काठमाडौँ । नेपालमा राँगा–भैँसीको मासु विशेषगरी मःम, छोयला लगायत मासुका विभिन्न परिकार बनाउन बढी उपयोग हुँदै आएको छ । देशभित्र हाल उत्पादित राँगा–भैँसीको मासुले स्थानीय माग नै धान्न नसकिरहेको बेला नेपालले चीनमा राँगा–भैँसीको मासु बेच्ने सम्झौता गरेको छ । संसारमा सबैभन्दा बढी राँगा–भैँसीको मासु आयात गर्ने देश हो– चीन । नेपालसँग सीमा जोडिएको छिमेकी हुनुको नाताले पनि नेपाली राँगा–भैँसीको मासु चीन निर्यात गर्न सके स्वदेशमै भैँसीपालन व्यवसाय फस्टाउने देखिन्छ । तर यो उति सहज चाहिँ छैन ।
नेपालबाट राँगा–भैँसीको तयारी मासु चीन निर्यात गर्ने सम्झौतामा सोमबार साँझ हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित एक समारोहबीच नेपाली कम्पनी हिमालयन फुड इन्टरनेसनल र चीनको सांघाई जियान फुडबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उक्त सम्झौता नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरेका छन् । नेपालको हावापानी र भूबनावट पशुपालनका लागि उत्कृष्ट रहेको बताउँदै उनले यहाँको मासु स्वादिलो, स्वस्थकर हुने बताए । हिमाली भेगमा पाइने जडिबुटी तथा औषधिजन्य घाँसपात खाएर हुर्किएका पशुबस्तुको दुध तथा मासुमा पौष्टिक र औषधिजन्य फाइदा पाइने उनको भनाइ छ । साथै व्यावसायिक भैँसीपालनमा युवाहरुलाई आकर्षित गर्नुपर्ने उनले बताए ।
नेपालबाट चीनमा मासु निर्यातको सम्भावना राम्रो रहे पनि स्वदेशमा कृषि तथा पशुपालनमा युवाहरुको आकर्षण छैन । सरकारी नीति एवं व्यावसायिक वातावरण उपयुक्त हुन नसक्दा धेरै युवाहरु विदेश पलायन भइरहेका छन् । व्यावसायिक कृषि खेती तथा पशु–पंक्षी फार्म खोलेका कैयौँ युवा व्यवसायी समेत पलायन भएका छन् । यसको असर राँगा–भैँसीको उत्पादनमा समेत देखिएको छ । अघिल्लो आर्थिक वर्षको तथ्यांकअनुसार नेपालमा राँगा–भैँसीको संख्या र मासु उत्पादन उल्लेख्य मात्रामा घटेको देखिन्छ । व्यावसायिक भैँसीपालनमा निजी क्षेत्र र कृषकहरूलाई आकर्षित गर्नुपर्ने जानकारहरु बताउँछन् ।
चीनमा राँगा–भैँसीको मासु निर्यात गर्ने विगतदेखिकै प्रयास भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको यसै मंसिरमा भएको चीन भ्रमणका बेला यसले मूर्त रुप लिएको हो । अघिल्लो साल पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका बेला दुई देशबीचको व्यापार असन्तुलनलाई कम गर्ने प्रयासस्वरुप नेपालबाट प्रशोधित राँगा–भैँसीको मासु चीनमा निर्यात गर्न अनुमति दिने प्रक्रियाबारे सहमति गरेका थिए । यसपालि राँगा–भैँसीको प्रशोधित मासु सुरक्षित रुपमा चीन निर्यात गर्ने सम्बन्धी प्रोटोकलमा दुई देशबीच हस्ताक्षर भएसँगै अब नेपालका राँगा–भैँसीको स्वाद चिनिया नागरिकहरुले लिन पाउने भएका छन् ।
उक्त प्रोटोकलमा नेपालमा उत्पादित ३ वर्षभन्दा कम उमेरका ताजा र स्वस्थ राँगा–भैसीको मासु प्रशोधित एवं प्याकेजिङ गरी चीन निर्यात गरिने शर्त छन् । मापदण्ड पुगेको बधशालामा मासु काटेर, तातोमा राखेर प्रशोधन गरिएको हुनुपर्ने लगायत शर्त रहेको कृषि मन्त्रालयका अधिकारी बताउँछन् । तीनले हाल सबैभन्दा बढी अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, ब्राजिल र अर्जेन्टिनाबाट राँगा–भैँसीको मासु आयात गर्दछ । एक प्रतिवेदन अनुसार सन् २०२३ मा चीनले विभिन्न देशबाट करिब १४ अर्ब डलर बराबरको २ करोड ७८ लाख मेट्रिक टन राँगा–भैँसीको मासु र मासुजन्य खाद्यपदार्थ आयात गरेको देखिन्छ । नेपालले चीनमा उपयुक्त किसिमले भैँसीको मासु निर्यात बढाउन सकेमा यसबाट प्रशस्तै आर्थिक लाभ लिन सकिने र चीनसँगको व्यापार घाटा पनि कम हुने विश्वास लिइएको छ ।