News 24 Television
एनपिएलको फाइनलमा जनकपुर, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

काठमाडाैँ । जनकपुर बोल्ट्सले बिहीवार कर्णाली याक्सलाई दुई विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्त तय गरेको छ । जिमी निसमको अलराउन्ड प्रदर्शनमा जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउँदै सुदूरपश्चिम रोयल्ससँग फाइनल खेल्ने यात्रा तय गरेको हो । सुदूरपश्चिमले बुधबार नै जनकपुरलाई नै पहिलो क्वालिफायरमा हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १८.५ ओभरमा सात विकेटको क्षतिमा भेट्टायो । निसमले सर्वाधिक ४५ रन जोड्दै जितनजिक पुर्याएका हुन् । उनले १७ बलमा पाँच छक्का र दुई चौका प्रहार गरे । अलराउण्ड प्रदर्शन गरेका निसम म्यान अफ दी म्याच भए ।

निसमले आक्रामक ब्याटिङ गर्दै जनकपुर जितनजिक पु¥याएका थिए । उनी ब्याटिङ गरिहँदा जनकपुरलाई २८ बलमा २५ रन आवश्यक थियो । तर १५.३ ओभरमा कर्णाली युवा स्पिनर विपिन शर्माले निसमलाई बोल्ड गर्दै ठूलो झड्का दिए । उनी आउट भएसँगै जनकपुर दबाबमा पर्यो । थप दुई रन जोड्दा विपिनले अर्को विकेट पनि लिए । उनले मोहम्मद मोहसिनलाई १ रनमै एलबिडब्लु आउट गरे । जनकपुर १५.६ ओभरमा ९६/७ को अवस्थामा पुग्यो । यद्यपि, शेर मल्ल र मायन यादवले आठौं विकेटका लागि १९ रनको साझेदारी गर्दै जितनजिक पुर्याए ।

तर मायन १४ रनमा रनआउट हुन पुगे । उनी आउट हुँदा जनकपुरलाई जितका लागि ८ बलमा ४ रन आवश्यक थियो । तर शेर मल्ल एक छक्कासहित १६ रनमा अविजित रहँदै जित दिलाउन सफल भए । त्यसअघि सामान्य लक्ष्य पछ्याए पनि जनकपुरका शिर्ष क्रम सस्तैमा आउट हुँदा दबाबमा परेको हो । ओपनरद्वय शुभ कंसकार ३ र आसिफ शेख ४ रन तथा लाहिरु मिलन्था २ रनमा नै आउट भए । त्यसपछि आकाश त्रिपाठी पनि १३ रनमा पेभेलियन फर्किए । इनिङ समाल्ने प्रयास गरेका हर्ष ठाकर पनि १७ रनमा रनआउट हुन पुगे ।

यससँगै ९.४ ओभरमा जनकपुर ५८/५ को अवस्थामा पुग्यो । तर निसामले छैटौं विकेटका लागि मोहसिनसँग ३६ रनको साझेदारी गर्दै जितनजिक पु¥याए । यी दुई आउट भएसँगै जनकपुर दबाबमा पनि परे पनि कर्णालीले सफलता पाउन सकेन । कर्णालीको बलिङमा विपिन शर्माले चार ओभरमा तीन विकेट लिँदै १७ रन मात्र दिए । सोमपाल कामी, विलियम बोसिस्टो, जिसान मक्सुदले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीको सुरुआत राम्रो हुन सकेन । तर, कर्णाली समालिने प्रयास गरे पनि सफल भएन । पूरै ओभरमा ९ विकेट गुमाउँदै कर्णालीले ११८ रनको सामान्य योगफल बनायो ।

मध्य क्रमका गुलसन झाले २५ रन बनाए । यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । २० बलमा गुलसनले एक चौका र दुई छक्का प्रहार गरे । ओपनर देव खनालले २४ रनको योगदान दिए । उनको इनिङमा तीन चौका र एक छक्का रह्यो । त्यसबाहेक अन्य ब्याटर क्रिजमा टिक्नै सकेनन् । जिसान मक्सुद १२, विलियम बोसिस्टो १४, चाडविक वाल्टन ११ र पुछारका युनिषविक्रम ठकुरी १२ रनमा आउट भए । त्यसअघि कर्णालीको शुरुवात राम्रो हुन सकेन । दोस्रो ओभरमै ओपनर जयकिशन कोल्सावाला १ रनमै आउट भए । 

डेब्युमा नै अर्धशतक बनाएका कोल्सावाला स्पिनर ललित राजवंशीद्वारा क्याच आउट भए । तर दोस्रो विकेटका लागि ओपनर देव र जिसानबीच ३७ रनको साझेदारी भयो । यो नै सर्वाधिक ठूलो साझेदारी रह्यो । ११.५ ओभरमा कर्णाली ७७/४ को अवस्थामा थियो । खातामा थप ४१ रन जोड्दा कर्णालीले पाँच विकेट गुमाउन पुग्यो र सामान्य योगफलमा खुम्चियो । 

जनकपुरका बलरले विकेटसँगै किफायती बलिङ गर्दै कर्णालीलाई सामान्य योगफलमा रोकेका हुन् । ललित, मोहम्मद मोहसिन र निसमले समान दुई विकेट लिए । चार ओभरमा मोहसिनले एक मेडन राख्दै १४ रन मात्र दिए । समान ओभरमा ललितले पनि २२ रन मात्र खर्चिए । हर्ष ठाकरले पनि चार ओभरमा एक विकेट लिँदा १४ रन मात्र दिए । एक ओभरमा शेर मल्लले पनि एक विकेट लिँदा ४ रन मात्र दिए । 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update