्थानान्तरण अन्तर्गत दक्षिण एसियाका विकल्पहरू’ बारे बहस हुँदैछ ।
‘विश्वव्यापी औद्योगिक स्थानान्तरण अन्तर्गत दक्षिण एसियाका विकल्पहरू’ बारे बहस गर्न पोखरामा ‘फेवा संवाद २०२४’ शुुरु भएको छ । विहीबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संवाद कार्यक्रमको उद्घाटन गरेकी हुन् । यसक्रममा उनले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएकी छिन् ।
मुलुकको अर्थतन्त्र वृद्धि गर्दै विकास, निर्माणमा लगानी बढाउँदै जानुपर्ने उनको भनाई छ । त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालय अन्तर्गत चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजना यो कार्यक्रमको आयोजना गरिएको हो । स्वदेशी उत्पादनको निर्यात बढाएर रोजगारी सिर्जना गरी दिगो विकास गर्दै नागरिकको आर्थिकस्तर उकास्न सकिने उनको धारणा छ ।
यस्ता खालका चीन–नेपालका अन्तरसम्बन्ध कार्यक्रमले नेपाल चीन सबन्धलाई प्रगाढ बनाउने विश्वास लिइएको छ । यता सम्मेलनले यहाँको पर्यटन प्रवर्द्धनसँगै जनता–जनताबिच सम्बन्ध स्थापना गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास नेपालका लागि चिनियाँ राजदूत छन् सङले व्यक्त गरेका छन् ।
यस किसिमको बौद्धिक बहस तथा अनुभव आदानप्रदानले ज्ञान र सीप हस्तान्तरण, मित्रता अभिवृद्धिलगायत क्षेत्रमा प्रभावकारी र फलदायी बन्ने सहभागी प्रध्यापकहरुले विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा पाकिस्तान, भारत, भुटान, मलेसिया, इन्डोनेसीया लगाएतका देशबाट प्रध्यापकहरु सम्मेलनमा भाग लिएका छन् ।