News 24 Television
चीनको प्रख्यात खेल अब पोखरामा, यस्ता छन् फाइदाका सूची 

कास्की । पछिल्लो समय पर्यटकीय राजधानी पोखरामा चिनिया पर्यटकलाई आकर्षित गर्नका लागि विभिन्न चिनियाँ खेलका गतिविधिहरू पनि हुन थालेका छन् । 

यस्तैमा पौष १३ गतेदेखि १५ गतेसम्म पोखराको फेवातालमा चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोट रेस प्रतियोगिता हुने भएको हो । 

प्रतियोगितामा नेपालका ११, चीनका आठ र सिङ्गापुरका एक गरी कुल २० टिमको सहभागिता रहनेछ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दुताबास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यो प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको सह–आयोजकका रूपमा पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसन रहेका छन् । मंगलवार प्रतियोगिताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगिताले पोखराको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान हुने र नेपाल चीनबीचको सम्बन्ध प्रगाड रहने बताए । 

केही समय अगाडि सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पनि मुख्यतया चारवटा कार्यक्रमलाई नेपाल चीनबीचको सम्बन्धको कोशेढुङ्गाको रूपमा चित्रण गरिएको थियो । 

ती चारमध्ये एक ड्रागन बोट रेस प्रतियोगिता पनि हो । पत्रकार सम्मेलनमा बोल्दै नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सिङले सन् २०२५ नेपाल र चीन बीचको सम्बन्धमा ७० वर्ष पूरा हुने भन्दै त्यो वर्ष चिनिया नागरिकका लागि नेपाल भ्रमण वर्षको घोषणा गरेको जानकारी दिए । 

गत वर्षदेखि पोखराको फेवाताल र बिजनेस तालमा आयोजना हुन थालेको ड्रागन बोटरेस्ट प्रतियोगिताले नेपाल चिन दुई पक्षीय सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोर्ट्सका नयाँ सम्भावनाहरूको खोजी गर्ने, पोखराका तालहरूलाई आकर्षणका केन्द्रका रूपमा विकास गर्ने र आसपासको पर्यटन विकासमा टेवा पु¥याउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update