काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दायर गर्ने प्रहरीको तयारी छ ।
रवि विरुद्ध मुद्दा दायरको अन्तिम तयारी भइरहँदा उनी व्यक्ति विशेष टिप्पणी गर्दै सूर्य थापामाथि आक्रोश पोखिरहेका छन् । म्याद थपका लागि अदालत उपस्थित गराउँदा रविले सूर्य थापामाथि आक्रोश पोखेका हुन् । रविले अहिले किन थापाविरुद्ध आक्रोश पोख्न थालेका छन् त ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायरको अन्तिम तयारी भइरहँदा रवि भने एमाले नेता सूर्य थापामाथि आक्रोश पोख्न थालेका छन् ।
सहकारी ठगीबारे अनुसन्धान गर्न एमाले सांसद सूर्य थापा नेतृत्वमा समिति गठन गरिएको थियो । यो समितिमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका सदस्यहरु सहभागी थिए ।
त्यहि समितिले रवि लामिछानेमाथि सहकारीको रकम गोरखा मिडियामा आएको र त्यो अपचलन भएकोमा दोषी करार गर्दै अनुसन्धान गर्नुपर्ने भन्यो । समितिले सहकारी ठगीमा नभई सहकारीबाट गोरखा मिडियामा आएको रकम अपचलनमा रविलाई दोषी करार गरेपनि रास्वपाका नेताहरुले रविले क्लिन चिट पाएको दाबी गरिरहे ।
यसरी सहकारी सम्बन्धि छानविन समितिको रिपोर्टपछि चलेका टिप्पणीमा कांग्रेस भने क्लिन चिट नभएको जिकिर गर्नेमै केन्द्रित थियो ।
कांग्रेस महामन्त्री गगन थापाले त क्लिन चिट भन्नेहरु छट्टु भएको र रविले बाहिरै बसेर सहकारी ठगेको पुष्टी भएको जिकिर नै गरे, भने सभापति शेरबहादुर देउवाले रविले सहकारी ठगेको विषयले आफू अचम्ममा परेको प्रतिक्रिया दिए ।
सहकारी ठगीको विषयमा जसरी विषय उठ्यो त्यसमा रास्वपा पनि सहभागी थियो । तर, पछिल्लो समय रविले संसदीय समितिका सभापति सूर्य थापाविरुद्ध खनिन थालेका छन् ।
रविले कास्कीमा म्याद थपका लागि इजलासमा पु्¥याइएको सूर्यमाथि आक्रोश पोखेका हुन् । रविले इजलासमा वयानका क्रममा सुर्य थापाले मिडियामा बोलेका कुराहरु अनुसार नै आफूमाथि व्यवहार भएको भन्दै आक्रोश पोखे । थापाले सम्पत्ति शुद्धिकरणदेखि विभिन्न मुद्दा आकर्षित हुने भनि गरेको जिकिर अनुसार नै व्यवहार भएको उनको आरोप छ ।
रविले आक्रोशित हुँदै राज्यले गरेको व्यवहारमा अदालत मुकदर्शक बनेको आरोप नै लगाएपछि न्यायाधीशले उनलाई सचेत बनाउदै सामान्य नागरिक सरह अनुसन्धानका लागि म्याद थप भएको र अदालतमा अभियोजनको विषय नै नआएकाले यस्तो भन्न नहुने भनेको बताइएको छ ।
रविले थापालाई आरोप लगाउन थालेपछि थापाले पनि प्रतिक्रिया दिएका छन् । थापाले इजलास समक्ष रविको आक्रोशपछि क्लिन चिटको भ्रम र प्रतिशोधको नाममा कपटपूर्ण नाटकसँगै मेराविरुद्धको हेट क्याम्पिएन र गालीगलौज पाँच जिल्ला पुगेर पोखरा फर्किएपछि अदालतसमक्ष छताछुल्ल पोखिएछ भन्दै क्रोध पोखेका छन् ।
यस्तै उनले प्रतिवेदन सर्वसम्मतिले पारित भएको समेत स्मरण गराएका छन् । एमालेले रवि निर्दोष रहेको दाबी गर्ने गर्थ्यो । जुनबेला रास्वपा एमालेसहित सत्ता सहकार्यमा थियो ।
प्रहरी के गर्दैछ ?
प्रहरीले रवि लामिछानेलाई बिहीबार ५ दिनका लागि म्याद थप गराइसकेको छ । प्रहरीले शुक्रबारदेखि गणना गर्दा पनि अभियोजन लैजाने समय ९ दिनमात्रै छ ।
यसरी हेर्दा अब छिट्टै सरकारी वकिलको कार्यालय हुँदै अदालतमा मुद्दा जानेछ । यस्तोमा प्रहरीले रविविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराधको आरोपसहित अभियोजन गर्ने तयारी गरिरहेको छ भने रविलाई अदालत पेश गरेपछि हुने थुनछेक बहसपछि नै यो विषयमा थप प्रष्ट हुनेछ । यद्यपी सरकारी वकिलको कार्यालयले नै मुद्दा को विरुद्ध चलाउने नचलाउने भन्ने निर्णय भने गर्न सक्छ ।