
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डै ६ वर्षपछि नयाँ शिराबाट अनुसन्धान शुरु भएको छ ।
चालु आर्थिक वर्षको चार महिनाको घटना सार्वजनिक गर्न प्रहरी प्रधान कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरीले निर्मला हत्या प्रकरणको नयाँ अनुसन्धान शुरु गरिएको जानकारी दिएको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको ६ वर्ष भइसके पनि घटनाका दोषी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । बालिका पन्तको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न भन्दै देशब्यापी आन्दोलन चर्किएको थियो ।
हरेक गृहमन्त्रीले पन्तको हत्यारालाई कारबाही हुने आश्वासन दिन पनि हत्यारा पत्ता लाग्न सकेका छैनन् । यसअघिका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्यारा नजिक पुगेको बताएका थिए । उक्त घटनाको अभियुक्त फेला पर्न नसकेको अवस्थामा प्रहरीले नयाँ शिराबाट अनुसन्धान शुरु गरेको जनाएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार भएको पत्रकार सम्मेलनमा नयाँ शिराबाट अनुसन्धान शुरु गरिएको जानकारी दिएका हुन् ।
ह्यूमन इन्टेलिजेन्स पद्धतिबाट अनुसन्धान शुरु गरिएको अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ । यसअघि गठन भएका समितिहरुको प्रतिवेदन अध्ययन गरी थप अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ ।
६ वर्षको अवधिमा ५ जना गृहमन्त्री फेरिएका छन् भने अनुसन्धानका लागि भन्दै विभिन्न ६ वटा समितिहरु बनेको छ । हाल पन्तकै जिल्ला कञ्चनपुरका रमेश लेखक गृहमन्त्री छन् ।
पन्त हत्याको घटनापछि नेपालमा बलात्कारका घटनाहरु कम भएका छैनन् । बलात्कारका घटनाहरु बढिरहेको प्रहरी प्रतिवेदनले नै औंल्याएको छ ।
चालु आर्थिक वर्षको चार महिनाको तथ्यांक अनुसार बलात्कारका घटनाहरु बढि रहेका छन् । गत आर्थिक बर्षमा ८ सय ९ वटा बलात्कारको मुद्दा दर्ता भएकोमा यस आर्थिक बर्षमा मात्रै ८ सय २३ वटा मुद्धा दर्ता भएको प्ररहीले जनाएको छ । बलात्कारको मुद्धा दर्ता संख्या भन्दा पीडितहरु प्रहरीको सम्पर्कमा आउनेको संख्या बढी रहेको छ ।
पछिल्लो समय बलात्कारका घटनाहरुका साथै आत्महत्या पनि उत्तिकै बढिरहेका छन् । चालु आर्थिक बर्षको ४ महिनामा दैनिक २० वटा आत्महत्याको मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । यो अवधिमा २२ सय ३६ आत्महत्याको मुद्धा दर्ता भएको तथ्यांकमा उल्लेख छ ।
बलात्कार र आत्महत्याको मुद्धा दर्ता बढी हुने प्रदेशमा पहिलो कोशि प्रदेश छ भने कम हुनेमा कर्णाली र गण्डकी प्रदेश छन् । पछिल्लो चार महिनाको अवधिमा बैकिङ कसुरको मुद्धामा बृद्धि भएको प्रहरीले जनाएको छ ।