ललितपुर । सहरी सौन्दर्यता कायम गर्न, अतिक्रमण भएका सार्वजनिक सम्पत्तिको संरक्षण गर्न, स्थानीय समस्याहरु समाधानमा नगर प्रहरीबाट महत्वपूर्ण काम भएको छ । स्थानीय तहको प्रभावकारिता वृद्धिमा नगर प्रहरीको भूमिका महत्वपूर्ण छ । अझ, ललिपुर महानगर प्रहरीबलले गरेका सकारात्मक कामले समग्र नगर प्रहरी बलप्रतिको विश्वास बढिरहेको छ ।
काठमाडौं उपत्यकाभित्रको काठमाडौं महानगरपालिकाको जस्तो चर्चा हुन्छ, ललितपुर महानगरको उतिसारो चर्चा हुँदैन । शहरको सुन्दरतामा ललितपुर महानगरपािलकाले काम अब्बल छ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन पनि महानगरलाई सफा र विपद् जोखिम न्यूनीकरणमा अब्बल राख्ने काम गरिरहेको दाबी गर्छन् ।
ललितपुर महानगरपालिकाले १०६ औं स्थापना दिवस मनाउँदै गर्दा महानगरको अदृष्य कामहरुलाई दृष्यमा देखाउने प्रयास पनि गरेको छ । ललितपुर क्षेत्रको शान्ति, सुव्यवस्था, र समाजको विश्वास कायम गर्न नगर प्रहरी बलको योगदानको दृश्य समावेश गरिएको छ । पाटीपौवाको सरसफाइ, घरघरमा नगर प्रहरी, विपद् व्यवस्थापन, सडकका छेउछाउमा राखिएका सामग्री हटाउने, भूइँमा लत्रिएका र अव्यवस्थित तारलाई व्यवस्थापन गर्ने, जथाभावी पार्किङ गरिएका सवारीसाधन हटाउने र फुटपाथ अतिक्रमण गरी व्यापार गर्न रोक्नेलगायत नगर प्रहरीले गरेका कामलाई सोही दृष्यमा समेटिएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा महानगरपालिकातर्फ देशभरकै अब्बल साबित भएको महानगरपालिका हो ललितपुर । सेवा प्रवाहमा उत्तिकै ध्यान दिने गरेको यो पालिकामा ट्राफिक ब्यवस्थापन भने निकै चुनौतिपूर्ण बनेको छ । त्यसैले दमकल, एम्बुलेन्स, सब–बाहन, प्रहरीको टोलीलगायत समयमा नै पुग्न सकिने अवस्था छैन । यसका लागि महानगरले ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा ल्याएको छ । महानगरमा कुनै घटना घटेमा चार मिनेट भित्र सो क्षेत्रमा सेवा प्रवाह गर्ने गरि महानगरले गृहकार्य गरिरहेको छ ।
‘पाटन सहर सुत्दैन’ भन्ने घोषणा नगरिए पनि त्यसमा काम भैरहेको महानगरपालिकाका मेयर चिरिबाबु महर्जन बताउँछन् । एलएमसी अलर्ट मोबाइल एपले महानगर क्षेत्रभित्र कुनैपनि समस्या, विपत्ति वा गुनासो भएमा एप खोलेर तीन पटकको ट्यापमा आफ्नो सन्देश सिधै नगर प्रहरीको कन्ट्रोल रूमसम्म पठाउने भएकाले नगर प्रहरी बलप्रतिको विश्वास बढ्दो छ ।
सहरी सौन्दर्यता कायम गर्न, अतिक्रमण भएका सार्वजनिक सम्पत्तिको संरक्षण गर्न, स्थानीय समस्याहरु समाधानमा नगर प्रहरीबाट महत्वपूर्ण काम भएको छ । स्थानीय तहको प्रभावकारिता वृद्धिमा नगर प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले नगर प्रहरीबलले गरेका सकारात्मक कामले महानगरबासीमा समग्र नगर प्रहरी बलप्रतिको विश्वास बढेको देखिन्छ ।