काठमाडौं । प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेविरुद्ध भ्रम फैलाउने गिरोहको नेतृत्व गरेको आरोप लगाएका छन् । प्रचण्डले ओलीविरुद्ध निरन्तर लान्छना लगाइराख्दा ओलीले पनि सशक्त प्रतिवाद गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भ्रमको खेती गरिरहेको आरोप लगाएका छन् ।
शुक्रवार काठमाडौँमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी देशमा आएसँगै जाली, फटाहा, बेइमानी शुरु भएको र मान्छेहरुलाई दुःख दिने कुप्रचार गर्ने काम शुरु भएको भन्दै गम्भिर आरोप लगाएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नराम्रा कामहरुको नेतृत्व नै माओवादी केन्द्रका अध्यक्ष दाहालले गर्ने गरेकोसम्म भन्न भ्याए । कम्बोडियाको टेलिकममा लगानी भएको भन्दै विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईले लगाएको आरोप पनि प्रचण्डको इशारामै भएको आरोप समेत एमालेले लगाइरहेको छ । सत्ता गुमेपछि माओवादी अध्यक्ष प्रचण्ड बढि नै बेचैन बनेको भन्दै एमाले र आफूबिरुद्ध बढी भ्रम पैदा गर्नमा सक्रिय रहेको समेत प्रधानमन्त्री ओलीको जिकिर छ ।
प्रधानमन्त्री ओलीले यसरी सार्वजनिकरुपमै आरोप लगाउनु दुई दिन अघिमात्रै पनि एमाले केन्द्रीय सचिवालय बैठकमा यस विषयमा छलफल भएको थियो ।
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्ताबाट हटिसकेपछि गलत सूचना फैलाउने सामाजिक सञ्जालका गिरोहसँग नजिक हुन थालेको र पार्टी निकटका सञ्चारकर्मीमार्फत पनि अराजकता मच्चाउन रणनीतिक रुपमै लागेको एमाले केन्द्रीय सचिवालय बैठकमा विश्लेषण भएको थियो ।
प्रचण्डको निशानामा ओली !
यता माओवादी केन्द्रको स्थायी समिति बैठकले दुई तिहाईको सरकार असफलतातर्फ गएको भन्दै सरकारको कामप्रति प्रश्न उठाएको छ । सरकारप्रति जनताको विश्वास घटेको र स्थानीय तहको निर्वाचन परिणामले पनि एमालेले गरेको दुई दलीय आवश्यकताको दाबीलाई खण्डित गरेको जिकिर माओवादी केन्द्रको छ ।
माओवादी र एमालेबीच कडा घोचपेच चलिरहेको छ भने एमालेले ओलीको चीन भ्रमणलाई सफल भनिरहँदा माओवादी केन्द्रले खासै प्रगति नभएको जिकिर गरेको छ । माओवादी र एमालेबीचको विवाद उत्कर्षमा पुग्दै गर्दा शीर्ष तहमा नै एकअर्कामाथि आरोप–प्रत्यारोपको श्रृंखला झनझन बढिरहेको छ ।
दुई दल र नेताहरुबीच उच्चतहमै विवाद र संघर्ष चल्न थालेको छ । यस्तो विवादले राजनीतिक ध्रुबिकरण हुने र द्वन्द्ध बढ्ने खतरा समेत उत्तिकै देखिन्छ । तर, प्रचण्ड र ओलीबीचको विवादले कस्तो रुप लिन्छ भन्ने विषय भने अहिले नै खुलिसकेको छैन ।