रुपन्देही । पर्याप्त माटो परीक्षण प्रयोगशाला नहुँदा कस्तो माटोमा कुन अन्नबाली र तरकारी खेती गर्ने भन्नेबारे प्राय कमै किसान थाहा छ ।
कृषि प्रधान मुलुक भएपनि उब्जाउ भूमिको माटो परीक्षणका लागि सरकारले किसानसम्म सहज पहुँच हुने गरी प्रयोगशाला खोल्न सकेको छैन ।
यस्तो अवस्थामा रुपन्देहीका किसानलाई भने भैरहवामा जारी नवौं लुम्बिनी राष्ट्रिय महोत्सवले अवसर सिर्जना गर्यो । महोत्सव आयोजकले निःशुल्क माटो परीक्षणको व्यवस्था मिलाएर किसानलाई आफ्नो माटोबारे जानकारी पाउने अवसर प्रदान गरेका हुन् ।
कस्तो माटोमा कुन खेती गर्ने, मौसम अनुसार कस्ता अन्नबाली लगाउने र आफ्नो माटोको उब्जाउ क्षमता कस्तो छ ? यसबारे किसानलाई सोध्ने हो धेरैलाई जानकारी नै छैन । धेरैले रासायनिक मल प्रयोग गरी परम्परागत खेती गर्दै आएका छन् ।
किसानको पहुँचमा माटो परीक्षण प्रयोगशाला नहुँदा धेरैलाई आफ्नै उब्जाउ भूमिको क्षमताबारे थाहै छैन । यस्तो अवस्थामा सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवामा जारी लुम्बिनी राष्ट्रिय महोत्सवमा भने निःशुल्क माटो परीक्षण गरिएको छ ।
गाउँगाउँबाट आएका किसानले विज्ञसमक्ष आफ्नो खेतीयोग्य जमिनको माटो परीक्षण गराएका छन् । नेपालगञ्जबाट आएको विज्ञसहितको प्राविधिक टोलीले तीन दिनसम्म माटो परीक्षण गरेको हो ।
आफ्नो माटो बोकेर परीक्षणका लागि जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश किसान महोत्सवमा पुगेका थिए । आफैले माटो परीक्षण गराउन खर्चिलो र झण्झटिलो हुने भएकाले निःशुल्क सेवा लिन पाउँदा किसान हर्षित छन् ।
महोत्सवमा माटोको प्रांगारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटास परीक्षण गरिएको थियो । पछिल्ला वर्षहरुमा जथाभावी रासायनिक मलको प्रयोगले माटोको उर्बराशक्तिमा ह्रास आइरहेको छ ।
यसले उत्पादन र उत्पादकत्वको असर गरिरहेको छ । यस्तो बेला उद्योग वाणिज्य संघले माटो परीक्षण गरेर माटो र समय सुहाउँदो खेती गर्न किसानलाई उत्साह थप्ने काम गरेको हो । माटो परीक्षण पछि विज्ञले किसानलाई माटोको अवस्थाबारे बताए। खेती गर्दा कस्तो माटोमा गरेमा उब्जनी र मुनाफा हुन्छ भन्ने बारेमा समेत जानकारी गराएका छन् ।
माटो परीक्षण गर्न भैरहवा तथा यस आसपास रहेका तिलोत्तमा, धकधई, मर्चवार, अमवा, लुम्बिनी, गैडहवा, कंचन, सिद्धार्थ नगर लगायतका कृषक महोत्सव स्थलमा आएका थिए । तीन दिनमा करिब ५ सय किसानले माटो परीक्षण गराए ।
प्राविधिककाअनुसार परीक्षणका क्रममा माटोमा पोटास, फस्पोरस र अम्लीयपन बढी रहेको पाइएको छ । रासायनिक मलको बढी प्रयोग र प्रांगारिक मलको मात्रा निकै कम पाइएकाले मात्रा बढाउन प्राविधिकहरुले किसानलाई सुझाएका छन् ।