News 24 Television
यी दर्जन मन्त्री रेड जोनमा, चौतर्फी हल्लियो ओलीकै कुर्सी !

काठमाडौँ । सरकारको स्थायीत्वमाथि नै प्रश्न उठिरहेका समय फेरि मन्त्री फेरबदलको हल्ला चल्न थालेको छ । सरकार नै के हुन्छ भन्ने संशय चलिरहेको छ । त्यसैमाथि मन्त्री फेरेबदलको चर्चाले अर्थतन्त्रदेखि विभिन्न क्षेत्रमा तरङ्ग पैदा गरिदिएको छ । 

केपी ओली नेतृत्वको सरकारको स्थायित्वमाथिका प्रश्न दिनप्रति दिन जब्बर बनिरहेका   छन् । ओली नेतृत्वको सरकार लामो समय नजाने जिकिर चलिरहेको बेला सरकारका अधिकारीहरुले प्रष्टीकरण भने दिइरहेका छन् । दुई दलका नेताहरुले राजनीतिक स्थायित्व र विकास निर्माणलाई जोड दिन कांग्रेस एमाले गठबन्धन गरिएको दाबी गरिरहेका छन् । 

नेताहरुले यस्तो दाबी गर्दै गर्दा कतिपयले भने सरकार नै लामो समय नजाने दाबी गरिरहेका छन् । अझ रोचक कुरा त भारतीय खुफिया एजेन्सी रअका पूर्व एजेन्टको अन्तरवार्ता समेत यतिबेला सनसनी बनिरहेको छ । ओली नेतृत्वको सरकार एक महिनाभित्रै ढल्ने दाबी गरेका रअका पूर्व एजेन्टको दाबीलाई नेपालका सञ्चार माध्यमदेखि राजनीतिक जगतले समेत प्राथमिकता दिएको बेला सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओलीले भने केहि समय पहिले नै कार्यसम्पादनमा उच्चत्तम मेहनत गर्न निर्देशन दिएका थिए । 

ओलीले चीन भ्रमण अघि नै मन्त्री हेरफेरको तयारी गरेपनि कांग्रेसले अड्को थाप्दा समस्या सिर्जना भएको बताइन्छ भने, कांग्रेसका धेरै जस्तो मन्त्रीहरुलाई ओलीले हटाउने मानसिकता बनाएर शेरबहादुर देउवासँग निरन्तर छलफल गरेको बताइन्छ । यद्यपि, कांग्रेसले आधाआधा कार्यकालको समहमति भएकाले मन्त्री फेर्ने विषयलाई गम्भिर ढंगले नलिएको समेत बताइन्छ । तर, पछिल्लो समय देउवा पनि मन्त्री फेर्ने विषयमा लचक बन्न थालेको बताइन्छ । 

एमालेभित्रै रडाको

प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेलबीच विवाद चलेको दाबी गरिन्छ । ओली र पौडेलबीचको विवाद पार्टीको आन्तरिक राजनीतिमा महासचिव शंकर पोखरेलले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुलाई लिइएको छ । तर, पौडेलले भने यो विषयलाई हल्लाको संज्ञा दिएका छन् । 

पौडेलले यस्तो जिकिर गरेको केहि समयपछि प्रधानमन्त्री ओलीले एमालेको आन्तरिक बैठकमा बोल्दै महासचिव शंकर पोखरेल र विष्णु पौडेल दुबै आफ्ना लागि बराबर रहेको भन्दै नेताहरुलाई गुटबन्दी नगर्न चेतावनी नै दिएका छन् । ओलीले चिनियाँ कम्युनिष्ट पार्टीमा सबै नेतृत्वको वरिपरि गोलबन्द भएको उदाहरण दिदै आफ्नाविरुद्ध नलाग्न चेतावनीको शैलीमा नेता कार्यकर्तालाई धम्क्याएका समेत छन् । 

ओलीले यस्तो बताउदै गर्दा एमालेको बैठकमा उनले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नउचाल्न समेत चेतावनी दिएको बताइन्छ । भण्डारीलाई राजनीतिमा ल्याउन चाहे सल्लाह र छलफल गर्न सकिने भन्दै ओलीले दायाँबायाँ नगर्न भनेका हुन् । उसोतः भण्डारीले सरकारी सेवा सुविधा नलिई आफ्नै घरमा बसिरहेकी छन्, भने उनले सक्रिय राजनीतिमा आउन छलफल गरिरहेको बताइन्छ । यसमा एमालेका शीर्ष नेताहरु उनलाई राजनीतिमा आउन लबिङ गरिरहेका छन् । यहि बुझेका ओलीले नेताहरुलाई तलमाथि नगर्न चेतावनी दिएको बताइन्छ ।

अर्थतन्त्रमा संकट

मन्त्री फेरबदल र सरकार नै ढल्ने हल्लाका कारण सेयर बजारको ओरालो यात्रा शुरु भएको छ । सेयर बजारमा गिरावट आउनेक्रम रोकिन सकेको छैन भने अर्थमन्त्री विष्णु पौडेललाई समेत ओलीले हटाउन खोजेको हल्लादेखि सरकार नै ढल्ने भन्ने किसिमका हल्ला चल्दा लगानीकर्ताहरु फेरि ब्याक भइरहेका छन् । यस्तो कारण सेयर बजार ओरालो यात्रामा छ भने सरकारको अस्थिरताको शंकामा राजस्व संकलनदेखि अन्य विषयमा समेत संकटहरु आउन थालेका छन् । तर, मन्त्री हेरफेरको चर्चा र फेरबदलको विषय भने देउवा र ओलीले अन्तिम गृहकार्यको तयारी गरेपनि टुंगो लागिसकेको विषय भने नभएको बताइन्छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update