
काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका क्रममा हरेक पटक ठूला राजनीतिक दलहरु निकट पत्रकार संगठनहरु प्रतिष्पर्धामा उत्रिने गरेका थिए ।
तर यो पटक भने सत्तारुढ प्रमुख दुई दल निकटका पत्रकार संगठनहरु एउटै प्यानल बनाएर प्रतिष्पर्धामा उत्रिएका थिए भने प्रमुख विपक्षी माओवादी निकट प्रेस सेन्टरसहित साना संगठनहरु प्यानल बनेको थियो । तर केन्द्र, प्रदेशदेखि जिल्ला, एशोसियट र प्रतिष्ठान शाखामा मिश्रित परिणाम आएको छ ।
नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन उद्घाटन कार्यक्रम सम्पन्न भएको झण्डै ६ महिनापछि शुक्रबार केन्द्र, प्रदेश, जिल्ला तथा प्रतिष्ठान र एशोसिएटको निर्वाचन सम्पन्न भएको थियो ।
राजनीतिक दलहरुको गठबन्धनकै झल्को दिने गरी भएको पत्रकारहरुको निर्वाचनमा दल निटक पत्रकार संगठनका उम्मेदवारहरु नै निर्वाचित भएका छन् ।
ठूला दल निकट संगठनको प्यानलका कारण पार्टीगत पत्रकार संगठनबाहेका पत्रकारहरु भने पराजित भएका छन् । ठूला दुई संगठनबीचको प्यानल बने पनि परिणाम भने मिश्रित आएको छ । पत्रकार महासंघको पछिल्लो कार्यकालमा भने सदस्यता शुद्धिकरणको वहस चर्को बन्यो ।
महासंघमा प्रभुत्व जमाउने सबै संगठनको प्रतिष्पर्धाका कारण शुद्धिकरण अभियान विवादरहित हुन सकेन ।
त्यहि विवादका कारण निर्वाचन प्रक्रिया नै ६ महिनासम्म अवरुद्ध भएको थियो । महासंघमा विगत लामो समेदेखिको दलीय प्रभावका कारण श्रमजीवी पत्रकारको मुद्धाहरु ओझेलमा पर्दै आएका छन् । तर आगामी दिनमा महासंघको गरिमा बचाउँदै पत्रकारको हितमा लाग्ने पत्रकार नेताहरुको प्रतिवद्धता छ ।
रोचक कुरा त महासंघको नयाँ नेतृत्वको निर्वाचनमा कांग्रेस निकट प्रेस युनियनका नेता एवम् पूर्व महासंघ कार्यबाहक अध्यक्ष रमेश विष्टले निर्मला विरुद्ध बागी उम्मेदवारी दिए ।
उनै विष्टलाई समर्थन गर्दै माओवादी निकट प्रेस सेन्टरका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए । उनै विष्टको नेतृत्वमा सेन्टरसहित अर्को प्यानल घोषणा गरिएको थियो । महासंघ राजनीतिक दलहरुको घेराबन्दीमा रहेको भन्दै केहीले क्रियाशील पत्रकार समूह बनाएका थिए ।
तर क्रियाशील समूहको प्यानल भनिएकाहरु भने नतिजा भने सून्य देखिएको छ । यद्यपि महासंघको अगुवाई गर्न तम्सिएकाहरु भने श्रमजीवी पत्रकारको मुद्दा उठाइरहने बताएका छन् ।
विगतमा पत्रकार महासंघमा जिल्लाबाट केन्द्रिय पार्षद छनोट भई उनीहरुले मात्रै मतदान गर्ने गरिएकोमा अघिल्लो कार्यकालदेखि सबै सदस्यले मतदान गर्ने ब्यवस्था गरिएको थियो ।
पछिल्लो समय पत्रकार महासंघ गैरपत्रकारहरु हावी रहेको तथा दलीय छायाँ पर्ने गरेको महासंघको आलोचना तीब्र बन्दै गइरहेको छ । त्यसैले महासंघलाई साँच्चिकै पत्रकारहरुको छाता संगठन बनाउन जरुरी छ ।