News 24 Television
अर्थतन्त्रको ४ महिने समीक्षा, देखियो यस्तो सुधार 

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनाको आर्थिक विवरण सार्वजनिक गरेको छ । मुलुकमा शोधनान्तर स्थिति उल्लेख्य सुधार हुँदै जाँदा दुई खर्ब पाँच अर्ब ८३ करोडले बचतमा पुगेको विवरण राष्ट्र बैंकले गरेको छ । 

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले वृद्धि हो । त्यस्तै अमेरिकी डलरमा पनि सुधार देखिएको छ, यसपटक अघिल्लो वर्षको तुलनामा एक अर्ब ५३ करोड रुपैया बढि बचत भएको छ । त्यसैगरी चालु खाता र पुँजीगत ट्रान्सफरमा सुधार देखिएको छ । चालु खाता एक खर्ब ४३ अर्ब ४२ करोडले बचतमा छ । 

अघिल्लो वर्षको सोही अवधिमा यो ९७ अर्ब १० करोडमा सीमित थियो । त्यस्तै, खुद पुँजीगत ट्रान्सफर दुई अर्ब ४७ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा वढि हो । प्रत्यक्ष वैदेशिक लगानीमा पनि उल्लेख्य सुधार हुँदै पाँच अर्ब ७६ करोड भित्रिएको छ भने निर्यात र आयातको अवस्थामा भने मिश्रित परिणाम देखिएको छ । 

कुल वस्तु निर्यात चार दशमलव दुई प्रतिशतले वृद्धि भई ५२ अर्ब ६७ करोड पुगेको छ । भारततर्फको निर्यात आठ दशमलव चार प्रतिशतले बढे पनि चीन र अन्य मुलुकतर्फ भने क्रमशः १८ दशमलव तीन र तीन प्रतिशतले घटेको छ । 

आयाततर्फ भने कुल आयात शून्य दशमलव दुई प्रतिशतले वृद्धि भई पाँच खर्ब १३ अर्ब ३९ करोड पुगेको छ । भारत र चीनबाट आयात बढेपनि अन्य मुलुकबाट पाँच प्रतिशतले कमी आएको छ । यो चार महिनाको समीक्षामा मुख्य वस्तुहरूसँग व्यापार घाटा घटेको छ । 

वस्तुगत रुपमा सोयाविन तेल र पोलिस्टर यार्न जस्ता वस्तुको निर्यात वृद्धि भएको भने पाम तेल र सुनजस्ता वस्तुको आयात घटेको छ । कुल व्यापार घाटा शून्य दशमलव तीन प्रतिशतले कमी भई चार खर्ब ६० अर्ब ७२ करोडमा झरेको छ । 

निर्यात–आयात अनुपात १० दशमलव तीन प्रतिशतमा सुधारिएको छ । यो चार महिने समीक्षा हेर्दा नेपालको आर्थिक सुधारको संकेत प्रत्यक्ष देखिएको छ । 

शोधनान्तर स्थिति र चालु खातामा उल्लेख्य सुधार हुनु सकारात्मक भए पनि आयात–निर्यातको सन्तुलन कायम गर्न थप प्रयास आवश्यक देखिन्छ । 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update