
काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबार आफ्नो स्थापना दिवस मनाएको छ । ३० औं महानगर दिवसको अवसरमा महानगरले सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरि मनाएको हो ।
यस दिवसमा ७७ वटै जिल्लाका नागरिकका लागि बस्न लायक महानगर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको महानगर प्रमुख बालेन्द्र शाहले बताए । तर, पूर्वाधार विकासलाई महानगरले पहिलो प्राथमिकतामा राखेको भएपनि बढ्दो जनसंख्या, वायु प्रदूषण, असमान शहरीकरण जस्ता चुनौतिहरू काठमाडौं महानगर सामु रहेका छन् ।
मुलुककै पहिलो महानगरपालिका काठमाडौं महानगरले शनिबार आफ्नो ३० औं स्थापना दिवस मनाएको छ । ३० औं महानगर दिवसको अवसरमा महानगरले सांस्कृतिक, ऐतिहासिक र प्रशासनिक पहिचानलाई सम्मान समेत गरेको छ ।
दिवसको अवसरमा महानगरले सांस्कृतिक झाँकी, नगर सफाइ अभियान, र योगदानदाताहरूलाई सम्मान गर्नुका साथै महानगरको वर्तमान चुनौती र भविष्यका सम्भावनाबारे समेल छलफल भएका छन् ।
महानगरपालिकाका प्रमुख एवं दिवस मुल समारोह समितिका संयोजक बालेन्द्र शाह (बालेन)ले महानगरपालिकाको संस्थागत विकास र सुशासनमा योगदान पु¥याउने सबैको योगदान कदर योग्य भएको बताएका छन् ।
संघीय राजधानी सहर भएकोले यस सहरलाई सबैले आफ्नो भन्न सक्ने, बस्न योग्य, व्यवस्थित र सुरक्षित सांस्कृतिक सहर निर्माण गर्न क्षेत्रगत सहयोगको अपेक्षा प्रमुख शाहको छ ।
नागरिकलाई सरकारप्रति भरोसा गर्न जगाउन काठमाडौँ महानगरपालिकाले अहम् भूमिका खेलेको बताउँदै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण काठमाडौँ महानगर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको केन्द्रीय राजधानी तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केन्द्रबिन्दु भएको उल्लेख गरे ।
महानगरले मतदातालाई प्रवाह गरेका सेवा अन्य स्थानीय तहका लागि अनुकरणीय रहेका उल्लेख गर्दै उनले सङ्घीयता कार्यान्वयनमा युवावर्गले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
काठमाडौँलाई वैभवशाली र पहुँचयुक्त सहर बनाउन क्षेत्रगत नीति, योजना र कार्यक्रममार्पmत महानगरपालिकाले काम गरिरहेको महानगरपालिकाले जनाएको छ ।
नागरिकमैत्री, मितव्ययी, प्रभावकारी, नतिजामूलक, सहभागितामूलक र पारदर्शी सेवाका लागि सूचना प्रविधिको अधिकतम र प्रभावकारी प्रयोग गरिएको महानगरको दाबी छ ।
अवसरको केन्द्र काठमाडौं महानगर
अधिकांश वित्तीय, व्यापारिक, र प्रशासनिक गतिविधि केन्द्रित रहेकाले काठमाडौं महानगर देशको प्रमुख आर्थिक केन्द्र हो । बैंकिङ, पर्यटन, र व्यापारका लागि यो महानगर आधारशिला हो जसले देशको कुल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको मुख्यालयहरू, ठूला बजारहरू, र व्यापारिक हबहरू अवस्थित छन् । साथै, पर्यटनले आर्थिक रूपमा यसलाई थप सबल बनाएको छ ।
योसँगै शिक्षा, स्वास्थ्य, व्यापार, र रोजगारीका अवसरहरू प्रशस्त छन् । तर, बढ्दो जनसंख्या, ट्राफिक जाम, वायुप्रदूषण, फोहोर व्यवस्थापनको समस्या, र असमान शहरीकरणजस्ता चुनौतीहरूले काठमाडौं महानगरलाई अवसरको केन्द्र बनाउने दाबीलाई कमजोर बनाउँछन् ।
यस्तोमा महानगरपालिकाले आफ्ना स्रोतसाधनहरूको न्यायसंगत वितरण, दीर्घकालीन योजना, र वातावरणमैत्री विकासलाई प्राथमिकता दिँदै केवल प्रचारात्मक वाक्यांशभन्दा पनि ठोस कार्य योजनामार्फत काठमाडौंलाई वास्तविक अवसरको केन्द्र बनाउन सक्नुपर्छ ।