News 24 Television
गण्डकीमा चल्यो क्षयरोगी खोजपडताल, रुपा गाउँपालिकाबाट शुरु

काठमाडौं । गण्डकी प्रदेशका विभिन्न जिल्लामा क्षयरोगका विरामको खोजी कार्यक्रम सुरु गरिएको छ । क्षयरोग उपचार केन्द्र पोखराले बागलुङ, तनहुँ, नवलपुर, स्याङजा पछि कास्की विभिन्न ठाउँमा खोजपडताल सुरु गरेको हो । क्षयरोग उपचार केन्द्र पोखराबाट ल्याब टेक्निसियन सहितको टोली खोजपडताल टोल टोलमा गएको छ । 

टोलटोलमा जाने क्रममा कास्कीको रुपा गाउँपालिकाबाट क्षयरोगीको खोजी थालिएको छ । केही ब्यक्तीमा क्षयारोगको आशंका पछि खकारको परिक्षणका लागि नमुना संकलन गरिएको केन्द्रले जनाएको छ । खकारबाट जाच्ने विधि प्रभावकारी नभएको निश्कर्ष निकाल्दै एक्सरे गर्ने नयाँ प्रविधि सहित टोलटोलमा टोली पुगेको हो ।  

क्षयरोग निवारणका लागि पालिकाले २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको रुपा गाउँपालिकाले जनाएको छ । रुपामा क्षयरोगको परिक्षण सुरु भइसकेको र रुपा गाउँपालिकाका सबै ठाउँमा परीक्षणका लागि टोली पुग्ने रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा बताउँछन् । 

विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदन अनुसार नेपालमा ६९ हजार क्षयरोग विरामी छन् जसमध्ये ४० हजारको पहिचान भएको छ भने ३० हजार बढी सम्पर्क बाहिर छन् । यो भन्दा अघि खकारबाट डिएनए विधिबाट क्षयरोग परिक्षण हुने गरेकोमा अहिले एआई प्रविधिसहितको एक्सरेबाट परिक्षण हुन्छ । 

यसलाई अवसरवादी किटाणुसमेत भन्ने गरिने फिजिसियनहरूले बताउँदै आएका छन् । यो प्रविधि सात वटै प्रदेशमा भएपनि गण्डकी प्रदेशले मात्रै यसको प्रयोग गरिएको फिजिसियन डा. बिजय शर्मा बताउँछन् । 

गण्डकीका ४६ वटा स्थानिय तहले आफ्नो पालिकामा परिक्षणका लागि तयारी गरिसकेको क्षयरोग उपचार केन्द्रले जनाएको छ । थप पालिकामा पनि क्रमश परिक्षण गरिने छ । गण्डकीका पालिकामध्ये देवचुलीमा ११०९, बारपाकमा ५४५, तनहुँ ३२३, गलकोटमा ७०९, वालिङमा ७ सय बढी र हुप्सेकोटमा पाँच सय बढीको परीक्षण गरिएको छ । जसमध्ये ९१ जनामा क्षयरोगको पुष्टि भएको केन्द्रले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update