काठमाडाैँ । सुदूरपश्चिम रोयल्सले आईतवार पोखरा एभेन्जर्समाथि नाटकीय जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफसँगै पहिलो क्वालिफायरमा स्थान बनाएको छ ।
जितको संघारमा देखिएको पोखराबाट जित निकालेपछि सुदूरपश्चिम एनपिएलको शिर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको हो । पोखराले जितका लागि अन्तिम सात बलमा आठ रन मात्र आवश्यक थियो । प्लेअफ होडबाट बाहिरिसकेको पोखरासँग चार विकेट पनि हातमा हुँदा जित सम्भव देखिन्थ्यो । तर खातामा थप दुई रन जोड्दा चार विकेट नै गुमाउँदै पोखरा नतिजा सुम्पिन पुग्यो । अन्तिम ओभरमा स्कट कुजेलिनले दुई विकेट लिए । एक विकेट रनआउटका रूपमा प्राप्त गरेको थियो । त्यसअघि १९ औं ओभरको खेल रोमाञ्चक र निर्णायक रह्यो ।
आक्रामक ब्याटिङ गरिरहेका रेमन रेइफर्ट ३३ रन र माइकल लिस्क ५ रनमा आउट भए । हरमित सिंहले यी दुवै विकेट लिँदै सुदूरपश्चिमलाई खेलमा फर्काएका हुन् । डेथ ओभरमा पनि उत्कृष्ट बलिङ गरेपछि सुदूरपश्चिमले लक्ष्य जोगाएको हो । जितसँगै सुदूरपश्चिम ६ खेलबाट १० अंक जोड्दै शिर्ष स्थानमा उक्लियो । अब सुदूरपश्चिमले लिगकै अन्तिम खेलमा कर्णाली याक्ससँग खेल्नेछ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा सात विकेट गुमाउँदै १४८ रन मात्र जोड्न सक्यो ।
पोखराका ओपनरद्वय आन्द्रियस गौसले ३६ रन र दिनेश खरेलले १५ रन जोडे । गौसले २१ बलमा चार चौका र दुई छक्का हिर्काउँदै राम्रो शुरुवात दिलाए । तर कप्तान कुशल भुर्तेल शुन्यमा र दिलीप नाथ १ रनमा आउट भए । तर आठौं ओभरमा आन्द्रियस र ११ औं ओभरमा जेन मलिक १० रनमा पेभेलियन फर्किए । यससँगै पोखरामाथि दबाब प¥यो । १० ओभरको खेल सकिँदा ६७/४ को अवस्थामा थियो । तर त्यसपछि ब्याटिङमा आएका रेइफर्ट र किरण ठगुन्नाले इनिङ समाल्दै जित सम्भावना बढाए पनि सफल भएन । यी दुईले छैटौं विकेटका लागि ७० रनको साझेदारी गरे ।
तर १९ औं ओभमार रेमन र २०औं ओभरमा किरण आउट भए । रेमनले २८ बलमा समान दुई चौका र छक्का हिर्काए । किरणले पनि २८ बलमा तीन चौका र एक छक्का प्रहार गरे । सुदूरपश्चिमको बलिङमा स्कटले ३.५ ओभरमा पाँच विकेट लिए । उनले एक मेडन राख्दै १८ रन मात्र दिए । हरमितले तीन र सैब जैबले एक विकेट निकाले । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सात विकेट गुमाएर १५३ रन बनायो ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५३ रन बनाएको थियो । सुदूरपश्चिमका आरिफ शेखले सर्वाधिक ४२ रन बनाए । उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे । आरिफ र दिपेन्द्रले पाँचौं विकेटको लागि ४१ रनको साझेदारी गरेका थिए । यो नै सर्वाधिक ठूलो साझेदारी रह्यो । ब्रान्डन म्याकमुलन २३, कप्तान दीपेन्द्रसिंह ऐरी २०, बिनोद भण्डारी १४, हरमित १३ र ईशान पाण्डे १० रन बनाए । पोखराको बलिङमा कप्तान कुशलले दुई विकेट लिए । रेमन, सागर ढकाल र लिस्कले समान एक विकेट निकाले ।