रुपन्देही । “लगानी लुम्बिनीमा, समृद्धि देशमा” भन्ने नारा सहित बुटवलमा बुधवारदेखि औद्योगिक व्यापार मेला सुरु भएको छ । काठमाडौँ उपत्यका बाहिर पहिलोपटक बुटवलमा २०४१ सालदेखि शुरु भएको प्रदर्शनीको यो २४ औँ संस्करण हो ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार मेला बुटवल–२०८१ शुरु भएको छ ।
“लगानी लुम्बिनीमा, समृद्धि देशमा” भन्ने नारा सहित बुटवलमा बुधवारदेखि औद्योगिक व्यापार मेला सुरु भएको हो । मेला उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले लगानीको सुरक्षा गर्न सरकार तयार रहेको बताउँदै ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
बटुवलमा आयोजना भएको मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र यस क्षेत्रमा उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरु सिर्जना गर्न अझ परिस्कृत रुपमा यो मेलाको आयोजना गरिएको आयोजकको भनाई छ ।
लगानीका हिसाबले लुम्बिनी धेरै सम्भावनायुक्त प्रदेश रहेको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बताए ।
२०४१ सालमा काठमाडौँ उपत्यका बाहिर पहिलो पटक बुटवलबाट औद्योगिक प्रदर्शनी शुरु भएको थियो । यसपटक प्रदर्शनीको यो २४ औं संस्करण हो ।
औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि, पर्यटनको प्रवद्र्धन तथा व्यबसायिकरणका लागि बिशेष महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, शौन्दर्य, गार्मेन्ट, जुत्ता, अटोमोवाईल्स र होटल लगायतका छुट्टा–छुट्टै १० वटा पेभिलिन रहनेछन् ।
मेलामा औद्योगिक, हस्कला, कृषि, तथा प्रविधिको प्रदर्शनी र बिक्रि वितरण पनि हुनेछ । १६ दिनसम्म सञ्चालन हुने मेलामा ५ सय स्टल छन् भने ५ लाख बढी दर्शकले अवलोकन गर्ने र १५ करोड बढीको कारोवार हुने अनुमान गरिएको छ ।
मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हास्यव्यंग्य जस्ता मनोरञ्जक गतिविधिहरु पनि हुनेछन् ।