काठमाडौँ । टाइमलाइन स्कुलले स्व. गणेशप्रसाद रिजालको चौँथो स्मृति दिवसमा गायन प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।
विद्यालयले यहीँ पुस ५ गते शुक्रबार गोकर्णेश्वर नगरपालिका–५ स्थित विद्यालय परिसरमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । प्रत्येक वर्ष आयोजना गरिँदै आएको गायन प्रतियोगितामा यस वर्ष विभिन्न ३० विद्यालयको सहभागिता रहेको छ । स्मृति दिवसका अवसरमा यो चौँथो गायन प्रतियोगिता हो ।
प्रतियोगितामा प्रथमले ८ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। द्धितियले नगद ६ हजार, तृतीयले ४ हजार र चौथोदेखि दशौँले २ हजार नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
गायन प्रतियोगितासँगै विद्यालयले सङ्गीततर्फ पनि पुरस्कार राशीको घोषणा गरेको छ । संगीततर्फ पहिलोले २ हजार ५ सय, दोस्रोले २ हजार र तेस्रोले १ हजार ५ सय रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने विद्यालयका प्रधानाध्यापक रामप्रसाद बडालले बताएका छन्।
यस्तै, गीतकारतर्फ पनि पुरस्कार राशी घोषणा गरिएको छ । गीतकार पुरस्कारतर्फ क्रमशः पहिलो, दोस्रो र तेस्रो २ हजार ५ सय, २ हजार र एक हजार ५ सय रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
विद्यालयका प्रधानाध्यापक बडालले यस प्रतियोगिताले विद्यार्थीहरुमा लुकेको अन्तर्निहित प्रतिभालाई उजागर गर्ने बताएका छन् । उनले यस प्रतियोगिताले गायन क्षेत्रमा नव उदयमान बालबालिकाका निम्ति अतुलनीय टेवा पुर्याउने पनि बताए ।
‘यस गायन प्रतियोगितामा १५० बालबालिकाहरुको प्रतिभा देख्न सकिनेछ । गीतले समग्र कला, धर्म, संस्कृति, प्रकृतिबारे गुणगान गाउनेछ,’ प्रधानाध्यापक बडाल भन्छन्, ‘ वर्षेनी टाइमलाइन स्कुलद्धारा आयोजित प्रतियोगिताले सयौँ बालबालिकाभित्र लुकेर रहेको प्रतिभालाई उजागर गरिरहेको छ ।’
टाइमलाइन स्कुल गोकर्णेश्वर नगरभित्रको उत्कृष्ट विद्यालय हो । विद्यालय पठनपाठनसँगै विद्यार्थीको अतिरिक्त क्रियाकलापमा सँधै क्रियाशील रहँदै आएको छ ।