कास्की । पोखरा महानगरपालिका वडा ३२ वासीलाई सिंचाई अभावका कारण अन्य खेती गर्न जोडेर उखु खेती गर्नुपर्ने बाध्यता थियो । तर, त्यही बाध्यताले अहिले आर्थिक उपार्जनको बाटो खोलिदिएको छ ।
अहिले उखुको रस पकाएर बनाईने खुदो पोखराकै एउटा ब्राण्ड बनेको छ । पोखरा महानगरपालिकाको सहयोगमा स्थानीय उत्पाद खुदो ब्राण्डिङ भएसँगै कृषिक खुशी छन् ।
कसैलाई केही फलिपाप भयो भने भनिन्छ, खुदो पल्टियो । तर साँच्चीकै खुदो कसरी पल्टिन्छ नयाँ पुस्ताका धेरैलाई थाहै नहुन सक्छ । उखुको रस पकाएर खुदो बनाउने चलन कहिकतै मात्र बाँकी छ ।
कास्की पोखरा महानगरपालिका वडा नम्बर ३२ को मालेपाटन र ढोडबेसी त्यही चलन रहेको एउटा ठाउँ हो । जहाँ अझै पनि खुदो पकाउने चलन हराएको छैन । पोखरा ३२ मालेपाटन र ढोडबेसीमा पुर्खाका पालादेखि नै उखुखेती हुन्थ्यो ।
मालेपाटन र ढोडबेसीका करिब ८० परिवारले २ सय रोपनीमा उखुखेती गर्दै आएका छन् । त्यही उखु पेलेर वर्षेनी खुदो पकाएर बेच्छन् । पुसे पन्ध्र र माघे संक्रान्तिमा खुदो खाने चलन छ ।
अनदी चामलको लट्टे पहिला–पहिला खुदो हालेर गुलियो पारिन्थ्यो । माघे संक्रान्तिमा खुदो हालेर चिउरा खाइन्छ ।
त्यसैले यो मौसम उखु र खुदोको मौसम हो । बिउ रोपेको एक वर्षमा उखुको लाक्रा काट्न ठिक्क हुन्छ । लाक्रा मेसिनमा पेलेर रस निकालिन्छ र रस पकाइन्छ । ‘५ घन्टा उमालेको उमाल्यै गरेपछि खुदो हुन्छ । यहाँका किसानले केही वर्ष पहिलेसम्म कोलमा उखु पेल्थे ।
दाइँमा जस्तै गोरुले कोल घुमाइन्थ्यो । अहिले पोखरा महानगरले डेढ लाख रुपैयाँ सहयोग गरेपछि त्यसमा केही पैसा थपेर स्थानीयले बिजुलीबाट चल्ने कोल किनेका छन् ।
मेसिनले पेलेर निकालेको रस भने दाउराको आगोमा पकाउ छन् । मालेपाटन र ढोडबेसी दुई ठाउँमा गरे करिब २ सय रोपनीमा उखु खेती हुदै आएको छ ।
सिचाईको सुविधा नभयकोले यस क्षेत्रका वासिन्दाले उखु खेती गर्न थालेको र उखु खेतीकै कारण गाँउको नाम नै ढोडवेसी रहन गएको धेरैको बुझाई छ । पहिला पहिला ढोडबेसीका किसानले उखुबाट तयार पारेको खुदो बिक्री गर्न उत्तीकै समस्या थियो तर अहिले गाँउबाटै सबै खुदो बिक्री हुने गरेको छ ।
यो वर्ष गाँउबाटै प्रती लिटर ४०० देखि ४५० का दरले खुदो बिक्री भैरहेको छ । यो क्षेत्रका किसानले प्रती वर्ष कम्तीमा १५ हजार लिटर खुदो तयार गर्छन् ।
तर गाँउका युवाको विदेश मोह र झन्झटीलो काम अनि आम्दानीका अन्य श्रोतका कारण उखु खेतीबाट हात झिक्नेहरु बढ्दै छन् ।
उत्पादन भएको उखु र त्यसबाट बनेको खुदो बिक्री गर्न समस्या छैन, घरगाउँमा एकाध गाँज उखु भए पनि खुदो पकाएर बेच्ने गरी कास्कीका अरु गाउँमा खेती भएको छैन ।
मालेपाटन र ढोडबेसीमात्रै एक्लो गाउँ हो । रोपेपछि वर्षमा ३ पटक गोड्नुपर्ने उखुखेती परम्परा धान्न मात्रै गर्दै आएको किसान बताउँछन् । अहिले पोखरा महानगरपालिकाले पनि खुदोलाई ब्राण्डिङ गरेकाले कृषकहरु हर्षित छन् ।